M’Cheyne Bible Reading Plan
बिलामको प्रथम अगमवाणी
23 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेंडा मेरो निम्ति तयार पार।” 2 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेंडा प्रत्येक वेदिमा बलि चढाए।
3 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।
4 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेंडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छु।”
5 तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”
6 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। 7 तब बिलामले यी कुराहरू भनेः
“बालाक, मोआबका राजाले
मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे।
बालाकले मलाई भने,
‘आऊ मेरो निम्ति याकूबलाई शराप।
आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।’
8 कसरी म केही कुरालाई सराप्नु?
जसलाई परमेश्वरले सरापेको छैन,
कसरी म कसैको विरूद्धमा बोल्नु?
जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।
9 म पर्वतबाट ती मानिसहरूलाई देख्छु,
म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु,
तिनीहरूले एकान्तमा बस्छन्,
तिनीहरू आफैंलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
10 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्?
तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ।
तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन।
मेरो आत्माले असल मृत्यु पाओस्,
मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”
11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएँ तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”
12 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”
13 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसँग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।” 14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेंडा प्रत्येक वेदीमा बलि दिए।
15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”
16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, “बालाककहाँ जाऊ अनि यसो भन।” 17 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए। तब बालाकले बिलामलाई सोधे, “परमप्रभुले के भन्नुभयो?”
बिलामको दोस्रो अगमवाणी
18 बिलामले आगमवाणी दिएः
“उठ बालाक अनि म जे भन्छु सुन;
सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,
19 परमेश्वर मानिस हुनुहुन्न,
यसर्थ उहाँ मर्नुहुन्न,
परमेश्वर मानव हुनुहुन्न,
यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन।
यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु,
तब उहाँले गर्नुहुन्छ।
यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए,
प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।
20 परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’
परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ।
21 परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन,
इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन।
परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ,
अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ।
ती महान् राजा तिनीहरूसित हुनुहुन्छ!
22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो,
तिनीहरू जंगली साँढे झै बलिया छन्।
23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन।
कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्।
याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्,
‘परमेश्वरको महान सृष्टिलाई हेर!’
24 ती मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लड्छन्।
अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन।
अनि त्यो सिंहले विश्राम नै लिंदैन
जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”
25 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”
26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”
27 तब बालाकले बिलामलाई भने, “अब मसँग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।” 28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरुभूमि देखिन्थ्यो।
29 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेंडाहरू तयार पार।” 30 बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेंडाहरू बलि चढाए।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।
मेरो शत्रुले मलाई धमास दिएको छ।
त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
2 मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्,
तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्।
5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
6 तिनीहरूले पासोहरू लुकाएका छन्।
तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
8 दुष्ट मानिसहरूले अरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।
तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ।
तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हल्लाउने छन्।
9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।
अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ।
कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुति-गान।
1 सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
2 सबै मानिसहरू तपाईंकहाँ आउँछन्,
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्,
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
5 हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्,
अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
8 संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
9 तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11 तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो।
12 तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13 चउरहरू भेंडाहरूले भरिएका छन्,
बेंसीहरू अन्नले पुरिएका छन्।
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
बाबेललाई परमेश्वरको सन्देश
13 परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
2 “त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्।
मानिसहरूलाई बोलाऊ।
तिम्रा हातहरू हल्लाऊ।
तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
3 परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्याएँ,
अनि म आफैं नै तिनीहरूलाई आज्ञा दिनेछु।
म कति रिसाहा छु भन्ने देखाउनँ,
ती घमण्डी, खुशी मानिसहरूलाई एक ठाउँमा भेला परेको छु।
4 “त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ, ध्यान लगाएर हल्ला सुन्।
यो धेरै मानिसहरूको हल्ला जस्तो छ।
यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ।
सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
5 परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्।
तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्।
परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ।
ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”
6 परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ। 7 मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ। 8 प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन आँटेकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
बाबेलका विरूद्ध परमेश्वरको न्याय वाक्य
9 हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ। 10 आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।
11 परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिनेछु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन। 12 त्यहाँ केही मानिसहरू मात्र छोडिनेछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्। 13 मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”
त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ। 14 तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेंडा़ जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्। 15 अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्। 16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लुटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।
17 परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्। 18 आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्। 19 सदोम र गमोरा जस्तै नै बाबेल पनि नष्ट पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन।
“सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै गर्वित हुनेछन्। 20 तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बू टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेंडा़ ल्याउने छैनन्। 21 जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिँड्नेछन्। 22 जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खत्तम हुनेछ। बाबेलको अन्त नजिकै आईसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”
1 पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन!
परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति। 2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै।
परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।
जिउँदो आशा
3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। 4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।
5 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। 6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। 7 यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। 9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।
10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो। 11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।
12 यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्।
पवित्र जीवनको निम्ति आह्वान
13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ। 14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच। 15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो। 16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”(A)
17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। 18 तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ। 19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ। 20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। 21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।
22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। 23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ। 24 धर्मशास्त्रले भन्छ:
“मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्,
तिनीहरूको महिमा घाँसको फूल झैं हो।
घाँस ओइलिन्छ,
अनि फूलहरू झर्छन्।
25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”(B)
अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।
© 2004, 2010 Bible League International