M’Cheyne Bible Reading Plan
मानिसहरूको गन्ती
26 त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो, 2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस बर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने, 4 “इस्राएलका सबै मानिसहरू जो बीस बर्ष भन्दा माथिको छन् सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”
5 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्;
हनोकबाट हनोकीहरूको कुलसमूह,
पल्लूबाट पल्लूईहरूको कुल समूह,
6 हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह,
कर्मीबाट कर्मीहरूको कुल समूह।
7 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।
8 पल्लूका छोरो एलीआब थिए। 9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए। 10 अनि पृथ्वी चर्किएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो। 11 तर कोरहका छोराहरू मरेनन्।
12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;
नमूएलबाट नमूएलको कुलसमूह,
यामीनबाट यामीनीहरूको कुलसमूह,
याकीनबाट याकीनीको कुलसमूह,
13 जेरहबाट जेरहीहरूको कुलसमूह,
शाऊलबाट शाऊलहीहरूको कुलसमूह,
14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।
15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः
सपोनबाट सपोनीहरूको कुलसमूह,
हाग्गैबाट हाग्गैहरूको कुलसमूह,
शूनीबाट शूनीहरूको कुलसमूह,
16 ओजनीबाट ओजनीहरूको कुलसमूह,
एरीबाट एरीहरूको कुलसमूह,
17 अरोदाबाट अरोदाहरूको कुलसमूह
अरेलीबाट अरेलीहरूको कुलसमूह भए।
18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40,500 थियो।
19-20 यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोः
शेलहबाट शेलानीहरूको कुलसमूह,
पेरेसबाट पेरेसीहरूको कुलसमूह,
जेरहबाट जेरहातीहरूको कुलसमूह भए।
21 पेरेसका सन्तानहरू यस प्रकारका थिएः
हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह,
हमूलबाट हामूलीहरूको कुलसमूह।
22 यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः
तोलाबाट तोलाहीहरूको कुलसमूह,
पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।
24 याशूबबाट याशूबीहरूको कुलसमूह,
हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।
25 इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।
26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः
सेरेदबाट सेरेदीहरूको कुलसमूह,
एलोनबाट एलोनीहरूको कुलसमूह,
यहलेलबाट यहेलेलीको कुलसमूह भए।
27 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।
28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुइ जना छोराहरू थिए। 29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन्
माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए)
गिलादबाट गिलादीहरूको कुलसमूह,
30 गिलादबाट भएका सन्तानहरूः
ईएजरेबाट ईएजेरीहरूको कुलसमूह,
हेलेकबाट हेलेकीहरूको कुलसमूह,
31 अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह,
शेकेमबाट शेकेमीहरूको कुलसमूह,
32 शमीदाबाट शमीदीहरूको कुलसमूह,
हपेरबाट हेपेरीहरूको कुलसमूह
33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।
34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।
35 एप्रैमको कुलसमूह यस प्रकार छः
शूतेलहबाट शूतेलहीहरूको कुलसमूह,
बेकेरबाट बेकेरीहरूको कुलसमूह,
तहनबाट तहनीहरूको कुलसमूह।
36 शूतेलहका कुलसमूह यस प्रकारका थिएः
एरानबाट एरानीहरूको कुलसमूह।
37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्।
38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;
बेलाबाट बेलाही कुलसमूह,
अशबेलबाट अशबेलिहरूको कुलसमूह,
अहीरामबाट अहीरामीहरूको कुलसमूह,
39 शूपामबाट शपामीहरूको कुलसमूह
हुपामबाट हुपामीहरूको कुलसमूह भए।
40 अर्द र नामन बेलाका छोराहरू हुन्;
अर्दबाट अर्दीहरूको कुलसमूह,
नामानबाट नामानीहरूको कुलसमूह भए।
41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।
42 दानका कुलसमूह यिनीहरू हुन्;
शूहामबाट शूहामीहरूको कुलसमूह
43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै शूहामीहरूको जन-संख्या 64,400 थियो।
44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः
यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह,
यिशवी बाट यिश्वीहरूको कुलसमूह,
बेरीयहबाट बेरीयाहरूको कुलसमूह,
45 बेरीयाहबाट यी परिवारहरू थिएः
हेबेरबाट हेबेरीहरूको कुलसमूह,
मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।
46 (आशेरको सेरह नाम गरेकी छोरी थिई)। 47 कुलसमूह अनुसार आशेर कुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।
48 कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः
यहसेलबाट यहसेलीहरूको कुलसमूह,
गुनीबाट गुनीहरूको कुलसमूह
49 येसेरबाट येसेरीहरूको कुलसमूह
शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।
50 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।
51 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
52 परमप्रभुले मोशालाई भन्नुभयो, 53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। 54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ। 55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठाद्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ। 56 प्रत्येक कुल समूहको अंश चिठ्ठाद्वारा निर्धारण गरिनेछ।”
57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्।
गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह
कहातबाट कहातीहरूको कुलसमूह
मरारीबाट मरारीहरूको कुलसमूह भए।
58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्।
लिब्नीहरूको कुलसमूह,
हेब्रोनीहरूको कुलसमूह,
महलीहरूको कुलसमूह,
मूशीहरूको कुलसमूह,
कोरहीहरूको कुलसमूह।
कहात अम्रामका पिता थिए। 59 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
60 हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए। 61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।
62 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन् कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।
63 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए। 64 धेरै दिन अघि सिनै मरुभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्। 65 किनभने तिनीहरू मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।
प्रमुख संगीतकारलाई: “लिलिको धुनमा” दाऊदको भजन।
1 हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्!
