Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 8

ऐ शहर नष्ट भयो

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु। यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन।”

यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए। यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक। अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ। मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं। तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।

“तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।”

तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।

10 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। 11 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।

12 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। 13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।

14 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।

15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। 16 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। 17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।

18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए। 19 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।

20 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेद्न छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐका मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन। 21 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लड्नलाई दगुरे। 22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्। 23 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।

युद्धको विवरण

24 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरुभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरुभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए। 25 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए। 26 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्। 27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।

28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ। 29 यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत-शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।

आशीर्वाद एवं अभिशापहरूको पठन

30 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे। 31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गाद्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।

32 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे। 33 बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।

34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए। 35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।

भजनसंग्रह 139

प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।

हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।
    तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
    धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
    मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
    मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
    तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
    मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
    हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
    यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
    यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
    अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।

11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
    “दिन रातमा परिर्वतन भएको छ।
    निश्चय रातले मलाई लुकाउनेछ।”
12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
    परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
    तपाईंको निम्ति रात र दिन उस्तै हो।
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
    म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
    म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।

15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
    जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
    तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
    तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
    कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
    हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
    अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्।
    त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे
    तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।
21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु,
ज-जसले तपाईंलाई घृणा गर्दछन्।
    म ती मानिसहरूलाई घृणा गर्दछु,
    जो तपाईंको विरूद्धमा उठ्दछन्।
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु।
    तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।
    मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,
    अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।

यर्मिया 2

यहूदा विश्वासी थिएन

परमेश्वरको यो सन्देश मकहाँ आयो: “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन:

“‘जब तिमीहरू युवा अवस्थामा थियौ,
    त्यस बेला तिमीहरूको म प्रति
विश्वास अनि एउटी बेहुलीको झैं,
    म प्रतिको माया मलाई सम्झना छ।
तिमीहरूले मलाई मरुभूमि भरि,
    र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए।
    तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए।
अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए
    उनीहरूलाई दोषी साबित गरियो,
अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’”
    यो सन्देश परमेश्वरबाट आएको थियो।

हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन।
    र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।

परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो:
“तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए
    ताकि तिनीहरूले मलाई छाडिदिए?
तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे
    अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
तिम्रा पिता-पुर्खाहरूले भनेनन्,
    ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो।
परमप्रभुले हामीलाई अँध्यारो,
    र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो।
परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो।
    परमप्रभुले हामीलाई अ न्घकार,
    र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन,
र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्।
त्यहाँ डोर्याउनु भयो।
    तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’”

परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ,
    त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ।
मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ।
    तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’
मैले तिमीहरूलाई त्यो जमीन दिएँ,
    तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।

“पूजाहारीहरूले सोधेनन्,
    ‘परमप्रभु कहाँ हुनुहुन्छ?’
मानिसहरू जसले व्यवस्था जान्दछन्, मलाई जान्न चाहेनन्।
    इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए।
अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे।
    तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”

परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू
    र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।
10 समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ।
    कसैलाई केदारको भूमिमा पठाऊ।
एकदमै होशियारी साथ हेर,
    कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
11 के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर?
    आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह।
    अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्।
तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर,
    महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।

12 “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्।
    भीषण भयले थर्थरियोस्।”
    यो सन्देश परमप्रभुबाट आएको थियो।
13 “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे।
    तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ,
    अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्।
तिनीहरू अन्य देवताहरू प्रति फर्किए।
    तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।

