M’Cheyne Bible Reading Plan
न्यायकर्ता तोला
10 अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। 2 तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।
न्यायकर्ता याईर
3 तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। 4 याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। 5 याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।
अम्मोनीहरू इस्राएल विरूद्ध युद्धगर्छन्
6 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।
7 यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। 8 त्यसै बर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार बर्षसम्म दुःख भोगे। 9 अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
10 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसँग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”
11 परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ। 12 जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ। 13 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु। 14 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”
15 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।” 16 तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
यिप्तह प्रमुखको रूपमा चुनिए
17 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो। 18 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”
11 यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए। 2 गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तहलाई उसको निवास शहर छोड्न वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैंले हाम्रा पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्की स्त्रीको छोरो होस्।” 3 यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुशरण गर्न थाले।
4 केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे। 5 अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।
6 बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।”
7 तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”
8 गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”
9 तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”
10 गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।”
11 यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।
पावल र बर्णाबास आइकोनियममा
14 पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे। 2 तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।
3 तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो। 4 कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।
5 कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे। 6 जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए। 7 तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।
पावल लिस्त्रा र डर्बीमा
8 लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। 9 उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। 10 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो।
11 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” 12 मानिसहरूले बर्णाबासलाई “जिउस”[a] र पावललाई “हर्मेस”[b] भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। 13 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।
14 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते।[c] मानिसहरू तिर दौडे अनि चिच्याएः 15 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
16 “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो 17 तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”
18 पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो।
19 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। 20 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।
एन्टिओक तिर फर्काई
21 पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। 22 ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” 23 तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
24 पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए। 25 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए। 26 अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।
27 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!” 28 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।
23 “त्यो भेंडा़ गोठालाहरूलाई धिक्कार जसले मेरा भेंडा़हरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।
2 ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाईदियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। 3 “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ। 4 म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।
धार्मिक “हाँगा”
5 यो सन्देश परमप्रभुबाट आएको हो;
“हेर अब त्यो समय आइरहेछ,
कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु।
उसको ज्ञानले शासन चलाउनेछ,
र धर्म र न्याय गर्नेछ।
6 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ,
अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ।
उहाँको नाउँ यो हुनेछ,
‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’।
7 “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ, जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’ 8 तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन् जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”
झूटा अगमवक्ताहरूका विरूद्ध न्याय
9 अगमवक्ताहरूलाई सन्देश
अन्तस्करणमा मेरो हृदय भाँचेको छ।
मेरो सबै हड्डीहरू कामिरहेकाछन्।
यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो।
म मतवाला मानिस जस्तै भएकोछु।
10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ
जो व्यभिचारीहरू छन्।
यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो।
अनि खर्क मरुभूमिमा परिणत भएकोछ।
अगमवक्ताहरू दुष्ट छन्।
ती अगमवक्ताहरूले आफ्ना प्रभाव
र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।
11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्।
तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु।
यो सन्देश परमप्रभुबाट आएको हो।
12 यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु।
तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ
अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्।
म ती पूजाहारीहरू
र अगमवक्ताहरूमाथि
विपद ल्याइ सजाय दिनेछु।”
यो परमप्रभुबाट आएको सन्देश हो।
13 “मैले सामरियामा अगमवक्ताहरूलाई
अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु।
बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।
14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु।
तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्।
तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्।
त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्।
तिनीहरू सदोमका मानिसहरू जस्ता छन्।
अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”
15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ
“म ती अगमवक्ताहरूलाई तितो भोजन खाने
र विष हालेको पानी पिउने बनाउनेछु
किनभने यरूशलेमका अगमवक्ताहरू देखि
सम्पूर्ण देश नै दूषित पार्दैछन्।”
16 सेनाहरूका परमप्रभु भन्नुहुन्छ
“ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ
ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्।
ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन्
ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्।
तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।
17 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्।
अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई
बेग्ला बेग्लै सन्देश दिन्छन्।
तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्,
परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’
तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्,
‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन।
ती मध्ये कसैले पनि परमप्रभुको संदेश
न देखेको छन्, सुनेको नै छ।
19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ।
परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ।
यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल
परमप्रभुको रीस थामिने छैन।
आउने दिनहरूमा
तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ।
21 मैले ती अगमवक्ताहरूलाई पठाएको होइन।
तर तिनीहरू भागेर गए।
तिनीहरूसँग बोलेको छैन।
तर तिनीहरूले अगमवाणी दिए।
22 तर यदि तिनीहरू मेरो महासभामा बसेका भए,
तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए।
तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू
गर्न देखि रोक्न सक्थे।”
23 “म परमेश्वर हुँ, जो नजिक छु,”
परमप्रभु भन्नुहुन्छ,
“म त्यो परमेश्वर होइन जो टाढोमा छ।
24 मैले देख्न सक्तिन भन्ने विचारमा
एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला।
तर यो मूर्खता हो।
के म स्वर्ग र पृथ्वी भर्दिनँ र?”
परमप्रभुले यसो भन्नुभयो: 25 “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें। 26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? 27 ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे। 28 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन। 29 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”
30 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्। 31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउँछन् र मेरोबाट आएको सन्देश भनेर बाहना गर्दछन्। 32 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाएँ न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।
परमेश्वरबाट उदास सन्देश
33 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के-के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गह्रौं बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।’ यो परमप्रभुको सन्देश हो।
34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’ 35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? 36 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।’
37 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’ 38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें। 39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु। 40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।’”
9 त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँच्चो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्।”
येशू मोशा र एलियासँग
(मत्ती 17:1-13; लूका 9:28-36)
2 छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। 3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। 4 जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” 6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।
7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
8 अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
9 येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”
10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। 11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् 13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”
येशूद्वारा रोगी केटो निको भयो
(मत्ती 17:14-20; लूका 9:37-43a)
14 त्यसपछि येशू, पत्रुस, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसँग शास्त्रीहरूको बहस चलिरहेको थियो। 15 जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।
16 येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसँग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”
17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ। 18 त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूईँमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाह्र किट्छ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
19 येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसँग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
20 त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लड्यो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फीँजहरू निकालिरहेको थियो।
21 येशूले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”
बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै। 22 दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।”
23 येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।”
25 येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”
26 त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा पछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।” 27 तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मद्दत गर्नुभयो।
28 त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसँग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”
29 येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”
येशूले आफ्नो मृत्यु बारे भन्नुभयो
(मत्ती 17:22-23; लूका 9:43b-45)
30 त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोड्नुभयो तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए। 31 येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।” 32 तर चेलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।
येशू भन्दछन् को महान हो
(मत्ती 18:1-5; लूका 9:46-48)
33 येशू र उहाँका चेलाहरू कफर्नहुम जानुभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?” 34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सबभन्दा महान् को होला भन्ने कुराको चर्चा भएको थियो।
35 येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”
36 त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो, 37 “यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
जो तिमीहरूको विरुद्धमा छैन, त्यो तिमीहरूपट्टी छ
(लूका 9:49-50)
38 यसकारण यूहन्नाले भने “गुरूज्यू, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन। 40 यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ। 41 म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
पापको बारेमा येशूको चेतावनी
(मत्ती 18:6-9; लूका 17:1-2)
42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्। 43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ। 44 [a] 45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अङ्ग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो। 46 [b] 47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुइवटै आँखासँग नरकमा फ्याँकिनु भन्दा उत्तम हो। 48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।
49 “तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।
50 “नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका-अर्कामा शान्ति कायम राख।”
© 2004, 2010 Bible League International