Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 11:12-40

अम्मोनका राजालाई यिप्तहको सन्देश

12 यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडाईँ गर्न आएका छौ?”

13 अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

14 यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए। 15 तिनीहरूले यो सन्देश लगेः

“यिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन। 16 जब इस्राएलका मानिसहरू मिश्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरुभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए। 17 इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।’ तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।

18 “त्यसपछि इस्राएलका मानिसहरू मरुभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

19 “त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।’ 20 तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे। 21 तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो। 22 यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोक सम्म अनि मरुभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो।

23 “उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाड्न लाउन सक्छु भनी तिमी ठान्छौ? 24 निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ। 25 के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे? 26 इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 बर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ? 27 इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँच्चो न्यायकर्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।”

28 अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे।

यिप्तहको भाकल

29 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

30 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने, 31 म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”

32 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो। 33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

34 यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्। 35 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिनँ!”

36 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”

37 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”

38 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।

39 दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो। 40 हरेक बर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।

प्रेरित 15

यरूशलेममा सभा

15 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।” पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहश गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।

उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने। यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”

तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले। यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे। परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ। परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो। 10 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं! 11 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

12 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए। 13 तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। 14 शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो। 15 अगमवक्ताहरूको वचनहरू यो सँग सहमत छः

16 ‘त्यसपछि म फर्की आउँने छु।
    म दाऊदको घर फेरि बनाउने छु,
    जुन ढलेको छ।
उसको घरको भागहरू फेरि बनाईदिने छु।
    जुन ध्वंश भएको छ,
    अनि म उसको घर नयाँ बनाउनेछु।
17 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-
    यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्।
प्रभुले त्यसै भन्नु भयो।
    अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’(A)

18 ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’

19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्। 20 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः

मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ।

कुनै व्यभिचार नगर्।

रगत नखाऊ।

निमोठेर मारिएका पशुहरू नखाऊ।

21 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

गैर-यहूदी विश्वासीहरूलाई चिट्ठी

22 तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यू-भाइहरूले खुबै सम्मान गर्थे। 23 मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।

एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका

गैर-यहूदी दाज्यू-भाइहरूलाई तिमीहरूका दाज्यू-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः

प्रिय दाज्यू-भाइहरू,

24 हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं! 25 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्। 26 तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्। 27 त्यसैले हामीले उनीहरूसँग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्। 28 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः

29 मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ।

रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु,

कुनै प्रकारको यौन पापहरू नगर्नु।

यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ।

अब हामी बिदा माग्छौं।

30 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए। 31 विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए। 32 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे। 33 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यू-भाइहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के। 34 [a]

35 तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।

पावल र बर्णाबास छुट्टिए

36 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

37 बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे। 38 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसँग एक साथ नलिन जोड गरे। 39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।

40 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए। 41 मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

यर्मिया 24

असल र खराब नेभाराहरू

24 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।) एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।

परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्दै छौ यर्मिया?”

मैले जवाफ दिएँ, “डालोमा म नेभाराहरू देख्दै छु। एउटा डालोमा नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा एकदमै नराम्रा नेभाराहरू छन् जो खान लायक छैनन्।”

तब परमप्रभुको यो सन्देश मकहाँ आयो परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्। म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्। म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।

“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्। म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु। 10 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”

मर्कूस 10

येशूद्वारा विवाहविच्छेद बारे शिक्षा

(मत्ती 19:1-12)

10 त्यसपछि येशूले त्यो ठाऊँ छाड्नुभयो। उहाँ यहूदियाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।

केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?”

येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”

फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”

येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ। तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। अनि तब ती दुइजना एक हुन्छन्। यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।”

10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। 11 उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। 12 त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”

येशूद्वार बालकहरूलाई ग्रहण

(मत्ती 16:13-15; लूका 18:15-17)

13 मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे। 14 त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्। 15 म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।” 16 त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।

एकजना धनी मानिस येशूलाई पछ्याउन नचाहेको

(मत्ती 19:16-30; लूका 18:18-30)

17 येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”

18 येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ। 19 यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’”

20 त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”

21 येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”

22 जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।

23 त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।”

24 अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ। 25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”

26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”

27 येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”

28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”

29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ 30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ। 31 अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”

येशू आफ्नो मृत्युबारे फेरि चर्चा गर्नुहुन्छ

(मत्ती 20:17-19; लूका 18:31-34)

32 येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? 33 येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्। 34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”

याकूब र यूहन्ना आफ्नो निम्ति अनुरोध गर्छन्

(मत्ती 20:20-28)

35 त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”

36 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”

37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”

38 येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”

39 छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।”

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ। 40 तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”

41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए। 42 येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्। 43 तर तिमीहरूसँग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ। 44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। 45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”

येशूद्वारा अन्धो मानिस निको

(मत्ती 20:29-34; लूका 18:35-43)

46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। 47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।”

49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”

अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” 50 त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।

51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”

त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International