Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 22

तीन कुल समूहहरू घर जान्छन्

22 त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए। “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गर्यौ, अनि तिमीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ। तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो। परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो र परमप्रभुले उहाँको वचन अहिले पुरागर्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ। तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुशरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के। मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए। तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरू छन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घर जाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”

यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

10 रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे। 11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो। 12 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।

13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए। 14 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।

15 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने, 16 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो। 17 याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महा-पापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं। 18 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुशरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।

19 “‘यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए, हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

20 “‘जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।’”

21 रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने, 22 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ। 23 यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ? 24 अँहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ। 25 तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।

26 “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं। 27 हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो। 28 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’

29 “साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुशरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”

30 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए। 31 यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”

32 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने। 33 इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।

34 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

प्रेरित 2

पवित्र आत्माको आगमन

जब पेन्तिकोसको[a] दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।

त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।

यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, 10 फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम 11 क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”

12 मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?” 13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

पत्रुसको मानिसहरूलाई सम्बोधन

14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। 15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। 16 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्:

17 ‘परमेश्वर भन्नुहुन्छः
    अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।
तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्।
    तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्।
    तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
18 त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि,
    मेरो आत्मा खन्याउनेछु,
    अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु,
    तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु।
    त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
20 घाम अन्धकारमय भई बद्लिने छ,
    अनि जुन रगत सरह रक्तिम हुनेछ।
    तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’(A)

22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। 23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। 24 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। 25 दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः

‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें,
    मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।
26 यसैले मेरो हृदय आनन्दित छ,
    र मेरो मुख आनन्दसित बोल्दछ।
हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ,
27     किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन।
    तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।
28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ,
    तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’(B)

29 “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। 30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। 31 यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः

‘उहाँलाई नरकमा छाडिएको थिएन।
    उहाँको शरीर चिहानमा सडेन।’

32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। 33 यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। 34 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः

‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः
मेरो दाहिने तर्फ बस,
35     जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’(C)

36 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”

37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। 39 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।”

40 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” 41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

विश्वासीहरूको बांढाई

42 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए। 43 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे। 44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। 45 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे। 46 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। 47 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।

यर्मिया 11

करार तोडियो

11 यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन। यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ। म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै सङ्कटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो।’ मैले तिनीहरूलाई भने ‘मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।’

“तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैँ बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।”

मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”

परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर। मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेतावनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरि-घरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेतावनी दिँदै आएको हो। तर तिनीहरू हठ्ठी थिए मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।”

फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहूदाका र यरूशलेममा बस्ने मानिसहरूले एक गुप्त योजना बनाएका छन्। 10 ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिँड्न अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”

11 यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन् तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन। 12 यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्।

13 “हे यहूदाका मानिसहरू! तिमीहरूसँग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।

14 “यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले सङ्कटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन् म ध्यान दिँदिन।

15 “उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै
    किन मैले मेरी प्रियसीलाई मेरा घरमा आदर गर्नु?
यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र
    तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”

16 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो।
    उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।
तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ
    अनि त्यसका हाँगाहरू जल्नेछ।
17 सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो
    अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ
किनभने इस्राएल र यहूदाका मानिसहरूले
    बाललाई सुगन्धित धूपहरू चढाएर
अनिष्ट कामहरू गरे जुन कामले
    मलाई क्रोधित गरायो।

यर्मियाको विरूद्धमा षड्‌यन्त्र

18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो। 19 मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने: “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।” 20 “तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”

21 यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्‌यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौं।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ। 22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्। 23 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”

मत्ती 25

दशवटी कन्याहरूको उखान

25 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए। पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए। ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेड़ा तेल पनि बोकेका थिए। तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

“मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।’

“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे। तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’

“बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफैं पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’

10 “त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।

11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’

12 “दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँच्चो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’

13 “यसकारण सधैँ सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।

तीनजना नोकरको कथा

(लूका 19:11-27)

14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। 15 कुन चाहिं नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोड़ा दियो। अर्कोलाई दुइ तोड़ा दियो। अनि तेस्रोलाई एक तोड़ा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो। 16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोड़ा बढाउने काम गर्यो। 17 दुइ तोड़ा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोड़ा कमायो। 18 तर एक तोड़ा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।

19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्यौ भनेर सोध्यो। 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’

21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’

22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’

23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’

24 “त्यसपछि एक तोड़ा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो। 25 यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’

26 “मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए। 27 तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’

28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ। 29 जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’ 30 त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुःख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’

मानिसको पुत्रले सबै मानिसहरूको न्याय गर्नु हुनेछ

31 “मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसँगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ। 32 उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँड्नु हुनेछ। यो भेंडा़ र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ। 33 उहाँले भेंडा़हरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।

34 “राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहण गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो। 35 यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ। 36 नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’

37 “तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं? 38 हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं? 39 तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’

40 “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’

41 “त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अघिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैँ जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो। 42 तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ। 43 म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’

44 “त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?’

45 “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’

46 “त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन प्राप्त गर्न जानेछन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International