M’Cheyne Bible Reading Plan
5 यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरून्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खड़ा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।
इस्राएलीहरूको खतना
2 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।”
3 यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।
4-7 यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।
8 यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्।
कनानमा पहिलो निस्तार चाड़
9 त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।
10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। 11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए। 12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।
परमप्रभुको सैनिकहरूको कप्तान
13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।”
तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाईंको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”
15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।
6 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।
2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु। 3 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। 4 पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन। 5 पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”
मन्दिर गइरहेको बेलाको भजन।
1 हे परमप्रभु! सम्झनु होस्, कसरी दाऊद पीडित भए।
2 दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए।
दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।
3 दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन,
म आफ्नो ओछ्यानमा ढल्कने छैन,
4 म सुत्ने छैन,
म आफ्नो आँखालाई विश्राम दिने छैन,
5 जबसम्म याकूबको सर्व-शक्तिमान् परमप्रभुको
घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने छैन!”
6 एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं।
हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ,
7 अब, पवित्र पालतर्फ जाऊँ,
त्यस पाऊदानलाई पूजौं जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ।
8 परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठ्नुहोस्।
हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठ्नु होस्।
9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्,
तपाईंका भक्तजनहरू आनन्दित छन्।
10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति,
आफूले रोजेका राजालाई रद्द नगर्नुहोस्।
11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो।
परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
परमप्रभुले वचन दिनु भएको थियो कि,
दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार,
र मैले सिकाएको नियमहरू पालन गरे भने,
तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।”
13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो।
त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
14 परमप्रभुले भन्नुभयो, “यो सदा-सर्वदाको लागि मेरो ठाउँ हुनेछ।
यो ठाउँ मैले रोजें जहाँ म हुने छु।
15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु।
गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।
16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु।
अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्।
17 म दाऊदको परिवारलाई बलियो पार्नेछु,
यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक,
बत्तीको नियुक्त गरेको छु।
18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु
तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”
यात्राको एक गीत, दाऊदको भजन।
1 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
किनभने यो सियोनमा थियो,
जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
मन्दिर गइरहेको बेलाको भजन।
1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
जसले रातभरि मन्दिरमा सेवा गरे।
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
र परमप्रभुलाई “धन्य हौ” भन।
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।
सम्पूर्ण मानिसहरूले परमेश्वरको बारेमा जान्नेछन्
65 परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरें जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’
2 “म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे। 3 ती मानिसहरू मसित छन अनि मलाई सधैँ रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्। 4 ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुँगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्। 5 तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारून्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”
इस्राएल दण्डित हुनै पर्छ
6 “हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउँछ। यो हिसाब नतिरून्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु। 7 तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”
8 परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन। 9 म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ। 10 तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।
11 “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ। 12 तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
13 यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:
“मेरा दासहरूले खानेछन्।
तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ।
मेरा दासहरूले पिउनेछन्
तर दुष्ट मानिसहरू तिर्खाउनेछन्।
मेरा दासहरू खुशी हुनेछन्,
तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।
14 मेरा दासहरू आनन्दले खुशी हुनेछन्,
तर दुष्ट मानिसहरू दु:खले रूनेछन्।
तिमीहरूका आत्माहरू टुटेका छन्
अनि तिमीहरू दु:खी छौ।
15 तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।
परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ,
अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले बोलाउनु हुन्छ।
16 अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्।
तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ,
उहाँको नाउँमा आशीर्वाद दिनेछन्।
मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्,
तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्।
किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ।
मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।”
नयाँ समय आइरहेछ
17 “म नयाँ आकाश र पृथ्वी बनाउनेछु।
मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्।
तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।
18 मेरा मानिसहरू खुशी हुनेछन्।
तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्।
किनभने म नै बनाउनेछु,
म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु,
अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।
19 “तब म यरूशलेमसँग आनन्दित हुनेछु।
म मेरा मानिसहरूसँग खुशी हुनेछु।
त्यहाँ फेरि कहिल्यै पनि कोलाहल,
र कष्ट हुनेछैन्।
20 त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन,
जुन जन्मेर केही दिन मात्र बाँच्दछ।
त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन।
प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ,
अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ।
सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ।
अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन,
उसलाई श्रापित भएको ठानिन्छ।
21 “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने,
त्यो मानिस त्यहीं बस्नेछ।
यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने,
त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।
22 कहिल्यै पनि एकजनाले घर बनाउने छैन,
अनि अर्को मानिस त्यसमा बस्ने छैन्।
कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन
अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्।
मेरा मानिसहरू रूखहरू बाँचुन्जेल सम्म बाँच्नेछन्।
मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।
23 स्त्रीहरू मरेका नानी जन्माउँनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्।
स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्।
मेरा सारा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।
24 तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु।
अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
25 ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्।
सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्।
मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने
अनि चोट पुर्याउनेछैन्।”
परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ
(मर्कूस 4:1-9; लूका 8:4-8)
13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। 2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। 3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:
“कोही किसान बीऊ छर्नलाई निस्क्यो। 4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। 5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। 6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। 7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। 8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। 9 ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”
येशूले सिकाउनलाई उखान भन्नु भएको
(मर्कूस 4:10-12; लूका 8:9-10)
10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। 13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। 14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:
‘तिमीहरू सुन्न त सुन्छौ,
तर बुझ्दैनौ।
तिमीहरू हेर्न त हेर्छौ,
तर देख्न सक्दैनौ।
15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।
यस्तो भएको छ त्यसकारण तिनीहरूले
आफ्ना आँखाले देख्दैनन्,
आफ्ना कानले सुन्दैनन्,
तिनीहरूका हृदयले बुझ्दैनन्,
हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए,
अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’(A)
16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। 17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
बीऊ छर्नेको उखानको व्याख्या
(मर्कूस 4:13-20; लूका 8:11-15)
18 “अब किसानको बारेमा उखान सुन:
19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। 21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
गहूँ र सामाको उखान
24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, 25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। 26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, 27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’
“चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। 30 फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’”
अरू केही उखानहरू
(मर्कूस 4:30-34; लूका 13:18-21)
31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”
34 येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन। 35 अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो:
“म उखान मार्फत तिमीहरूसँग बोल्छु;
उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”(B)
येशू कठिन उखानको व्यख्या गर्नुहुन्छ
36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”
37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। 38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। 39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।
40 “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। 42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। 43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
गाड़धन र मोतीको उखान
44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। 46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
माछामार्ने जालको उखान
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। 48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। 49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। 50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।”
51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?”
तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”
52 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
येशू आफ्नो शहर जानुहुन्छ
(मर्कूस 6:1-6; लूका 4:16-30)
53 यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो। 54 येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए? 55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्। 56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” 57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” 58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
© 2004, 2010 Bible League International