Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 4

मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्

“अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।

“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ। यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’

“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ। 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ 11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो। 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।

15 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो। 16 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ। 17 पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ। 18 भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौड़नें प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ। 19 अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोड़दिनु भएको छ। 20 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

21 “तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो। 22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ। 23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ। 24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

25 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ। 26 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ। 27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ। 28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्। 29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ। 30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ। 31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।

परमप्रभुले गर्नु भएका महान कार्यहरूको स्मरण गर

32 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन! 33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन। 34 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ। 35 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन। 36 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो। 38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।

39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। 40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

मोशा सुरक्षाका शहरहरू रोजछन्

41 यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो 42 यदि कुनै मानिसले अन्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो। 43 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

मोशाको व्यवस्थाको परिचय

44 मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए। 45 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए। 46 जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए। 47 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे। 48 यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।) 49 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पर्थ्यो।

भजनसंग्रह 86-87

दाऊदको प्रार्थना।

म दरिद्र र असहाय मानिस हुँ।
    हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
    म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
    मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
    म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
    मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
    तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
    कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
    म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
    तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
    तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
    तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
    तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
    अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
    तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
    मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
    तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
    निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
    तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
    म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
    म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
    मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
    त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।

परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
    परमप्रभुले इस्राएलका अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मनपराउनु हुन्छ।

परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
    ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।
    ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
परमेश्वरले सियोनमा जन्मेका
    प्रत्येक मानिसलाई चिन्नु हुन्छ।
    सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
    तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।

परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्,
र सुखी छन्, तिनीहरू गाइरहेछन् र नाचिरहेछन्,
    तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”

यशैया 32

अगुवाहरू असल र शिष्ट हुनु पर्छ

32 यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ। यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ। मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्। मानिसहरू जो अहिले अन्यौलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्। मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।

मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्। त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।

तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउँदैछ।

कठिन समय

तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ। 10 तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक बर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किनभने तिमीहरूले आउने बर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।

11 स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर। 12 ती शोकमा लगाउने लुगाहरू आफ्ना दु:खहरूले भरिएका छातीमा लगाऊ। डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्। 13 मेरा मानिसका जमीनका लागि डाँको छोडेर रोऊ। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।

14 मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोड्नेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेंडा़हरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।

15 जब परमप्रभुले माथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरुभूमि सरह भएको छ। 16 तर भविष्यमा त्यो मरुभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ। त्यहाँ धार्मिकता हुनेछ। 17 त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्। 18 मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।

19 तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ। 20 तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।

प्रकाश 2

एफिसस को मण्डलीलाई येशूको पत्र

“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः

“तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।

“मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ। तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

“तर तिमीहरूको विरुद्ध मसँग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ। यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु। तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले[a] गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

“ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

स्पर्नाको मण्डलीलाई येशूको पत्र

“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

“मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। 10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

पर्गाममको मण्डलीलाई येशूको पत्र

12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।

14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए। 15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। 16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।

17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।

“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

थिआटीराको मण्डलीलाई येशूको पत्र

18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

19 “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ। 20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। 21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन।

22 “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुशरण गर्न नछोडे। 23 म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।

24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन। 25 म नआएसम्म तिमीहरू यही तरीकामा बस।

26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु 27 उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ।[b] 28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु। 29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International