Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 17

बलिमा असल पशुहरू मात्र चढाऊ

17 “कुनै गोरू अथवा भेंडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।

मूर्ति पूजा गर्नेहरूलाई दण्ड

“सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्। तिनीहरूले अरू देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो। यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ। तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ। तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुइ अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ। ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।

अदालतको अप्ठेरा निर्णयहरू

“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडा़मा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ। तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्। 10 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ। 11 तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देशन मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

12 “यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेट्नु पर्छ, त्यो मर्नु पर्छ। 13 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

राजाको चुनाव र कर्त्तव्य

14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’ 15 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ। 16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’ 17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।

18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ। 19 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ। 20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।

भजनसंग्रह 104

हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
    हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
    तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
    परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो,
    अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढ्नुभयो।
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
    यसैले यो ध्वंश हुने छैन।
तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो।
    पानीले पर्वतहरू छोपीए।
तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो।
    परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खाडीहरूमा झर्दै,
    र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
    ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।

10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
    यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11 नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो
    अनि यहाँसम्म कि जंङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्।
12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्।
    तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13 परमेश्वरले बर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
    चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
    उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो।
    जसलाई हामी हुर्काउने काम गछौं।
    ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15 परमेश्वरले हामीलाई दाखरस दिनुहुन्छ, जसले हामीलाई खुशी तुल्याउँछ,
    तेल जसले हाम्रो छाला नरम पार्दछ,
    अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।

16 लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
    परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
    सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18 उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्।
    विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।

19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
    अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
    त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन
    जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
    अनि विश्राम गर्दछन्।
23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
    अनि साँझ सम्म काम गरि रहन्छन्।

24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
    पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
    हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
    अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
    त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
    लिब्यातान समुद्रमा खेल्छ।
    महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।

27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
    तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
    तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
    अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
    तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
    अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
    अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।

31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
    उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
    उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।

33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
    जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
    म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
    दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।

मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
    परमप्रभुको प्रशंसा गर!

यशैया 44

परमप्रभु नै केवल परमेश्वर हुनुहुन्छ

44 “याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्। म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।

“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ। तिनीहरू संसारका मानिसहरूका माझमा बढ़नेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढ़ने रूखहरू जस्ता हुनेछन्।

“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ। यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।

“तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

झूटा देवताहरू व्यर्थका छन्

केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन्—तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।

10 कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए? 11 कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।

12 एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।

13 अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।

14 मानिसले धुपी, देवदारहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफैं उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, बर्षाले ती रूख उमार्दछ।

15 त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्। 16 मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउन्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।” 17 तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। ऊ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”

18 ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्। 19 ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”

20 त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। ऊ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”

परमप्रभु, सत्य परमेश्वरले, इस्राएललाई साथ दिनुहुन्छ

21 “याकूब, यी कुराहरू याद राख।
    इस्राएल, याद राख, तिमी मेरो सेवक हौ।
मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ,
    यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
22 तिम्रो पापहरू ठूलो बादल जस्ता थिए
    तर मैले ती पापहरू पखालिदिएँ।
तिम्रा पापहरू मेटिएर गए,
    जसरी बादल पातलो हावामा हराउँदछ।
मैले तिमीलाई जोगाएँ,
    अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”

23 आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो।
    पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म।
पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्।
    जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्।
किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो।
    परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।
24 परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ।
    परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाको गर्भभित्रै थियौ।
परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो।
    म स्वयंले आकाश राखें।
    मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”

25 झूटा अगमवक्ताहरूले झूटो बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन् भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ। 26 परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।

परमेश्वरले यहूदा पुन:निर्माण गर्नलाई कोरेस छान्नु हुन्छ

परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।”
परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।”
    परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए,
    “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
27 परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्।
    म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”
28 परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला हौ,
    तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु।
तिमीले यरूशलेमलाई भन्नेछौ, ‘तिमी पुनःनिर्माण हुनेछौ।’
    तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुनःनिर्माण हुनेछ।’”

प्रकाश 14

मुक्त व्यक्तिको गीत

14 त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।

यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए। यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए।

तीन स्वर्गदूतहरू

तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुशरण गर्यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ। 10 त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ। 11 अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।” 12 यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।

13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।”

आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”

पृथ्वीको फसल

14 मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया। 15 तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।” 16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।

17 तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो। 18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अंङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरू पाकेका छन्।” 19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए। 20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International