M’Cheyne Bible Reading Plan
यहोशू बिदाइ जनाउँछन्
24 यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।
2 यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। 3 तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ। 4 अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।
5 “‘तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ। 6 यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए। 7 यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ।
“‘त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्यौ। 8 तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिएँ। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।
9 “‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए। 10 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बचाएँ अनि विपत्तबाट निकालें।
11 “‘त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ। 12 जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिनीहरूको अघि बिच्छ्यूँहरूलाई पठाईदिएँ। ती बिच्छ्यूँहरूले दुइजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।
13 “‘मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।’”
14 तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।
15 “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
16 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। 17 हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो। 18 परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौं, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”
19 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन। 20 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”
21 तब मानिसहरूले यहोशूलाई भने, “अँहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”
22 तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?”
मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।”
23 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”
24 तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”
25 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुशरण गर्नु पर्ने नियम बन्यो। 26 यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।
27 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”
28 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।
यहोशूको मृत्यु
29 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 बर्ष उमेरका थिए। 30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।
31 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।
यूसुफ घर आउँछन्
32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो। 33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।
यहूदी सभा समक्ष पत्रुस र यूहन्ना
4 जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। 2 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। 3 यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। 4 तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
5 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। 6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। 7 तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः 9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? 10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। 11 येशू हुनुहुन्छ
‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ,
तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’(A)
12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। 14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।
15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। 16 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। 17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”
18 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। 19 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। 20 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”
21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।
पत्रुस र यूहन्ना विश्वासीहरूकहाँ फर्किए
23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। 24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। 25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः
‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्?
यी सबै आशाहिन छन्।
26 ‘पृथ्वीका राजाहरू र शासकहरू,
परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’(B)
27 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। 28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। 29 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। 30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
विश्वासीहरूको अंश
32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। 33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। 34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए। 35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।
36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए। 37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।
पटुकाको संकेत
13 परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो: “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
2 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे। 3 त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो। 4 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”
5 यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए। 6 धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिएँ।”
7 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।
8 त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो। 9 परमप्रभुले यसो भन्नुभयो, “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व नष्ट पार्नेछु। 10 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरू हठ्ठी छन्। तिनीहरू अन्य देवताहरूको अनुशरण गर्छन् र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्। 11 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिंच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”
यहूदालाई चेताउनी
12 “तिनीहरूलाई यो सन्देश भन: ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ 13 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जँड्याह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबै मानिसहरूका बारेमा भनिरहेको छु। 14 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्’ परमप्रभु भन्नुहुन्छ ‘तिनीहरूका निम्ति म दु:खी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई नष्ट पार्नु म रोकिने छैन्।’”
15 सुन र ध्यान देऊ।
परमप्रभु तिमीहरूसित बोल्नु भयो।
अहंकारी नहोऊ।
16 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर।
उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ।
तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर,
यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ।
तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ।
उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।
17 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने।
म लुक्छु अनि रून्छु।
तिम्रो गर्वले मलाई रूने बनाउँछ।
म धेरै जोडले रूनेछु।
मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ?
किनभने परमेश्वरको भेंडाको बथान[a] पक्राऊ पर्नेछ।
18 यी कुराहरू राजा र राज-मातालाई भन,
“राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट,
तिमीहरूको शिरबाट खसेको छ।”
19 नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्,
अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्।
यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो।
तिनीहरूलाई कैदी जस्तै लगियो।
20 हे यरूशलेम हेर!
शत्रुहरू उत्तरबाट आइरहेकाछन्।
परमप्रभुले दिनुभएको सुन्दर बथान,
तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्?
21 यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए
तिमी के भन्नेछौ?
तिमीहरूले सिकाउनु पर्थ्यो।
तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने।
के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?
22 यदि तिमीहरू स्वयंलाई सोधे,
“किन मलाई यस्तो नराम्रो कुराहरू भयो?”
ती कुराहरू
तिमीहरूकै पापको कारणले,
तिम्रो पोशाकहरू च्यातियो
अनि तिमीहरू अपमानित भयौ।
23 जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन
त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन।
यसर्थ तिमी दुष्टकर्मीहरू
कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।
24 “मरुभूमिको हावाले बालुवा उढाए झैं
म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।
25 मेरो योजनाभित्र गाभिएको
यो तिम्रो भाग्य हो।”
“यस्तो संयोग किन घट्यो?
किनभने तिमीहरूले मलाई त्याग्यौ
अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।
यो सब परमप्रभुले भन्नु भयो।
26 यरूशलेम, म तिम्रो लुगा
अनुहार सम्म तानी दिनेछु
ताकि प्रत्येकले तिम्रो लाज देखोस्।
27 मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु।
मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा,
र मैदानमा आफ्नी प्रेमिकाहरूलाई,
अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”
येशूलाई बडा हाकिम पिलातसकहाँ लगियो
(मर्कूस 15:1; लूका 23:1-2; यूहन्ना 18:28-32)
27 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। 2 तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
यहूदाको आत्महत्या
(प्रेरित 1:18-19)
3 यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। 4 यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”
यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”
5 यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।
6 मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” 7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। 8 यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। 9 यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो।
“तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। 10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”[a]
बडाहाकिम पिलातसद्वारा येशूलाई प्रश्नहरू
(मर्कूस 15:2-5; लूका 23:3-5; यूहन्ना 18:33-38)
11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
12 जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”
14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
येशूलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल
(मर्कूस 15:6-15; लूका 23:13-25; यूहन्ना 18:39–19:16)
15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। 16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।
17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” 18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?”
मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!”
22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?”
सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!”
23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”
24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली
(मर्कूस 15:16-20; यूहन्ना 19:2-3)
27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
येशूलाई क्रुसमा झुण्ड्याइयो
(मर्कूस 15:21-32; लूका 23:26-39; यूहन्ना 19:17-19)
32 सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो। 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। 34 जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। 36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। 37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।
38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए। 39 आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे। 40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। 42 तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं। 43 उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” 44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
येशूको मृत्य
(मर्कूस 15:33-41; लूका 23:44-49; यूहन्ना 19:28-30)
45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”(A)
47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
48 एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
51 जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। 52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। 53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए। 56 मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
येशूलाई गाडियो
(मर्कूस 15:42-47; लूका 23:50-56; यूहन्ना 19:38-42)
57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। 58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। 59 त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे। 60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। 61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
येशूको चिहानमा पहरा
62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे। 63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। 64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।” 66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
© 2004, 2010 Bible League International