Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 23

यहोशूले मानिसहरूलाई प्रोत्साहन दिन्छन्

23 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै बर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए। यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु। तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो। मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु। हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।

“परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। 10 परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो। 11 यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।

12 “परमप्रभुको अनुशरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने। 13 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।

14 “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो। 15 परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ। 16 यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्तै छोड्न बाध्य तुल्याइने छ।”

प्रेरित 3

पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।

एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो।

पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”

त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो। 9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।

पत्रुस मानिसहरू सँग बोल्दछ

11 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।

12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। 13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। 14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ। 15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।

16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।

17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्। 18 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो। 19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। 20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।

21 “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्नै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो। 22 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ। 23 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’(A)

24 “शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने। 25 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’(B) 26 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

यर्मिया 12

यर्मियाले परमप्रभुप्रति गुनासो गर्दछ

12 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने,
    तपाईं सधैँ धार्मिक नै हुनुहुन्छ।
तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन।
    किन दुष्ट मानिसहरू सफल हुन्छन्?
    किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
तपाईंले तिनीहरूलाई रोप्नु भयो
    अनि तिनीहरू शक्तिशाली भए।
तिनीहरू बढछन् अनि फल दिन्छन्।
    तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ।
    तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ।
तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्।
    हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।
कहिले सम्म जमीन सूख्खा रहन्छ?
    कहिले सम्म घाँस ओइलिन्छ?
त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा
    सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके।
तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्,
    “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”

यर्मियालाई परमप्रभुको जवाफ

“यर्मिया, यदि तिमी मानिसहरूसँग दुगुर्दा थाक्यौ भने
    कसरी घोडाहरूसित दगुर्न सक्छौ?
यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने
    डरलाग्दो जग्गामा तिमी के गर्नेछौ?
यर्दन नदीको किनारमा बढ़दै गरेको काँढे झाडीहरूमा
    तिमी के गर्ने छौ?
ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन्।
    तिम्रा आफ्नै परिवारका सदस्यहरूले
    तिम्रै विरूद्धमा षड्‌यन्त्र रचिरहेकाछन्।
तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्।
    तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।

परमप्रभुले यहूदीहरूलाई इन्कार गर्नुहुन्छ,

“मैले आफ्नो घर परिवार त्यागेको छु,
    मैले आफ्नो सम्पत्ति छाडें।
म जसलाई प्रेम गर्दछु्
    उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
मेरा मानिसहरू सिंह झैं छन्।
तिनीहरू म पट्टि फर्की गर्जिए,
    यसकारण म तिनीहरूको शत्रु भएको छु।
मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्।
    गिद्धहरू तिनीहरूको वरिपरि उडछन्।
आऊ हे जङ्गली पशुहरू हो,
    खान भेला होऊ।
10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए।
    ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे।
    ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरुभूमिमा परिणत गरिदिए।
11 तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए।
    यो सूख्खा र अनुर्बर छ र मेरो लागि रून्छ।
सम्पूर्ण भूमि नै उजाड भएकोछ,
    तर कसैले वास्ता गर्दैन।
12 मरुभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्।
    यो भूमिको एक कुनादेखि अर्को कुना सम्म,
परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ।
    कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
13 मानिसहरूले गहूँ रोप्ने छन्
    तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्।
तिनीहरू अधिक मेहनत गर्छन्
    तर त्यसबाट केही पाउँदैनन्।
आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन।
    परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”

इस्राएलका छिमेकीहरूलाई परमप्रभुको प्रतिज्ञा

14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदालाई छुट्याउँनेछु। 15 जब ती मानिसहरूलाई देश निकालाको समय पुरा हुन्छ, त्यस पछि तिमीहरूमाथि म दया गर्ने छु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु। 16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउँछु। 17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई पूर्ण रूपले नष्ट पार्नेछु र यसलाई सुकेको बिरूवा झैं बनाउनेंछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

मत्ती 26

यहूदी नेताहरूद्वारा येशूलाई मार्ने षड्यन्त्र

(मर्कूस 14:1-2; लूका 22:1-2; यूहन्ना 11:45-53)

26 येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”

तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।”

एउटी स्त्रीले केही विशेष काम गर्छिन्

(मर्कूस 14:3-9; यूहन्ना 12:1-8)

येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्।

चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”

10 येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। 11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। 12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। 13 म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।”

यहूदा येशूको शत्रु हुन्छ

(मर्कूस 14:10-11; लूका 22:3-6)

14 त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। 15 यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। 16 त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो।

येशूले निस्तार-चाडको भोज खानु भयो

(मर्कूस 14:12-21; लूका 22:7-14,21-23; यूहन्ना 13:21-30)

17 अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”

18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” 19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।

20 जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। 21 तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”

22 चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?”

23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। 24 मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”

25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?”

येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”

प्रभु भोज

(मर्कूस 14:22-26; लूका 22:15-20; 1 कोरिन्थी 11:23-25)

26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”

27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। 28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। 29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”

30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए।

चेलाहरूले आफूलाई छाड्ने छन् भनि येशू भन्नु हुन्छ

(मर्कूस 14:27-31; लूका 22:31-34; यूहन्ना 13:36-38)

31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ;

‘म गोठलोलाई प्रहार गर्नेछु,
    अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’(A)

32 तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।”

33 पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”

34 येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”

35 तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।

एकान्तमा येशूको प्रार्थना

(मर्कूस 14:32-42; लूका 22:39-46)

36 त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” 37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। 38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”

39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” 40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? 41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”

42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”

43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। 44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।

45 तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। 46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”

येशू पक्राउ पर्नु भयो

(मर्कूस 14:43-50; लूका 22:47-53; यूहन्ना 18:3-12)

47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। 48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” 49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।

50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।”

त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। 51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।

52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। 53 तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? 54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”

55 तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। 56 तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।

येशू यहूदी अगुवाहरूको अघि

(मर्कूस 14:53-65; लूका 22:54-55,63-71; यूहन्ना 18:13-14,19-24)

57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। 58 पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे।

59 प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। 60 धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, 61 “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”

62 अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” 63 येशूले केही भन्नु भएन।

तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

64 येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”

65 प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। 66 तिमीहरूको के राय छ?”

यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।”

67 त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। 68 तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”

येशूलाई चिन्दछु भन्न पत्रुस डराए

(मर्कूस 14:66-72; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)

69 त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।”

70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”

71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”

72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”

73 केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”

74 तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। 75 तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International