Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 18-19

शेष भूमिको विभाजन

18 समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे। तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।

त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ। यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्। तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्। तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्। लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”

यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”

यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के। 10 यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

बिन्यामीनको निम्ति भूमि

11 त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः 12 यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो। 13 त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ। 14 बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबात तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।

15 दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो। 16 त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो। 17 त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान् शिला तिर झरेको थियो। 18 त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो। 19 त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।

20 यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए। 21 प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस। 22 बेत-अराबा, समारैम, बेतेल, 23 अब्बीम, पारा, ओप्रा, 24 कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

25 बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत, 26 मिस्पा, कपीरा, मोसा, 27 रेकेम, यिर्पल, तरला, 28 सेला, एलेप, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।

शिमियोनका निम्ति भूमि

19 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थियो जो यहूदाका थियो। तिनीहरूले जो प्राप्त गरे ती यी हुन्ः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा, हजर्शूआल, बाला, एसेम, एल्तोलाद, बतूल, होर्मा, सिकलग, बेत्मर्काबोत, हसर्सूसा, बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।

तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए। तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे। शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।

जबलूनका निम्ति भूमि

10 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो। 11 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेट्न पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो। 12 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो। 13 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो। 14 नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो। 15 यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

16 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।

इस्साकारका निम्ति भूमि

17 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे। 18 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम, 19 हपरैम, शीओन, अनाहारत, 20 रब्बीत, किश्योन, एबेस, 21 रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।

22 तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए। 23 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।

आशेरका निम्ति भूमि

24 भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए। 25 त्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप, 26 अल्लम्मेलेक, अमाद अनि मिशाल।

यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो। 27 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो। 28 त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो। 29 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब, 30 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।

सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। 31 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।

नप्तालीका निम्ति भूमि

32 भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए। 33 तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो। 34 तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो 35 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत, 36 अदामा, रामा, हासोर, 37 केदेश, एद्रेई, एन्हसोर, 38 यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

39 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

दानका निम्ति भूमि

40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो। 41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस, 42 शाललबीन, अय्यालोन, इत्ला, 43 एलोन, तिम्ना, एक्रोन, 44 एल्तके, गिब्बतनो, बालात, 45 यहूद, बनेबरक, गत्रिमोन, 46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।

47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो। 48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

यहोशूका निम्ति भूमि

49 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो। 50 तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।

51 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

भजनसंग्रह 149-150

परमप्रभुको प्रशंसा गर।

परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
    महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्।
    सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै,
    परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
    परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
    उहाँले तिनीहरूलाई बचाउनु भयो!
हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ।
    सुत्न गइसके पश्चात् पनि खुसी होऊ।

मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
    अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
    ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
परमेश्वरका मानिसहरूले ती राजा,
    र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
    परमेश्वरले गर्नु भएको आज्ञा जस्तै,
    परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।

परमप्रभुको प्रशंसा गर!

परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
    उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
    उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
    वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
    तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
    बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
    झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!

प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।

परमप्रभुको प्रशंसा गर!

यर्मिया 9

यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो,
    अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भनें,
    म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।

यदि मरुभूमिमा यात्री झैं
    रात बिताउने ठाँउ मेरो भए
म मेरा मानिसहरूलाई छाडिदिने थिएँ
    र तिनीहरूबाट टाढो गएको हुन्थे।
किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्।
    तिनीहरू सबै उहाँका विरोधमा उठे।

“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्ग्याउँछन्,
    अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्।
झूटो मात्र, सत्य हैन।
    त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन।
यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन।
    तिनीहरूले मलाई चिन्दैनन्।”
    परमप्रभुले यसो भन्नुभयो।

