M’Cheyne Bible Reading Plan
बाशानका मानिसहरूसित लडाइँ
3 “त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए। 2 परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’
3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। 4 त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं। 5 यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए। 6 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं। 7 तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।
8 “यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं। 9 (हर्मोनलाई सीदोनीहरूले सिर्योन र एमोरीहरूले सनीर भन्छन्।) 10 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”
11 (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)
यर्दन नदीको पूर्व भूमि
12 “यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्। 13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”
(बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो 14 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोबको सम्पूर्ण क्षेत्र गशूरी र मकाती मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बात याईर भनेर जान्न सकिन्छ।)
15 “मैले गिलाद माकीरलाई दिएँ। 16 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो। 17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।
18 “त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ। 19 मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्। 20 तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउन्जेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’
21 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुइ राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ। 22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’
मोशालाई कनान जाने अनुमति दिइएन
23 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें, 24 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्। 25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
26 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर। 27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ। 28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’
29 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।
1 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
2 हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!
3 हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
पागल नबन्नु होस्।
4 हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
5 के तपाई हामीसँग सधैँ क्रोधित हुनुहुन्छ?
के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ?
6 दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्!
तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
7 हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्।
हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।
8 उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
इस्राएल परमेश्वरको शक्तिमा आश्रित हुनपर्छ
31 मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परम-पवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभुसँग सहायता माग्दैनन्। 2 तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका बिरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठ्नु हुनेछ र दुष्ट मानिसहरूका बिरूद्ध लड्नु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लड्नु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।
3 मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरूसँगै नाश हुनेछन्।
4 परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैनन्। यदि मानिसहरू आएर कराए पनि सिंह डराउँदैन। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”
यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाईँ गर्नु हुनेछ। 5 चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।
6 इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ। 7 तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाड्नेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।
8 यो साँच्चो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ। 9 तिनीहरूका सुरक्षाको ठाउँ नष्ट हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।
परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।
यूहन्ना यस पुस्तकको विषयमा भन्छन्
1 यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। 2 यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो। 3 त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।
यूहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्
4 यहून्नाबाट,
एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:
अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा 5 अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। 6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।
7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा[a] हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
9 म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। 10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। 11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। 13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।
17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्। 19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। 20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”
© 2004, 2010 Bible League International