मेरो मुखसम्म पानी उठिसक्यो।
2 त्यहाँ उभिने कुनै ठाउँ छैन।
म तल-तल दलदलमा भाँसिदैछु,
म गहिरो पानी भित्र छु,
अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्।
3 तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु।
मेरो घाँटी पोलिरहेछ।
म तपाईंको सहयोगको निम्ति
मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
4 मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।
कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्।
तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे।
मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्,
तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्।
तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।
5 हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।
म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ।
6 हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।
हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
7 मेरो अनुहार शरमले ढाकिएको छ।
म तपाईंको निम्ति त्यो शरम सहन्छु।
8 मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।
मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्।
9 तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ।
म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
10 म रोएँ र उपवास बसें,
अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
11 आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ,
अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।
मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः
तपाईंले मलाई ग्रहण गरेको चाहन्छु।
हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
14 दलदल देखि मलाई तान्नु होस्।
मलाई दलदल भित्र भासिन नदिनुहोस्।
मलाई यो गहन पानीबाट बचाउनुहोस्।
मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।
गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
19 मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ,
तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो।
20 गालीले मलाई धूलो-पिठो पारेको छ।
म गालीको कारणले मर्न लागेको छु
म संवेदना पर्खिएको छु,
तर कसैबाट पाउन सकिन।
म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें,
तर कोही पनि आएन।
21 तिनीहरूले मलाई खानलाई विष दिए।
तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।
22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।
तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्।
मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ।
23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्।
24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव
तिनीहरूले पनि गरून्।
25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।
कोही पनि त्यहाँ बस्न नपाओस्।
26 तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।
त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।
27 तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्।
तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्।
28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,
तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।
29 म दुःखीत र पीडित छु।
परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।
30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।
म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
31 यसले परमेश्वरलाई खुशी पार्नेछ!
यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।
32 नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्।
यी कुरा जानेर तिनीहरू खुशी हुने छन्।
33 किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ।
कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्।
समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।
35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।
परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ
ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्।
36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,
मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।
16 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरुभूमिमा हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।
2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्।
तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्।
तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
3 तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्!
के गर्नु पर्ने हो बताउनु होस्!
मध्यदिनहको घामबाट हामीलाई ओझेल पारे जस्तै,
हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस्।
हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं।
हामीलाई लुकाउनु होस्!
शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
4 ती मोअबबाट आएका मानिसहरूलाई
जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए।
यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ।
तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ,
लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ।
मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।
5 त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्।
उनी देशभक्त, मायालु र कृपालु हुनेछन्।
यी राजाले निष्पक्ष न्याय गर्नेछन्।
उनले ती कुराहरू मात्र गर्नेछन्
जुन राम्रो र सही हुन्।
6 हामीले सुनेका छौं कि
मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्।
ती मानिसहरू हिंस्रक र ठूला कुराहरू गर्नेवालाहरू छन्।
तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्।
मोआबका सारा मानिसहरू रूनेछन्, मानिसहरू उदास हुनेछन्।
विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्।
तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
8 हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले,
मानिसहरू उदास हुनेछन्।
विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्।
शत्रुका सैनिकहरू याजेर शहर र मररुभूमिभरी फैलिए,
अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।
9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा
म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ।
म हेशबोन र एलालेका मानिसहरूसँग रूनेछ
किनभने त्यहाँ फसलहरू हुनेछैन्।
त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्।
अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा,
खुशीको गीतहरू गाइने छैन्।
बाली भित्राउने समयमा मोज-मज्जा समाप्त पार्नेछु।
अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्।
तर ती सबै चीजहरू खेर जानेछन्।
11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु।
कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु।
म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।
12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन्
तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्।
तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन्
अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”
13 परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो। 14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन बर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”
परिर्तित जीवन
4 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ। 2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन। 3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
4 तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्। 5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ। 6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन
7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। 8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। 9 विना विरोध एक अर्कामा अतिथि सत्कार गर। 10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर। 11 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।
ख्रीष्टियानको रुपमा यातना भोग्नु
12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। 13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ। 14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ। 15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्। 16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ। 17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?
18 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने,
त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”(A)
19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।
© 2004, 2010 Bible League International