Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 3

1-2 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे। इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।

पहिलो न्यायकर्ता, ओत्निएल

इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। 10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। 11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो।

न्यायकर्ता एहूद

12 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। 13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। 14 मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार बर्षसम्म शासन गरे।

15 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए। 16 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।

17 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। 18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए। 19 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।”

राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए। 20 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए।

तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए। 21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। 22 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बींड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।

23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए। 24 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” 25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा लडेर मरिरहेका देखे।

26 सेवकहरूले राजालाई पर्खंदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए। 27 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे। 28 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुशरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”

यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुशरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। 29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। 30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 बर्षसम्म शान्ति भईरह्यो।

न्यायकर्ता शमगर

31 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको प्रयोग गरे।

प्रेरित 7

स्तिफनसको भाषण

प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?” स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’

“यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ। तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।

“परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुव्यवाहर गरेर राख्नेछन्। तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’

“परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।

“त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। 10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। 11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।

12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। 13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। 14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। 15 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। 16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।

17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। 18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। 19 ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।

20 “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले। 21 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्। 22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

23 “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। 24 मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो। 25 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।

26 “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’ 27 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? 28 जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?’(A) 29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

30 “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। 31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। 32 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’(B) मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।

33 “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। 34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’(C)

35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। 36 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे।

37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ 38 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।

39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। 40 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’(D) 41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। 42 तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः

‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं;
43 तिमीहरूले तिनीहरूसित मोलेकको पाल
    अनि तिम्रो देवता रिफमका तारा ल्यायौ।
तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ।
ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो।
    यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’(E)

44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। 45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। 46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। 47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।

48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:

49 ‘परमप्रभु भन्नुहुन्छ,
स्वर्ग मेरो सिंहासन हो।
    पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्।
कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?
    मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”(F)

51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। 52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। 53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”

स्तिफनस मारियो

54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। 55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। 56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

57 तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। 58 तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। 59 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” 60 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

यर्मिया 16

महा-बिपद्को दिन

16 परमप्रभुको यो सन्देश मकहाँ आयो: “यर्मिया, यहाँ तिमीले विवाह गर्नु हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”

परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो, “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”

यसर्थ परमप्रभु भन्नुहुन्छ, “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशीर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।

“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्। शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।

“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

10 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौं? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’ 11 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुशरण गरी तिनीहरूको सेवा गरे अनि आरधना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे। 12 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ। 13 यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’

14 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो। 15 मानिसहरूले शपथ ग्रहण गर्नेछन्, “परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।” मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।

16 परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्। 17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउँन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउँन सक्तैनन्। 18 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुनःक्षतिपूर्ति गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”

19 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ।
    तपाईं सङ्कटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ।
सारा पृथ्वीका कुना-कुनाबाट जातिहरू तपाईंकहाँ आउँछन्।
    तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए।
तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे,
    जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।
20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ?
    अँहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।”

21 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्।
    तिनीहरूलाई अघिबाटै म मेरो शक्ति
र बल विषयमा बताउनेछु।
    तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”

मर्कूस 2

येशूले पक्षाघातको रोगी लाई निको पार्नु भयो

(मत्ती 9:1-8; लूका 5:17-26)

केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”

केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे: “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।”

येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ 9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्‌यौना बोक अनि घर जाऊ।”

12 त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।”

लेवी (मत्ती) येशूलाई पछ्याउँछन्

(मत्ती 9:9-13; लूका 5:27-32)

13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो। 14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयासको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म सँग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।

15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए। 16 केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू सँग खाना खानु भएको हो?”

17 येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धर्मिहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।”

येशू अरू धार्मिक प्रमुखहरू भन्दा फरक

(मत्ती 9:14-17; लूका 5:33-39)

18 यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”

19 येशूले जवाफ दिनुभयो, “जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन। 20 तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास बस्छन्।

21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ। 22 त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।”

कोही यहूदीहरूद्वारा येशूको निन्दा

(मत्ती 12:1-8; लूका 6:1-5)

23 विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसँगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिँडदै गर्दा अन्नका बालाहरू टिप्न लागे। 24 फरिसीहरूले यो देखेर येशूलाई भने, “तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।”

25 येशूले भन्नुभयो, “तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे 26 यस्तो घट्ना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।”

27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन। 28 यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International