M’Cheyne Bible Reading Plan
दैनिक बलिहरू
28 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगोद्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ। 3 अनि तिनीहरूलाई भन: प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ। 4 एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउँनु पर्छ। 5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।” 6 (परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।) 7 “एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ। 8 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।
विश्राम का बलिहरू
9 “विश्रामको दिनमा पनि एक बर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ। 10 नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”
मासिक बैठक
11 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक बर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ। 12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेंडासित तेलले मुछेको एपको दश खण्डको दुइ खण्ड अन्नबलिको निम्ति र 13 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ। 14 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेंडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। बर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो। 15 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
निस्तारका चाड
16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ। 17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ। 18 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन। 19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ। 20 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, 21 र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ। 22 तिनीहरूलाई प्रयाश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ। 23 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
24 “यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
सातौं दिनका चाडहरू (पेन्तिकोस)
26 “अगौटे फलहरूको दिनहरूमा, सातौं दिनका चाड़हरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन। 27 तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू होमबलि चढाउनु पर्छ। 28 प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, 29 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ। 30 तिमीहरूको प्रयाश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु। 31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
सुलेमानको भजन।
1 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
मिश्र देशलाई परमेश्वरको सन्देश
19 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा़ गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाईँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाईँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्। 3 मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।” 4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।”
5 नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ। 6 सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ। 7 सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।
8 जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ। 9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दु:खी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्। 10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दु:खी हुनेछन्।
11 सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका “सल्लाहकारहरूले” भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्। 12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्?
13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे। 14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भड्के र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्। 15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। (ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”)
16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्। 17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू तर्सिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घट्ना घटोस, भनेर योजना गर्नु भएको हो। 18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”[a] हुनेछ।
मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुशरण गर्ने प्रतिज्ञा गर्नेछन्। 19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ। 20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।
21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। 22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
23 त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। 24 त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ। 25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
अश्शूरले मिश्र र कूशलाई पराजित गर्नेछ
20 सर्गोन अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे। 2 त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
3 तब परमप्रभले भन्नुभयो, “यशैया तीन बर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिँड। यो मिश्र र कूशदेशको चिह्न हो। 4 अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्। 5 मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”
6 समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौं, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”
1 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।
तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।
हामीलाई चाहिएका हरेक चीज परमेश्वरले प्रदान गर्नु भएको छ
3 येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। 4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।
5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। 6 अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।
7 अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। 8 यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। 9 तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।
10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। 11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु। 13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।
14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ। 15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।
हामीले ख्रीष्टको महिमा देख्यौं
16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” 18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी[a] कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।
© 2004, 2010 Bible League International