M’Cheyne Bible Reading Plan
सधैँ परमेश्वरलाई प्रेम गर र उहाँको आज्ञा पालन गर
6 “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर। 2 सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ। 3 हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।
4 “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। 5 तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। 6 आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। 7 जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं। 8 मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख 9 तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
10 “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। 11 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।
12 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो। 13 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ। 14 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन। 15 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
16 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन। 17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ। 18 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ। 19 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।
परमप्रभुले जस्तै आफ्ना नानीहरूलाई शिक्षा देऊ
20 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ 21 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो। 22 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं। 23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो। 24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ। 25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले यसो भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’
एज्री एथानबाट “मस्किल” भन्ने भजन।
1 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
2 हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
तपाईंको विश्वास आकाश झैं व्यापक छ।
3 परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
मैले मेरो दास दाऊदसँग कसम खाएँ।
4 ‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”
5 हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ।
जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
6 स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
7 परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ।
ती सबै स्वर्गदूतहरू उहाँका हुन्।
तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
8 हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
9 तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो।
11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
तपाईंको शक्ति महान् छ,
विजय तपाईंकै हो।
14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।
27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।
ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।
तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
29 उनका परिवारहरू अनवरत रहने छन्
जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,
म तिनीहरूलाई दण्ड दिनेछु।
31 यदि छानिएका राजाका भावी सन्तानहरूले
मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,
32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।
म तिनीहरूका दुष्ट-कर्मको सजाय कोर्राले दिनेछु।
33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।
म तिनीहरू प्रति सधैँ विश्वासी रहने छु।
34 म दाऊदसँग भएको करार तोड्ने छैन।
म मेरो करार-वचन परिणत गर्नेछैन।
35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु
अनि म दाऊद प्रति झूटो हुने छैन।
36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।
तिनीहरू हुन्जेल उनिहरूको राज्य रहने छ।
37 जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,
त्यो करारमा भरोसा गर्न सकिन्छ।”
38 तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो।
अनि उनलाई एक्लै छाडी दिनु भयो।
39 तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ।
तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो।
40 तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो।
उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो।
41 त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे।
उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे।
42 तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो।
तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो।
43 परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो।
तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन।
44 तपाईंले उनलाई जित्न दिनु भएन।
तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।
45 तपाईंले उनको उमेर घटाई दिनु भयो
तपाईंले उनलाई लज्जित पार्नुभयो।
46 हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो?
के तपाईंले हामीलाई सधैँ उपेक्षा गर्नुहुन्छ?
के तपाईंको क्रोध आगो जस्तो सधैँ बल्ने हो?
47 याद गर्नुहोस् मेरो जीवन कति छोटो छः
तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो।
48 कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन,
कोही पनि चिहानबाट भाग्न पाउने छैन।
49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ?
तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो।
50-51 हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे।
हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो।
ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे।
52 परमप्रभुको सदा-सर्वदा प्रशंसा गर।
आमेन! आमेन!
परमेश्वरले आफ्नो शत्रुहरूलाई दण्ड दिनुहुन्छ
34 सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ। 2 परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ। 3 तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ। 4 आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्। 5 परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्पत् हुन्छ।”
हेर! परमप्रभुको तरवारले एदोमलाई काट्नेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ। 6 किनभने परमप्रभुलाई भेंडा़ र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ। 7 यसकारण भेंडा़हरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।
8 ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले बर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ। 9 एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ। 10 दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा-सर्वदाको लागि नष्ट हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्। 11 चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरुभूमि” भनिनेछ। 12 त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।
13 ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्। 14 जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ। 15 सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।
16 परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ। 17 तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैँका लागि बस्नेछन्।
यूहन्नाले स्वर्ग देखे
4 तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।” 2 तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। 3 उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। 5 सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। 6 सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।
सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। 7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। 8 यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:
“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
9 यी सजीव वस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्, 10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:
11 “हाम्रा परमप्रभु अनि परमेश्वर!
तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ।
तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो।
हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”
© 2004, 2010 Bible League International