M’Cheyne Bible Reading Plan
मोशा इस्राएलीहरू सँग कुरा गर्नुहुन्छ
1 जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
2 सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ। 3 तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस बर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं बर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने। 4 परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो। 5 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
6 “होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ। 7 अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ। 8 हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’”
मोशा अगुवाहरू छान्छन्
9 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ। 10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ। 11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्। 12 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडा़हरू समाधान गर्न असमर्थ छु। 13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
14 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’
15 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।
16 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडा़मा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा़ इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्। 17 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडा़को विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’ 18 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
कनानमा जासूसहरू जान्छन्
19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बर्नेमा पुग्यों। 20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ। 21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
22 “तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुन-कुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
23 “तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें। 24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे। 25 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ। 27 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो। 28 अब हामी कहाँ जान सक्छौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् “त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।”’
29 “यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ। 30 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ। 31 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’
32 “तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ। 33 जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
मानिसहरूलाई कनान जान दिइएन
34 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, 35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन। 36 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ। 38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’ 39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्। 40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’
41 “तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’
“तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं। 42 तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन, किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’
43 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ। 44 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे। 45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन। 46 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।
प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2 संगीत प्रारम्भ गर।
खैंजडीहरू बजाऊ।
सुरमय वीणा बजाऊ।
3 जब हाम्रो विश्राम शुरू हुन्छ।
पूर्णिमा लागेको बेला तुरही फुक,
औंसी परेको बेला नरसिङ्ग फुक।
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
7 तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
त्यहींबाट मैले जवाफ दिएँ,
मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
9 कुनै पनि कृत्रिम देवताहरू नमान
जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
अनि म खुवाउने छु।
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”
आसापको एउटा भजन।
1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।
उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?
कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर।
ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।
दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ।
5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।
तिनीहरू बुझ्दैनन्!
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्,
तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
6 म सर्वशक्तिमान परमेश्वर भन्दछु,
“तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
7 तर तिमीहरू मर्नेछौ
जसरी अन्य अगुवाहरू मर्दछन्।”
8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्।
तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
यरूशलेमसित परमेश्वरको प्रेम
29 परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। त्यहाँ बार्षिक चाड़हरू र उत्सवहरू भइरहन्थ्यो। 2 तर म अरीएललाई दण्ड दिन्छु। म त्यो शहरलाई दु:ख र विलापले परिपूर्ण पर्ने छु। तर सधैँ मेरी अरीएल भईरहनेछे।
3 “अरीएल मैले तिम्रो वरिपरि सैनिकहरू तैनाथ पारें र राखें। मैले तिम्रो विरूद्ध विशाल युद्ध आह्वान गरें तिमी पराजित भयौ। 4 अनि भूईंमा ढल्यौ। अब, म भूईंबाट प्रेतको आवाज जस्तो तिम्रो आवाज सुन्दछु तिम्रो शब्दहरू मैलाबाट आउने सुक्खा आवाज जस्तो छ।”
5 त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उड्ने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्। 6 सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भूवँरी, आँधी-बेहरी र आगो थिए, जसले जलाउँछन अनि नष्ट पार्छ। 7 धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे। 8 तर यो पनि सैनिकहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्यूँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्यूँझन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।
9 आश्चर्यचकित र छक्क पर!
तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
10 परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ।
परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।)
परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ। (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।)
11 यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढ्न सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढ्नु भन। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढ्न सक्तिनँ, यो बन्दछ र म खोल्न सक्तिनँ” 12 अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढ्न सक्दैन्। अनि त्यस मानिसलाई पढ भनेर भन। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढ्न सक्तिन किनभने म पढ्न जान्दिनँ।”
13 मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्। 14 यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”
15 ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्न्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अँध्यारोमा गर्नेछन्, तिनीहरूले आफैंलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”
16 तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”
उत्तम समय आइरहेछ
17 यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लबानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्। 18 बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ। 19 परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दु:खी मानिसहरूले इस्राएलको परम-पवित्रतामा आनन्द मानाउनेछन्।
20 दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नराम्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ। 21 (ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउनँ खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।)
22 यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उही परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लज्जित र व्याकुल हुनेछैन् न त तिनीहरूको अनुहार पहेंलो हुनेछ। 23 उसले आफ्नो छोरा-छोरीहरू देख्नेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटा-केटीहरूले इस्राएलका परमेश्वरलाई मान्ने छन्। 24 धेरै जना मानिसहरूले बुझेनन् यसैले तिनीहरूले गल्ती कामहरू गरे। ती मानिसहरूले बुझेनन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”
1 अग्रजबाट अभिवादन!
मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्। 3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुशरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो। 4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ। 6 यी भाइहरूले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्। 7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। 8 यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बर्न्छौं।
9 मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ। 10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ।
11 मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
12 सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौं त्यो सत्य हो।
13 मेरो तिमीहरूलाई धैरे कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ। 14 म तिमीहरूसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।
15 तिमीहरूमा शान्ति रहोस्। यहाँ भएका साथीहरूले तिमीहरूलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरू हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु।
© 2004, 2010 Bible League International