M’Cheyne Bible Reading Plan
मानिसहरूलाई स्मरण गराउने ढुङ्गाहरू
4 सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो, 2 “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान। 3 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूले बोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए। 5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक। 6 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनी सोध्नेछन् 7 तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
8 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए। 9 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए। 11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
12 रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए। 13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।
14 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
15 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो, 16 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश देऊ।”
17 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोडे, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए। 20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे। 21 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ 22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ। 23 परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’ 24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए।
इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए
तर तिनीहरूले कहिल्यै जितेनन्।
3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे।
धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
4 तर परमप्रभुले डोरीहरू काटीदिनु भयो।
अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्।
तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए।
ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे।
7 घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन।
एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्,
“परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।”
मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्,
“हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
यसैकारण म तपाईंलाई गुहार मान्छु।
2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
मेरो गुहार प्रति ध्यान दिनु होस्।
3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
कुनै मानिस पनि जिउँदो हुने थिएन।
4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
मेरो आत्माले उहाँलाई पर्खिन्छ,
परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
6 म मेरो स्वामीलाई पर्खिरहेछु।
म एकजना पहरेदार जस्तै छु,
जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
8 अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
यात्रा स्तुतिगान, दाऊदको भजन।
1 हे परमप्रभु, म अहङ्काकारी छैन।
म आफूलाई महत्व दिने काम गर्दिनँ।
म महानकार्य गर्ने कोशिश गर्दिनँ
म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
2 म चुपचाप छु, मेरो प्राण शान्त छ।
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
मेरो प्राण चुपचाप र शान्त छ।
3 हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर।
उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।
64 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने
प्रत्येक कुराहरू परिवर्तित हुने थियो।
पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
2 पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए।
पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए।
तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए।
तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।
3 जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ,
पर्वतहरू तपाईं अघि पग्लन्छन्।
4 तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्।
तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्।
कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्।
तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्।
यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए,
तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।
5 तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे।
ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्।
तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ।
यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो।
अब हामीहरू कसरी बचाइन सक्नेछौं?
6 हामी सबै पापले अशुद्ध भएका छौं।
हाम्रा असल कामहरू पनि शुद्ध छैनन्।
तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्।
हामी ओइलएर झरेका पातहरू झैं छौं।
हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।
7 हामी तपाईंलाई पूज्दैनौं।
हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं।
हामी तपाईंलाई अनुशरण गर्न उत्साहित हुँदैनौं।
यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ।
हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
8 तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ।
हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ।
तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।
9 परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस्।
हाम्रा पापहरूलाई सधैँ ध्यानमा नराखी भुलि दिनु होस्।
दया गरेर हामीमाथि हेर्नुहोस्
हामी तपाईंका मानिसहरू हौं।
10 तपाईंका पवित्र शहरहरू रित्तो छन्।
ती शहरहरू उजाड र निर्जन छन्।
सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे।
हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो।
हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।
12 के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ?
के तपाईं सधैँ चूपचाप बस्नु हुन्छ?
के तपाईं हामीलाई सधैँ दण्ड दिनुहुन्छ?
यहूदीहरूद्वारा येशूको आलोचना
(मर्कूस 2:23-28; लूका 6:1-5)
12 त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 4 दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 6 म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
8 “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
येशूले विश्राम दिनमा निको पार्नु भयो
(मर्कूस 3:1-6; लूका 6:6-11)
9 येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
येशू परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
15 फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। 17 येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
18 “यहाँ मेरो दास छ,
मैले उसलाई चुनेको हुँ।
म उसलाई प्रेम गर्छु
अनि म उसित खुशी छु।
म मेरो आत्मा उसमा हालिदिनेछु,
अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;
उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
20 उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन।
उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन।
उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।
21 सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”(B)
परमेश्वरद्वारा येशूको शक्ति
(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)
22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।
31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ
(लूका 6:43-45)
33 “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 34 ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 35 असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 36 यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज
(मर्कूस 8:11-12; लूका 11:29-32)
38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”
39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
दुष्ट आत्माले भरिएका आजका मानिसहरू
(लूका 11:24-26)
43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
© 2004, 2010 Bible League International