Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 22

बिलाम र मोआबका राजा

22 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।

मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।”

सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए। बालाकले बओरको छोरा बिलामलाई निमन्त्रणा गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ।

“अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्। यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसँग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।

सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”

10 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्। 11 उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।”

13 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए। 16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। 17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

18 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ। 19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

बिलाम र तिनका गधा

21 यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए। 22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए।

23 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।

24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, 25 जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।

26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। 27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।

28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”

29 तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।”

30 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?”

बिलामले भने, “थिइनस्।”

31 त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।

32 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ। 33 जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”

34 तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”

35 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए।”

36 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए। 37 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”

38 त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”

39 त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए। 40 बालाकले गोरूहरू र भेंडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।

41 भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत-बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।

भजनसंग्रह 62-63

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति दाऊदको भजन।

मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ।
    मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
    परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।

कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?
म ढल्की सकेको भित्ता जस्तो छु,
    ढल्न तयार भएको बार हुँ।
मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,
    ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्।
मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्।
    जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन्
    तर गुप्त रूपमा भने मलाई सराप्दछन्।

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
    परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
    परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
    उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
    तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
    परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
    तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
    फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
    चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्‌य हुनेछौ,
    सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
    अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”

12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
    परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।

हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
    तपाईंकै निम्ति तिर्खाउँछ।
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
    मैले तपाईंको शक्ति र महिमा देखेको छु।
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
    मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
    म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
    अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
    मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
    म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
मेरो प्राण तपाईंमा अल्झिन्छ,
    अनि तपाईं मेरो हात समाउनु हुन्छ।

कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन्,
तर तिनीहरू नाश हुने नै छन्।
    तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10 तिनीहरू तरवारले मारिनेन्छन्।
    जङ्गली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन्,
अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
    किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

यशैया 11-12

शान्तिको राजा आउँनुहुदैछ

11 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।

त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। 4-5 उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्नु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।

त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।

यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।

10 त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

11 त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। छाडिएका मानिसहरू परमेश्वरका हुन् ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा। 12 परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।

13 त्यसबेला, एप्रैमले यहूदासँग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाड्ने छैन। अनि यहूदा एप्रैमको लागि सङ्कटको कारण बनिने छैन। 14 तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछ।

15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुइ भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्। 16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।

परमेश्वरप्रति स्तुति-गान

12 त्यस बेला, तिमीहरू भन्नेछौः
“हे परमप्रभु म तपाईंको महिमा गाउँछु!
    तपाईं मसित रिसाउनु भएको थियो।
तर अहिले तपाईंको रिस साम्य भएकोछ
    अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।
परमेश्वरले मलाई बचाउनु हुन्छ।
    म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
    उहाँले मलाई बचाउनु हुन्छ,
    अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”

तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
    तब तिमीहरू आनन्दित हुनेछौ।
त्यसपछि तिमीहरू भन्नेछौ,
    “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
    र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
    किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
    यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
    इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
    त्यसैले आनन्दित होऊ!

याकूब 5

स्वार्थी धनी मानिसहरूलाई चेताउनी

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।

पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।

धैर्य धारण गर

दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ। तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ।

दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ।

10 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुशरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे। 11 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्‌ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।

तिमी जो भन्छौ त्यसमा होशियार बन

12 मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ।

प्रार्थनाको शक्ति

13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। 14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ। 15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

16 सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ। 17 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन। 18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

आत्माहरू बँचाउ

19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ। 20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International