M’Cheyne Bible Reading Plan
7 बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।
2 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। 3 यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’”
त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे।
4 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”
5 यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।”
6 तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। 7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
8 यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।
मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए। 9 राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। 10 यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा। 11 मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।”
यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। 12 मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसँग ऊँटहरू पनि थिए।
13 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”
14 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”
15 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।” 16 तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। 17 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। 18 तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’”
19 यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडो फुटाए। 20 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”
21 गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यहीं छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे। 22 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।
23 तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। 24 गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्रमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।”
यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे। 25 एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्रे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।
पत्रुस यरूशलेम फर्कन्छन्
11 यहूदियामा प्रेरितहरू र दाज्यू-भाइहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए। 2 तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे। 3 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!”
4 पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। 5 उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो। 6 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। 7 तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’
8 “तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’
9 “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’
10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। 11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए। 12 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गयौं। 13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर। 14 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’
15 “जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो। 16 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’ 17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”
18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
एन्टिओक तर्फ सुसमाचार
19 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने। 20 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने। 21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे।
22 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। 23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए।
25 त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए। 26 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।
27 यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। 28 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। 29 चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। 30 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।
यर्मिया र पशूहरू
20 पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने। 2 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो। 3 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, ‘डरले घेरिएको।’ 4 यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ, ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्। 5 शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्। 6 तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।’”
यर्मियाको पाँचौ गुनासो
7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे।
तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो।
मानिसहरू मलाई देखेर हाँस्छन्।
अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्।
8 जब जब म बोल्छु, चिच्याउँछु,
म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु।
म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो।
तर मानिसहरूले सधैँ मसित खिसी गर्छन् र मेरो हाँसो उडाउँछन्।
9 कहिले काँही म स्वयंलाई भन्छु,
“म परमप्रभु विषयमा सबै भुल्नेछु
अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।”
तर जब म त्यसो भन्छु,
परमप्रभुको वचनहरू मेरो हड्डीभित्र
आगो जलिरहे झैं म भित्र बल्छ।
यसले मलाई थकाउँछ अनि म सहन सक्तिनँ।
10 म मेरो विषयमा मानिसहरू
जहीं-तहीं कानेखुशी गरेको सुन्छु,
तिनीहरू भन्छन्,
“चारैतिर आतंक छ!
यो घोषणा गरौं।
मेरा साथीहरू पनि मलाई
भ्रममा पार्न पर्खिरहेका छन्।
यी मानिसहरू भन्छन्
सायद उसलाई छक्काउनु
अनि हामी जित्न सक्छौ।
तब ऊ माथि हामी बद्ला लिनेछौं।”
11 तर परमप्रभु मसँग
बलियो सिपाही जस्तो हुनुहुन्छ।
यसकारण मानिसहरू,
जो मेरो पछि लागेकाछन्,
तिनीहरू लट्पटिनेछन्,
अनि मलाई जित्नु सक्ने छैनन्।
तिनीहरू हारको सम्मुख हुनु पर्नेछ,
लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।
12 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ,
अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ।
मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु।
तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।
13 परमप्रभुको स्तुति गाऊ।
परमप्रभुको प्रशंसा गर।
किनभने परमप्रभुले गरीब मानिसहरूलाई
दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
यर्मियाको छैटौ गुनासो
14 म जन्मेको दिन श्रापित होस्।
त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
15 त्यो मानिस श्रापित होस्
जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो
उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।”
उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो
जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
16 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्।
ती शहरहरूमाथि परमप्रभुको दया छैन।
त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्,
अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
17 किनभने जब म आमाको गर्भमा थिएँ,
त्यस मानिसले मलाई मारेन।
यदि त्यसले मलाई त्यस बेला मारेको भए,
मेरो चिहान मेरी आमाहुनै हुने थिइन्।
अनि म संसारमा जन्मनु पर्ने थिएन।
18 यी सब शोकहरू र सङ्कटहरू भोग्न,
अनि लज्जित भएर दिन बिताउन,
मेरी आमाको गर्भबाट म किन जन्मे?
येशू आफ्नो शहरमा जानुहुन्छ
(मत्ती 13:53-58; लूका 4:16-30)
6 येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। 2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? 3 के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” 5 येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। 6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।
येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ
(मत्ती 10:1,5-15; लूका 9:1-6)
7 येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। 8 येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। 9 जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। 10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। 11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” 13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
हेरोदेले येशूलाई बप्तिस्मा दिने यूहन्ना नै ठान्दछन्
(मत्ती 14:1-12; लूका 9:7-9)
14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”
16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”
बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
17 हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। 18 यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” 19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। 20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। 22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी।
अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” 23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?”
उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।”
25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। 27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। 28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। 29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
येशूद्वारा पाँचहजार भन्दा अधिकलाई भोजन
(मत्ती 14:13-21; लूका 9:10-17; यूहन्ना 6:1-14)
30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। 31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। 33 तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। 34 जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो। 36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”
चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”
चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।” 40 अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
41 उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
42 सबैले अघाउन्जेल खाए। 43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे। 44 त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
येशू पानीमाथि हिँड्नुभएको
(मत्ती 14:22-33; यूहन्ना 6:16-21)
45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो। 46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो। 48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिँड्नु भयो। उहाँले लगातार हिँडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो। 49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। 50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” 51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। 52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
येशूले धेरै मानिसहरूलाई निको पार्नुभयो
(मत्ती 14:34-36)
53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। 54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। 55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। 56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
© 2004, 2010 Bible League International