M’Cheyne Bible Reading Plan
एप्रैम अनि मनश्शेका निम्ति भूमि
16 यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। (यो यरीहोको ठीक पूर्वमा थियो।) यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए। 2 त्यसपछि त्यो सीमाना बेतेल (लाज) देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए। 3 तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।
4 यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। (मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।)
5 एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो। 6 अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो। 7 त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोइ सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए। 8 त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए। 9 एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। 10 तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।
17 तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए। 2 मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।
3 सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो। 4 ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।
5 यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तफर्का गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए। 6 यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।
7 मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो। 8 तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो। 9 मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो। 10 दक्षिण तर्फको भूमि एप्रैमको थियो। अनि उत्तर तर्फको भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।
11 मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे। 12 मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे। 13 तर इस्राएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।
14 यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियौ?”
15 यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”
16 यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”
17 तब यहोशूले यूसुफ, एप्रैम अनि मनश्शेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ। 18 तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”
1 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
8 यो सन्देश परमेश्वरबाट आएको हो, “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्। 2 तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुशरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिंजाएको गाईको गोबर जस्तै हुनेछ।
3 “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाड्न बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।
पाप र दण्ड
4 “यर्मिया, यो यहूदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ:
“‘तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ,
फेरि माथि उठ्छ,
यदि एकजना मानिस विग्रन्छ भने,
फेरि सप्रिनेछ।
5 यहूदाका मानिसहरूले भूल बाटो समाते।
तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्?
तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्।
तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
6 मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु।
तिनीहरू सही कुरा बोल्दैनन्।
तिनीहरू आफूले गरेको पापमा दु:खी छैनन्,
अनि भन्दैनन्, मैले के गरें?
युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू
आफ्नै बाटोमा हिँडिरहेका छन्।
7 आकाशमा उड्ने चरा-चुरूङ्गीहरूले पनि
आफ्नो ठीक समय जान्दछन्,
अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले,
आफ्नो नयाँ घरमा जाने समय जान्दछन्,
तर मेरा मानिसहरू जान्दैनन्,
परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।
8 “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!”
तर यो सत्य होइन, किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।
9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे।
यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्।
ती “ज्ञानी मानिसहरूलाई” जालमा फँसाइएका छन्,
अपमान गराइएका छन् र लज्जित पारिएका छन्।
10 यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु।
म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु।
सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्।
सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्।
तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई
तिनीहरूले केही जस्तो मानेनन्।
तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।”
तर वास्तवमा केही पनि ठीक छैन।
12 तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ।
तर तिनीहरू पटक्कै लज्जित छैनन्।
कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्।
यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु
तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।’”
परमप्रभु यसो भन्नुहुन्छ।
13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु।
तिनीहरूका झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन,
नेभाराको बोटमा एउटै पनि फल रहने छैन।
पातहरू पनि ओइलिनेछन र सूख्खा हुनेछन्।
मैले दिएका प्रत्येक वस्तु लैजानेछु।’”
14 “किन हामी यहाँ बसिरहेका छौं? ‘आऊ, हामी बलिया शहरहरूमा जाऊँ।
त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर,
हाम्रा परमप्रभुले हामीलाई सड्नु भनी आदेश दिनु भएकोछ।
हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं,
यसकारण परमेश्वरले हामीलाई
विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
15 हामीले ब्यार्थमा शान्ति पाउने आशा गर्यौं।
हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।
16 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज
हामी सुन्छौं।
घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ।
यो जमीन र यसमा भएका प्रत्येक वस्तु
नष्ट पार्न शत्रुहरू आएका छन्।
तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू
नष्ट पार्न आएका छन्।’”
17 “हेर, म तिमीलाई आक्रमण गराउन विषालु सर्पहरू पठाउँदैछु।
ती सर्पहरूलाई नियन्त्रणमा राख्नु सकिंदैन।
तिनीहरूले तिमीलाई डस्नेछन्।”
यो सन्देश परमप्रभुको हो।
18 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
19 मेरा मानिसहरूको चित्कार सुन।
राष्ट्रको बिभिन्न ठाउँहरू बाट, मानिसहरू सहायताको निम्ति चिच्याई रहेका छन्।
तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ?
के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?”
तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले,
बेकारका विदेशी देवताहरूलाई पूजे।
तिनीहरूले मलाई क्रोधित पारे।
तिनीहरूले किन त्यसो गरे?”
20 अनि ती मानिसहरू भन्छन्,
“फसल कटनीको समय बितिहाल्यो।
ग्रीष्मकाल समाप्त भयो।
अनि अझ हामी सुरक्षित भएका छैनौं।”
21 मेरा मानिसहरूले मलाई चक्कानाचूर पारेकाले म चक्कानाचूर भएको छु।
म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।
22 नि:सन्देह गिलादमा केही औषधी छ।
नि:सन्देह गिलादमा वैद्य छ,
यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त
(लूका 14:15-24)
22 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो। 2 “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। 3 राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।
4 “तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’
5 “नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। 6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। 7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
8 “त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। 9 यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’ 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।
11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। 13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’
14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”
केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्
(मर्कूस 12:13-17; लूका 20:20-26)
15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”
18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”
21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”
येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”
22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।
सदुकीहरू येशूलाई फँसाउन चाहन्छन्
(मर्कूस 12:18-27; लूका 20:27-40)
23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे; 24 तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाइले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ। 25 हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो। 26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घट्ना तेस्रो भाइसँग पनि घट्यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो। 27 तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। 28 तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”
29 येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। 30 त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। 31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। 32 परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’(A) यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”
33 मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।
सबैभन्दा ठूले आज्ञा कुन हो?
(मर्कूस 12:28-34; लूका 10:25-28)
34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। 35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। 36 त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”
37 येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’(B) 38 यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। 39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’(C) 40 अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”
फरिसीहरूलाई येशूको प्रश्न
(मर्कूस 12:35-37; लूका 20:41-44)
41 जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, 42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”
फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”
43 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने,
44 ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो:
मेरो दाहिनेपटि बस,
अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’(D)
45 दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दादको पुत्र हुनसक्छन्?”
46 कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढ़ता प्रश्नहरू गर्ने साहस गरेनन्।
© 2004, 2010 Bible League International