M’Cheyne Bible Reading Plan
त्यो दिन सूर्य अटल रह्यो
10 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। 2 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। 3 अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, 4 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
5 यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
6 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। 8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
9 यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। 11 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः
“हे सूर्य, गिबोन माथि स्थिर बस्।
चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो। 14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
15 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के। 16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके। 17 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए। 18 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। 19 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद्न जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।”
20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्। 21 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।
22 यहोशूले भने, “गुफाको द्वारमा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।” 23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। 24 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
25 तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
26 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डि्याएर राखे। 27 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
28 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
दक्षिणी शहरहरूलाई लिएको
29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे। 30 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
31 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 32 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए। 33 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।
34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
36 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे। 37 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।
38 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे। 39 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
40 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
41 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे। 42 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो। 43 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना।
1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
म परमप्रभुलाई पुकार्दछु।
2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
म त्याग्न तयार छु।
तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।
4 मैले वरिपरि हेरें,
अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ।
मेरो भाग्ने ठाउँ कतै छैन।
कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।
5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
मलाई तपाईंको अति खाँचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्,
तिनीहरू मभन्दा पनि बलिया छन्।
7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्,
ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ,
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
दाऊदको एउटा भजन।
1 हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
2 मलाई कुनै मामिला नलगाउनु होस्।
म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ।
तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे।
धेरै बर्ष अघी मरेको मानिस सरह,
तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
4 म छोड्न तयार छु,
म आफ्ना आँट हराई रहेछु।
5 तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो।
म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु,
जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
6 परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।
7 परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्।
मैले आफ्नो आँट हराएँ।
मदेखि टाढा नभाग्नु होस्।
मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
8 परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
म तपाईंलाई भरोसा गर्दछु,
मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्।
तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
9 हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।
मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्,
अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्,
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
किनभने म तपाईंको दास हुँ।
4 परमप्रभुले भन्नुभयो,
“हे इस्राएलका मानिसहरू!
यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ।
तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ।
मदेखि नबरालिओ।
2 ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ,
र त्यसलाई सरलता, ईमान्दारी,
अनि धार्मिकतासित पालन गर्छौ भने,
जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्,
अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो:
“तिम्रा खेतहरू जोत!
काँढाहरू माझ बीऊहरू नछर।
4 परमप्रभु अघि आफ्नै खतना गर
अनि हृदयको अपवित्रता आफैं हटाऊ।
हे यहूदा र यरूशलेमका मानिसहरू हो!
तिमीहरू परिवर्तित भएनौ भने
मेरो क्रोध अग्नि झैं फैलिनेछ।
कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन।
यो तिमीहरूको दुष्टकार्यको
कारण यस्तो हुनेछ।”
उत्तरदेखि महाविपद्
5 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ:
यरूशलेम शहरका प्रत्येक मानिसलाई भन:
‘राज्यका चारैतिर तुरही फुक।’
चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ।
सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
6 सियोन तिर संकेतको झण्डा उठाऊ।
नपर्ख, आफ्नो जीवनको लागि भाग!
यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति
र ठूलो सत्यनाश ल्याउनेछु।”
7 एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ।
जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ।
तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ।
तिम्रा शहरहरू नष्ट पार्नेछ,
अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
8 यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ।
किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।
9 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ,
राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ,
पूजाहारीहरू भयभीत हुन्छन्
अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
11 त्यस समयमा यहूदा
र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ,
“मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट
तातो हावा बहने छ,
तर तिनीहरूलाई निफन्न
अथवा सफा पार्नु होइन।
12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ,
अनि यो मबाट आउँछ।
अब, यहूदाका मानिसहरूका विरूद्ध
म मेरो न्याय घोषणा गर्नेछु।”
13 हेर! शत्रु बादल झैं आउँदैछ।
उसको रथ हुरी झैं चल्छ,
घोडाहरू चीलहरू भन्दा छिटा छन्।
हामीलाई धिक्कार छ, हामी नष्ट भयौं।
14 हे यरूशलेमका मानिसहरू!
