M’Cheyne Bible Reading Plan
भाकल गर्दा मान्नु पर्ने विधिहरू
30 मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्;
2 “जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।
3 “तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए। 4 र उसको बाबुले सुनेर पनि केही आपत्ति नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नैपर्छ। 5 तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।
6 “अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा गरिन् भने। 7 अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू पुरा गर्नु पर्छ। 8 तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।
9 “विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।
10 “तर कुनै विवाह भएकी स्त्रीले आफ्नो पतिको घरमा आएर भाकल गर्छे वा वाचा बन्धन खान्छे 11 अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ। 12 तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ। 13 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ। 14 यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोग्नेले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पूरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन। 15 तर पत्नीले गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”
16 पति-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।
आसापको “मस्किल” भन्ने भजन।
1 हे परमेश्वर, के तपाईंले हामीलाई सधैँको निम्ति त्याग्नु हुन्छ?
के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
2 तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्।
तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ।
जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
3 परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्,
पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
4 शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
5 शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
6 हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
7 ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो
तिनीहरूले त्यो मन्दिर भूईँमा लडाए।
8 शत्रुले हामीलाई पूर्ण रूपले तहस्-नहस् पार्ने निर्णय गरे,
तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
9 हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं।
अब त्यहाँ अगमवक्ताहरू छैनन्।
के गर्नु पर्ने कसैले जान्दैनन्।
10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ?
11 हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ?
तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।
13 हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो,
समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो,
तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्!
तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
20 हाम्रो करार याद गर्नुहोस्!
यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।
21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो।
तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्।
दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।
22 हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्!
सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,
तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।
यरूशलेमलाई परमेश्वरको सन्देश
22 दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश:
हे यरूशलेम तिमीलाई के भयो?
किन तिनीहरू माथिको तलामा लुकिरहेछौ?
2 विगतमा, यो शहर अत्यन्त खुशी थियो।
यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो।
तर, अहिले स्थिति परिवर्तन भयो।
तिमीहरूका मानिसहरू मारिए
तर तरवारहरूले होइन्।
मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।
तर तिनीहरू सबै नै पक्राउ परे।
अनि तिनीहरूसित धनुष थिएनन्।
सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे।
4 यसकारण म भन्छु, “मलाई नहेर!
मलाई चिच्याउन देऊ!
यरूशलेम नष्ट भई सकेपछि
मलाई सान्त्वना दिन अघि नबढ।”
5 परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। 6 एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। 7 सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। 8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।
9-11 दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।
तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। 12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
13 तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,
“गाईहरू अनि भेंडा़हरू मार,
आऊ अनि खुशी मनाउँ,
खाऊ अनि पिऊ,
किनभने भोलि हामी मर्नेछौं।”
14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।
शेब्नालाई परमेश्वरको सन्देश
15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। 16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
17-18 “हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”
परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। 19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ। 20 त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो। 21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।
22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। 23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। 24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।
25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।
येशू फेरि आउनु हुनेछ
3 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें। 2 धेरै अघि पवित्र अगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उद्धारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो। 3 तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्। 4 ती मानिसहरूले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” 5 तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। 6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। 7 अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।
8 यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। 9 जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। 11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। 12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। 13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। 15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो। 16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। 18 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
© 2004, 2010 Bible League International