M’Cheyne Bible Reading Plan
आकानको पाप
7 तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
2 यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।
3 पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”
4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।
जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। 6 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
7 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। 8 परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। 9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! 11 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। 12 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
13 “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।
14 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। 15 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’”
16 भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो। 17 यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए। 18 तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)
19 तब यहोशूले आकानलाई भने, “छोरो, तैंले परमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंले के गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”
20 आकानले उत्तर दियो, “यो सत्य हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरें त्यो यो होः 21 हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी, कोटको मुनि छ।”
22 यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाए। चाँदी कोट मुनि थियो। 23 मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए।
24 त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे। 25 तब यहोशूले भने, “तैंले हामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरून्जेल उनीहरूले ढुङ्गा बर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए। 26 आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
137 हामी बाबेल नदीहरूका किनारमा बसेर
सियोनलाई सम्झेर रोयौं।
2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
4 तर कसरी विदेशमा हामीहरू
परमप्रभुका गीतहरू गाउन सक्छौं?
5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए,
तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन।
म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।
7 म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ।
हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
8 हे बेबिलोन, तिमी नाश हुनेछौ!
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ,
जुन दण्डको निम्ति तिमी योग्य थियौ।
9 त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते,
र तिनीहरूलाई ढुङ्गामा थेचारे।
दाऊदको भजन।
138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
म तपाईंको नाउँको प्रशंसा गर्छु,
तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
किनभने परमप्रभुको महिमा महान् छ।
6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ। 2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं बर्षमा यस्तो शुरू भयो। 3 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौं बर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निर्वासन गराईयो।
परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ
4 परमप्रभुको यो सन्देश मकहाँ आयो:
5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा,
गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें।
तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें।
मैले तिमीलाई जाति-जातिहरूमा
विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”
6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
7 तर परमप्रभुले मलाई भन्नुभयो,
“त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’
तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु।
तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
8 कसैसित नडराऊ!
म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।”
यो सन्देश परमप्रभुबाट आएको हो।
9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,
“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु।
तिनीहरूलाई उखेल्न, भत्काउन,
नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन
र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
दुइ दृश्यहरू
11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?”
मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”
12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछु अनि म यो गर्नेछु।”
13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”
मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”
14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ।
त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।
“ती राज्यहरूका राजाहरू आउनेछन्
अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्।
तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्।
तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।
16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको घोषणा गर्नेछु।
म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्।
तिनीहरू मेरो विरोधी भएका छन्।
मेरा मानिसहरूले मलाई छाडे।
तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए।
तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
17 “यर्मिया तिमी चाहिँ तैयार होऊ,
उठ र मानिसहरूलाई भन।
मैले दिएको प्रत्येक आज्ञाहरू तिनीहरूलाई भन।
मानिसहरूसित नडाराऊ, नत्र म तिमीलाई भयभीत पार्नेछु।
18 आज म तिमीलाई फलामको खम्बा झैं
अनि काँसाको पर्खाल झैं बलियो
र दृढ शहर बनाउनेछु।
यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू
र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने
तिमी उभिन सक्नेछौ।
19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन्
तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्।
किनभने म तिमीसँग छु,
अनि म तिमीलाई बचाउने छु।”
यो सन्देश परमेश्वरबाट आएको हो।
परमेश्वरको र मानिसको व्यवस्था
(मर्कूस 7:1-23)
15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(A) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(B) 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। 7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(C)
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। 11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ। 14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ? 17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ। 18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। 19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। 20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
येशूबाट कनानी स्त्रीहरूलाई सहायता
(मर्कूस 7:24-30)
21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो। 22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेंडा़को निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”
26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
येशूले अनेक रोगहरू निको गर्नुभयो
29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ़नु भयो र त्यहाँ बस्नुभयो।
30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा, गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो। 31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको
(मर्कूस 8:1-10)
32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”
34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”
35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो। 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
© 2004, 2010 Bible League International