M’Cheyne Bible Reading Plan
शिमशोनको जन्म
13 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस बर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।
2 सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्। 3 परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ। 4 कुनै दाखरस वा अरू कुनै कडा पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्ध छ। 5 किनभने तिमी गर्भवती छौ र तिमीले छोरा जन्माउनेछ्यौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। ऊ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
6 त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन। 7 तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ र एउटा छोरा जन्माउनेछ्यौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।’”
8 तब मानोहले परमप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौं कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”
9 मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्। 10 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुरिन्, “त्यो मानिस फेरि आयो! जो यहाँ अघिल्लो दिन म कहाँ आएको थियो।”
11 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?”
स्वर्गदूतले भने, “म नै हुँ।”
12 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस् केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ? उसले के गर्नुपर्छ?”
13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ। 14 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कडा पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”
15 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”
16 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)
17 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”
18 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”
19 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ। 20 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरि रहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठ्दै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।
जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए। 21 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन। 22 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”
23 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”
24 यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो। 25 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।
थिस्सलोनिकामा पावल र सिलास
17 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो। 2 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे। 3 पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।” 4 कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससँग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससँग सामेल भए।
5 तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिंड्थे भाड़ामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैला-बैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे। 6 तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खड़ा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे! 7 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”
8 शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए। 9 तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।
पावल र सिलास बिरिया तिर जान्छन्
10 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए। 11 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। 12 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।
13 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे। 14 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। 15 विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”
एथेन्समा पावल
16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। 17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे। 18 त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो।
तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”
19 तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ? 20 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।” 21 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।
22 त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु। 23 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!
24 “उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न! 25 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। 26 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।
27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। 28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’
29 “हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न। 30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। 31 परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”
32 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौं।” 33 पावल तिनीहरूबाट गए। 34 तर कतिपय मानिसहरूले पावलसँग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।
मन्दिरमा यर्मियाको पाठ
26 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। 2 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड। 3 यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु। 4 तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू। 5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ। 6 तब म यो मन्दिरलाई शिलोह[a] जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’”
7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। 8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ। 9 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए। 11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
12 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो। 13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ। 14 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर। 15 तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ, जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
16 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
17 तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने। 18 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने, ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
सियोन ध्वंस हुने छ।
यो जोतेको खेतझैं हुनेछ।
यरूशलेम ढुङ्गाको थाक हुनेछ।
परमप्रभुको मन्दिर भएको डाँडा जगंल,
र बनमाराहरूको रित्तो डाँडा[b] बनिनेछ।’
19 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।”
20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे। 21 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए। 22 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो। 23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाड्ने चिहानमा फ्याँकिदिए।
24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
परमेश्वरले आफ्नो पुत्र पठाउँनु भयो
(मत्ती 21:33-46; लूका 20:9-19)
12 येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
2 “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। 3 तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। 4 फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्। 5 फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।
6 “अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।
7 “तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। 8 तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।
9 “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। 10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला:
‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै,
कुनाको ढुङ्गा बनेको छ।
11 परमप्रभुले नै यस्तो गर्नु भएको हो,
अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’”(A)
12 ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।
यहूदी प्रमुखहरूद्वारा येशूलाई छक्क्याउने चेष्टा
(मत्ती 22:15-22; लूका 20:20-26)
13 त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे। 14 फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”
15 तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” 16 तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”
17 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
केही सदुकीहरूद्वारा येशूलाई छक्याउने चेष्टा
(मत्ती 22:23-33; लूका 20:27-40)
18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। 19 तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाइले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ। 20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन। 21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। 22 सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। 23 तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?”
24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। 25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। 26 मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’(B) 27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
कुन आज्ञा सबभन्दा महान हो?
(मत्ती 22:34-40; लूका 10:25-28)
28 शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?”
29 येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। 30 तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’(C) 31 दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(D) यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”
32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यू, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्। 33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
34 येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।
के ख्रीष्टनै दाऊदको पुत्र हुन्?
(मत्ती 22:41-46; लूका 20:41-44)
35 येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्? 36 पवित्र आत्मामा दाऊद आफैंले भन्नुभएको छ,
‘परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः
मेरो छेउमा दाहिनेपट्टि बस,
अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।’(E)
37 दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भन्नु हुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?” धेरै मानिसहरूले येशूले भनेको कुरा खूबै आनन्दित भएर सुने।
येशूद्वारा शास्त्रीहरूको आलोचना
(मत्ती 23:6-7; लूका 11:43; 20:45-47)
38 येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिँड्न मन पराउँछन्। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्। 39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्। 40 तिमीहरू विधवाहरूसँग कप्ट्याइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैंले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”
विधवाद्वारा भेटी चढाएको अर्थ बुझाउने चेष्टा
(लूका 21:1-4)
41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। 42 तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। 44 ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”
© 2004, 2010 Bible League International