M’Cheyne Bible Reading Plan
मिश्रदेशबाट इस्राएलीहरूको यात्रा
33 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्। 2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे। 4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे। 6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले। 7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यहीं छाउनी बसाले।
10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले।
12 ती मानिसहरूले सीन मरुभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
13 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
14 ती मानिसहरूले आलूशबाट यात्रा गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले।
16 ती मानिसहरूले सीनै मरुभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
17 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
18 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
19 ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
20 ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
21 ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
22 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
25 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
26 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
27 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
28 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
29 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
31 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
33 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
34 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
35 ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
36 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरुभूमिको कादेशमा छाउनी हाले।
37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो। 38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस बर्ष पुगेको थियो। 39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 बर्ष भएको थियो।
40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने। 41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
42 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
43 ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
45 ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
47 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले। 49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
50 यरीहोको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, 51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, 52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेद्नु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ। 53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ। 54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ-जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्। 56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
आसापको “मस्किल” भन्ने भजन।
1 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
मैले भनेका कुराहरूमा ध्यान देऊ।
2 म तिमीहरूलाई यो कथा भन्ने छु।
म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3 हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं।
हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
परमेश्वरले इस्राएल लाई नियम दिनुभयो।
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो।
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि,
ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6 अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन्
र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्।
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्।
तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका,
आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए,
र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए।
तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।
9 एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए,
तर तिनीहरू युद्धभूमिबाट भागे।
10 तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्।
तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
11 एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले।
तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
12 परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा,
आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
13 परमेश्वरले लाल समुद्रलाई चिर्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो।
पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
14 प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो।
अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
15 परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो।
जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
16 परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह
चट्टानबाट ल्याउनु भयो!
17 तर मानिसहरूले उहाँकै विरूद्ध लगातार पाप गरिरहे।
मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्ने फैसला गरे,
र तिनीहरूले परमेश्वरलाई खाना मागे।
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
“के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो,
तेजले पानी बाहिर आयो, र खोलाहरू बढेर आए।
निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो।
इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
तिनीहरू समुद्रको बालुवा जस्तै थिए।
28 ती मानिसहरूका छाउनीका वरिपरि
र छाउनीको माझमा चराहरू झरे।
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
30 तिनीहरूले आफ्नो भोक खप्न सकेनन्।
यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
31 परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो,
अनि ती मध्ये धेरै जनालाई मार्नु भयो।
परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
32 तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे!
परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
33 यसकारण तिनीहरूको जीवन,
महा-विपदसँग समाप्त पारिदिनु भयो।
34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू,
उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे।
35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ।
तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
36 तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले।
तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्।
37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन।
तिनीहरू करार[a] सँग आज्ञाकारी थिएनन्।
परमेश्वरप्रति स्तुति-गान
25 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्।
त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
2 तपाईंले शहर नष्ट पार्नु भयो।
यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।
3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए,
तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति,
तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।
पानी पर्खालको विरोधमा प्रचण्ड बढछ।
तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
5 शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्।
शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।
गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ।
त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ,
भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज
6 त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। 8 तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
9 त्यसबेला, मानिसहरूले भन्नेछन्,
“उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
हामी आनन्दित र खुशी हुनेछौं।”
10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ।
अनि मोआब परास्त हुनेछ।
परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ।
यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ
जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ।
तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ।
अनि ती चीजहरू फालि दिनुहुनेछ।
12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू
अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ।
परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।
हामी परमेश्वरका बालकहरू हौं
3 हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरू भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरू हौं। तर संसारका मानिसहरू यो बुझ्दैनन् कि हामीहरू परमेश्वरका बालकहरू हौं, किनभने तिनीहरूले उहाँलाई चिनेका छैनन्। 2 प्रिय मित्रहरू, अब हामी परमेश्वरका बालकहरू हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं। 3 ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।
4 जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो। 5 तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरूको पापहरू हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन। 6 यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।
7 प्यारा बालकहरू, कुनै व्यक्तिले पनि तिमीहरूलाई छल्न नपाओस्। ख्रीष्ट धार्मिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुशरण गर्नुपर्छ। 8 शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरू नष्ट गर्नु हो।
9 जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ। 10 यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
हामीले एक अर्कामा प्रेम गर्नुपर्छ
11 यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ। 12 कयिन[a] जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो।
13 भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, आश्चर्यचकित नबन। 14 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ। 15 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।
16 साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। 17 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? 18 मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।
19-20 त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।
21 मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्तसना भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौं। 22 अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ। 23 यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो। 24 मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।
© 2004, 2010 Bible League International