“आफ्ना छिमेकीहरूलाई हेर।
    कुनै आफन्तहरूलाई विश्वास नगर।
किनभने हरेक आफन्तहरू कपटी छ।
    हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ।
    कसैले पनि साँच्चो बोल्दैन।
यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई
    झूटो बोल्न प्रशिक्षण गराउँछन्।
    तिनीहरूले नथाकुन्जेल सम्म पाप गरे।
एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो।
    अनि झूटोले झूटै पछ्‌यायो।
मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।”
    परमप्रभुले ती कुराहरू भन्नुभयो।

सेनाहरूका परमप्रभु भन्नहुन्छ,
“म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।[a]
मेरोमा अन्य तरिका छैन।
    मेरा मानिसहरूले पाप गरे।
यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्।
    तिनीहरू मुखले झूटो बोल्दछन्।
हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्,
    तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।”
    यो परमेश्वरबाट आएको सन्देश हो,
“के मैले यसप्रकारको जातिलाई
    सजाय दिनु पर्दैन?”

10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु।
    म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु
    कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन्,
र त्यहाँबाट कोही पनि हिँड्दैनन्।
    गाई-गोरूहरू रमेको आवाजहरू अब त्यहाँ सुन्न सकिँदैन।
चराचुरूङ्गी सबै उडेर गइसके,
    अनि पशुहरू पनि गइसके।

11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु।
    यो स्यालहरूको घर हुनेछ।
म यहूदाका शहरहरू विनाश गर्नेछु
    ताकि त्यहाँ कोही बस्ने छैन।”

12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्?
    त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ
र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ?
    किन यस भूमि नष्ट पारियो अनि
    सूख्खा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?

13 परमप्रभुले भन्नुभयो,
“किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे्
    अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिँड्दैनन्।
14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए।
    तिनीहरू हठ्ठी थिए।
तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले
    जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”

15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ,
“म तिनीहरूलाई तीतो भोजन खाने
    र विषालु पानी पिउने बनाउनेछु।
16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा
जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले
    जान्दथे तितर-बितर पारिदिनेछु।
तिनीहरू सम्पूर्ण रूपले नष्ट नहुन्जेलसम्म,
    म तिनीहरूको पछि तरवार पठाउनेछु।”

17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ
“अब, यी कुराहरूबारे विचार गर।
    ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ।
    ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
18 ‘तिनीहरूले हतार गरून
र हाम्रा निम्ति रोइदिउन।
    तब हाम्रा आँखाहरू
आँसूले भरिनेछन्,
    अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’

19 “विलापको स्वरहरू सियोनबाट सुनियो,
‘हामी साँचि नै नष्ट भयौं।
    हामी लज्जित छौं
कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ,
    किनभने हाम्रो घरहरू भत्काइयो।
    अहिले हाम्रा घरहरू ढुङ्गाका टुक्राहरू मात्र भएका छन्।’”

20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन।
    परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ।
    हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ:
21 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ।
    हाम्रा किल्लाहरूमा मृत्यु आयो।
यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई
    र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’”

22 यी कुराहरूको घोषणा गर:
“परमप्रभु भन्नुहुन्छ, ‘मतृ शरीरहरू भूईँमा गोबर जस्तै छरिएको हुनेछ।
    तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन्
    जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’”

23 परमप्रभु भन्नुहुन्छ,
“ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्।
    बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।
    धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
24 तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।
    म परमप्रभुलाई चिन्छु र जान्दछु
र उहाँ नै परमप्रभु हुनुहुन्छ,
    जसले पृथ्वीमा न्याय, दया
र र्धमिकताको व्यवहार गर्नुहुन्छ।
    किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”

25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु। 26 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन् अनि तिनीहरू सबै जो जङ्गलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”

मत्ती 23

येशूद्वारा धार्मिक गुरूहरूको आलोचना

(मर्कूस 12:38-40; लूका 11:37-52; 20:45-47)

23 तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।

“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।

“तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। 10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। 11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।

13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [a]

15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।

16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?

18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।

23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।

25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। 30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ 31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। 32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।

33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। 34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।

35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। 36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।

येशूद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी

(लूका 13:34-35)

37 “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। 39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”(A)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International