Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 21

कनानीहरूसित युद्ध

21 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे। तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।

काँसाको सर्प

इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।”

यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे। मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।

परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।” यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।

इस्राएलीहरू मोआबमा गए

10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले। 11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरुभूमि ऐ अबारीममा छाउनी हाले। 12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले। 13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरुभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो। 14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।

“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी 15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”

16 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।” 17 तब इस्राएलका मानिसहरूले यो गीत गाए।

“यो कूवा, पानीसित बग्छ!
    यस विषयमा गीत गाओ!
18 महान व्यक्तिले यो कूवा खने।
    महान नायकहरूले यो कूवा खने।
तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कूवा खने।
    यो मरुभूमिमा एउटा उपहार रहेको छ।”

यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे। 19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए। 20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ।

सीहोन अनि ओग

21 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,

22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”

23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरुभूमिमा आक्रमण गर्न आए। तिनी यहस सम्म आए अनि इस्राएलीहरूसित लडाईँ गरे।

24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए। 25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए। 26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए। 27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्।

“तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्।
    सीहोन शहर फेरि बनियोस्।
28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो
    र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो।
यसले अर र मोआबलाई ध्वंश पार्यो।
    यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
29 ए मोआब! तँलाई धिक्कार छ।
    ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ।
यसले आफ्नो छोराहरूलाई भगौटे बनाए,
    छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं।
    हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।”

31 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।

32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेट्न अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।

34 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”

35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।

भजनसंग्रह 60-61

प्रमुख संगीतकारलाई: “करारको लिली” को रागमा दाऊदको “मिक्तम”[a] भन्ने भजन। यो त्यस बेलाको भजन हो जब दाऊद अराम नेहेर्याम र अराम जोबहसँग लडे अनि योआबले 12,000 सिपाहीहरूलाई नूनको उपत्यकामा परास्तगरि फर्केर आए।

हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थ्यो।
    तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो।
    दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ।
    तपाईंले त्यसलाई फटाउनुभएको छ।
    दया गरी यसलाई जोड्नु होस्।
तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ।
    हामी धर्मरिन्दै लड्दै हिंड्ने रक्स्याहा (जँड्‌याहा) मानिसहरू हौं।
जसले तपाईंको उपासना गर्छन् उसैलाई चेताउनी दिनुभयो।
    अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।

तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्।
    मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!

परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो,
    “यसकारण म धेरै नै खुशी छु।
म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु।
    म तिनीहरूलाई शेकेम दिनेछु,
    म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
गिलाद र मनश्शे मेरो हुनेछ,
    एप्रैम मेरो शिरस्त्राण[b] हुनेछ
    यहूदा मेरो राजदण्ड[c] हुनेछ।
मोआब मेरो खुट्टा धुने बाटा हुनेछ।
    एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ
    म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”

9-10 तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो!
    तपाईं हाम्रो सेनासँग जानु भएन।
यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला?
    कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
11 हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्।
    पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
12 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
    अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।

प्रमुख संगीतकारलाई: तार बाद्यसँग गाउँने दाऊदको भजन।

हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
    मेरो प्रार्थना सुनी दिनुहोस्।
म जहाँ भए तापनि,
    जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु!
    मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
    तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु।
    म तपाईंको शरणमा लुक्न चाहन्छु।

हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
    तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
राजालाई दीर्घायु दिनुहोस्।
    ऊ अनन्त सम्म बाँचोस्।
उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
    तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
अनि म तपाईंको नाउँको गुणगान सधैँभरी गर्नेछु।
    प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।

यशैया 10:5-34

परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु। म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिने मैला-हिलो भएको ठाउँ हुनेछ।

“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैन। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई नष्ट गर्ने योजना मात्र गर्दछ। अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्! कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्तो हो। सामरिया शहर दमीशक शहर जस्तो हो। 10 मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्। 11 मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?’”

12 मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अहङ्कारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

13 अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ। 14 मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेंटाहरू अथवा चूँ-चूँ गर्दै लडाईं गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”

15 मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।

16 सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुन्जेलसम्म आगो जस्तै बलि रहनेछ। 17 इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परम-पवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ। 18 तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ। 19 त्यहाँ बनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।

20 त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्। 21 याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।

22 तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश नष्ट हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ। 23 मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।

24 मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ। 25 तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”

26 त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले होरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।

27 अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।

अश्शूरका सैन्यहरूले इस्राएलमाथि धावा बोले

28 सेनाहरू अय्यात[a] नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्। 29 तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।

30 बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ! 31 मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्। 32 त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।

33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिंदै, ढालिंदै गए-तिनीहरू अब मुख्य रहेनन्। 34 परमप्रभुले आफ्ना बञ्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।

याकूब 4

परमेश्वरमा समर्पण

के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”(A)

यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। 10 परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

तिमीहरू न्यायधीश हौइनौ

11 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। 12 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

परमेश्वरले तिम्रो जीवनमा योजना गरुन्

13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच 14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ। 15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।” 16 तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो। 17 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International