आफ्नो हृदयबाट पापहरू धोई पखाल
ताकि तिमीहरू बाँच्नेछौ।
कहिल्ये सम्म आफ्नो दुष्ट्याँइसित अड्किरहन्छौ?
15 दानका सन्देशवाहकको आवाज सुन।
एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ:
16 “जाति-जातिहरूलाई खबर गर।
यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ।
टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ।
यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाईँको घोषणा गरिरहेका छन्।
17 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले
खेतालाहरूले खेत सुरक्षित पारे झैं
शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्।”
यो सन्देश परमेश्वरबाट आएको हो।
18 “तिमीहरूले जुन प्रकारले काम गर्यौ,
अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद् निम्त्यायो।
यो तिम्रो लागि सजाय हो।
यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
यर्मियाको विलाप
19 हाय मेरो वेदना, मेरो वेदना!
म मनोव्यथामा छु! हे मेरो हृदय!
मेरो मुटुले मभित्र प्रहार गरिरहेछ।
म चूपचाप बस्न सक्तिनँ,
किनभने मैले तुरहीको आवाज सुनेको छु।
अनि तुरहीले, सैनिकलाई युद्ध तर्फ बोलाइरहेछ।
20 ध्वंसपछि ध्वंस आउँछ।
सम्पूर्ण देशनै ध्वंस भयो।
हटात मेरा पालहरू पनि ध्वंस भए।
मेरा पर्दाहरू च्यातिए र तल झारिए।
21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?
कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।
तिनीहरूले मलाई चिन्दैनन्।
तिनीहरू अज्ञानी नानीहरू हुन्।
तिनीहरू बुझ्दैनन्।
तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्,
तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
विपत्ति आईरहेछ
23 मैले पृथ्वीमा हेरें यो खाली थियो;
यसमा केही पनि थिएन्।
मैले आकाशमा हेरें,
अनि यसको प्रकाश धीमा भइसकेको थियो।[a]
24 मैले पर्वतहरूलाई हेरें,
अनि तिनीहरू कामिरहेका थिए।
सारा पहाडहरू हल्लिरहेका थिए।
25 मैले हेरें, तर त्यहाँ कोही पनि थिएन।
अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो।
त्यस भूमिमा भएका सबै शहरहरू नाश भए।
यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।
27 परमप्रभुले यी कुराहरू भन्नुभयो
“सारा देश नै नष्ट हुनेछ।
तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन।
28 त्यसै कारण त्यो भूमि रूनेछ,
अनि माथि आकाश कालो हुनेछ।
म बोलें अनि परिवर्तन हुने छैन्।
मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
29 प्रत्येक शहरले घोडसवारी
र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ!
केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्,
कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्।
सबै शहरहरू शून्य हुनेछन्,
त्यहाँ कोही पनि बस्ने छैन।
30 यहूदा तिमी नष्ट भएकाछौ,
यसकारण अहिले तिमी के गरिरहेका छौ?
तिमी किन तिम्रो सब भन्दा राम्रो
रातो वस्त्र लगाईरहेका छौ?
किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ?
तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ?
खाली यो समयको बर्बादी हो।
तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन।
तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।
पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो।
त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै
र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो।
“हाय! म बेहोश हुन लागेकि छु,
अनि हत्याराहरू मेरा वरिपरि छन्।”
येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?
(मर्कूस 9:33-37; लूका 9:46-48)
18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”
2 येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। 3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। 4 जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।
5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।
पापको बारेमा चेताउनी
(मर्कूस 9:42-48; लूका 17:1-2)
6 “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। 7 जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।
8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। 9 यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।
हराएको भेंडा़को उखान
(लूका 15:3-7)
10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। 11 [a] परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।
12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? 13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। 14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।
जब कसैले गल्ती गर्छ
(लूका 17:3)
15 “यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ। 16 यदि उसले सुन्न अस्वीकार गर्यो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्। 17 यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।
18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। 19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। 20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”
क्षमाको उखान
21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”
22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”
23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।
26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।
28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’
29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’
30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।
32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।
35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”
© 2004, 2010 Bible League International