14 “के इस्राएलका मानिसहरू कमारो भए?
    के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो?
    किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?
15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्।
    तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए।
तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए,
    यसर्थ त्यहाँ कोही बस्दैन।
16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले
    तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
17 यो समस्या तिम्रो आफ्नै दोषले हो।
    परमप्रभु परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याउँदै हुनुहुन्थ्यो,
    तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
18 यहूदाका मानिसहरू यस विषयमा सोच
    अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ?
    परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?
19 तिमीहरूले नराम्रा कामहरू गर्यौ
    अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ।
सङ्कटहरू तिमीकहाँ आउनेछ।
    अनि त्यस सङ्कटले तिमीहरूलाई शिक्षा दिनेछ।
यस विषयमा विचार गर तब तिमीहरूले बुझ्नेछौ,
    परमेश्वरबाट विमुख हुँदा कति नराम्रो हुँदोरहेछ।
मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।”
    यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
20 “हे यहूदाका मानिसहरू हो!
    धेरै अघि तिमीहरूले जुवा हटायौ।
    मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें,
    त्यो तिमीहरूले छिनायौ।
तिमीहरूले मलाई भन्यौ, ‘म तपाईंको सेवा गर्दिनँ।’
    तिमी प्रत्येक अग्लो पर्वतमाथि,
    र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
21 यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थियें।
    तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ।
कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याङ्ग भयौ?
    जसले नराम्रो फल फलाउँदछ?
22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर
    खारयुक्त पानीले नुहाए पनि,
अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।”
    यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।
23 “हे यहूदाका मानिसहरू हो!
    तिमीहरूले कसरी मलाई भन्न सक्छौ,
‘म मैला छैन, मैले बाल मूर्तिहरू पूजेको छैन।’
    तिमीहरूको कर्महरूलाई बेंसीमा हेर।
तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर।
    तिमीहरू यता र उता दगुर्ने फुर्तिला ऊँटहरू जस्ता छौ।
24 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं।
    काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छ।
    त्यो त्यति कामुक रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन।
काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने
    प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
25 खुट्टाहरू नाङ्गो नहुन्जेल,
    अनि घाँटी नसुकुन्जेल दौडिन छोड।
तर तिमीहरू भन्छौ,
    ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु,
    अनि म तिनीहरूकै अनुशरण गर्नेछु।’

26 “जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ,
    त्यसरी नै इस्राएलका घराना लज्जित भए।
तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू
    र अगमवक्ताहरू लज्जित हुनेछन्।
27 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन,
    अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’
ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन्
    अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’
तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउँछन्,
    तर अनुहार चाँहि होइन।
    तर जब तिनीहरू अप्ठेरामा पर्छन,
तिनीहरू मलाई भन्छन्,
    ‘आउनुहोस् र हामीलाई बँचाउनुहोस्।’
28 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बँचाउन।
    ती मूर्तिहरू जो तिमीहरू आफैंले बनाएका थियौ ती कहाँ छन्?
कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन् कि?
    यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।

29 “तिमीहरू सबै मसित किन वहश गर्छौ?
    तिमीहरू सबैले मसित विद्रोह गर्छौ?”
    परमेश्वरबाट आएको वचन यही हो।
30 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ।
    तर त्यो वेकार भयो,
कारण तिनीहरूले त्यो ग्रहण गरेनन्।
    जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए,
तिनीहरूलाई तिमीहरूले तरवारले काट्यौ।
    संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
31 यस पुस्ताका मानिसहरू,
    परमप्रभुको सन्देश तर्फ ध्यान देऊ।

“के म इस्राएली मानिसहरूको लागि मरुभूमि जस्तै भएको थिएँ?
    के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ?
मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं।
    हामी तपाईंकहाँ फर्की आउने छैनौं प्रभु।’
    किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
32 तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्।
    एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन।
तर मेरो मानिसहरूले मलाई,
    धेरै पटक भुलेका छन्।

33 “हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ।
    वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
34 तिमीले ती गरीब
    र निर्दोष मानिसहरूलाई
तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ,
    तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
35 तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु।
    परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’
यसकारण म तिम्रो न्याय गर्नेछु
    कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
36 तिमी लक्ष्य सजिलै बद्लिन्छौ!
    तिमी अश्शूर पट्टि फर्कियौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए।
यसकारण, तिमी मिश्रपट्टि फर्कियौ,
    अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
37 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ।
    अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ।
तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्नु भएको छ,
    यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि
    तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।

मत्ती 16

यहूदी नेताहरूद्वारा येशूको परीक्षा

(मर्कूस 8:11-13; लूका 12:54-56)

16 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।

येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ। अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ। दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।[a] बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो।

येशूद्वारा यहूदी नेताहरूलाई चेताउनी

(मर्कूस 8:14-21)

येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले। येशूले तिनीहरूलाई भन्नुभयो, “आफैंलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैंलाई जोगाऊ।”

चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”

येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ। तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन? 10 अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन? 11 यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”

12 तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।

येशू नै ख्रीष्ट हुनुहुन्छ पत्रुस भन्छन्

(मर्कूस 8:27-30; लूका 9:18-21)

13 जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”

14 चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”

15 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”

16 शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”

17 येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। 18 यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। 19 म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”

20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो।

आफूले मर्नुपर्छ भनी येशू बताउनहुन्छ

(मर्कूस 8:31–9:1; लूका 9:22-27)

21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।

22 येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”

23 तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।”

24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। 25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। 26 यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ? 27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। 28 तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International