Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 2

इस्राएलीहरू मरुभूमिमा घुमी हिँडे

“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरुभूमिमा गयौं। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं। तब परमप्रभुले मलाई भन्नुभयो, ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ। मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस। तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु। तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ। यो विशाल मरुभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस बर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयौं। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरुभूमितिर जाने बाटो लाग्यौं।

आरमा इस्राएलीहरू

“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’”

10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए। 11 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे। 12 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।)

13 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं। 14 जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 बर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे। 15 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

16 “योद्धाहरू मरेपछि, 17 परमप्रभुले मलाई भन्नुभयो, 18 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ। 19 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।’”

20 (त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्थे। 21 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्। 22 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्। 23 कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।)

अम्मोरीहरूको पराजय

24 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडाइँ गरेर त्यो भूमि अधिनमा पार। 25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’

26 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फत् पठाएँ। तिनीहरूले भने, 27 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं। 28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं। 29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिँड्नु देऊ।’

30 “तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

31 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’

32 “जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए। 33 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए। 34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं। 35 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों। 36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिक्न सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो। 37 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।

भजनसंग्रह 83-84

आसापले रचेको एउटा स्तुतिगान।

हे परमेश्वर, चुपचाप नबस्नुहोस्!
    तपाईंको कानहरू नथुन्नु होस्,
    कृपया केही त भन्नु होस्, परमेश्वर।
परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन्
    अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
    तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वष्त गरीदिउँ।
    तब कसैले पनि ‘इस्राएलको’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
    तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई,
    जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6-7 ती शत्रुहरू हामीसँग लड्नलाई एकजुट भएका छन्,
प्रदोम, इश्माएली मानिसहरू, मोआब
    अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू,
एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह।
    ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
    तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्,
    सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
    अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्।
    जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
    तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13 तिनीहरूलाई हावाले उडाएर लैजाने मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस्,
    हावाले पराललाई छिन्न-भिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14 जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्।
    डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
    हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने थाहा होस्।
    त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
    तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।
    तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन्,
तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्।
    सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।

हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।
    म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
    चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन्
    अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।
    तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।

मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्,
    तिनीहरू धेरै खुशी छन्।
तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,
    जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
    शरद ऋतुको बर्षाले ताल बनिन्छ।
ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
    जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।

हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
    हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।

हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
    तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
    अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
    बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
    परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
    उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
    मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

यशैया 30

इस्राएलले परमेश्वरमा विश्वास गर्नुपर्छ, मिश्रलाई होइन

30 परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्। ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन् कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।

“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्। तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए। तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”

यहूदालाई परमेश्वरको सन्देश

नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो।

यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यूँमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन। त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”

अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट भविष्यमा साक्षी बनिनेछ।

यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्। 10 तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर। 11 ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परम-पवित्रको बारेमा भन्न छोड।”

परमेश्वरबाट मात्र यहूदालाई सहायता आउँदछ

12 इस्राएलका परम-पवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ। 13 तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू चर्किएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ। 14 तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”

15 परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”

तर तिमीहरू त्यसो गर्न चाँहदैनौ। 16 तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ। 17 एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।

परमेश्वरले आफ्ना मानिसहरूलाई सहयोग गर्नुहुन्छ

18 परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।

19 परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।

20 अतीतमा, मेरो मालिकले तिमीहरूलाई दु:ख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ। 21 तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”

22 तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिङ्गर जस्तै टाढा फाली दिनेछौ।

23 त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति बर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ। 24 तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ। 25 प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भन्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।

26 त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

27 हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ। 28 परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिन्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चाले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।

29 त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।

30 परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई बिवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति बर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ। 31 परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउँनु हुनेछ। 32 परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।

33 धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौंडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउने छ अनि यो बल्नेछ।

यहूदा

येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट।

ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।

खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ

प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो। कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक्क पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्। अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्नु भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्नु भयो। सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।

ती तिमीहरूका दलमा पस्ने मानिसहरू पनि त्यही अनुशरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैंलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्। प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसँग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”

10 तर यी मानिसहरू जुन कुराहरू आफैंले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्। 11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।

12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरू पूर्णरुपले मर्छन्। 13 तिनीहरू समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरूले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरूको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

14 आदमका सातौं सन्तान हनोकले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं-हजार पवित्र दूतहरूसँग आउँनु हुँदैछ। 15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जम्मै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अरूको त्रुटि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

चेतावनी अनि कर्त्तव्य

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। 18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” 19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।

20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। 21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।

22 जो मानिसहरू सन्देह गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बचाँउनु आवश्यक छ। 23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

परमेश्वरको स्तुति गर

24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। 25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International