Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 17-18

परमेश्वरले हारूनलाई प्रधान पूजाहारी निश्चीत गर्नुभयो

17 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख। लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु। ईमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”

त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो। मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।

करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो। मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।

10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैँ मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।” 11 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।

12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं। 13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?”

पूजाहारीहरू र लेवीहरूको काम

18 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ। तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्। लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ। तिनीहरूले तिमीसित भेट गर्नेछन् र तिमीसितै काम गर्ने छन्। भेट हुने पालको रेख-देख गर्ने तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमी जहाँ छौ त्यहाँ आउनु साहस गर्नेछैन।

“तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्। हेर! म आफैंले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्। तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारियोस्।”

तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु। वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्। 10 तिमीहरूले ती चीजहरू महा-पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।

11 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्।

12 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। 13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ।

14 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।

15 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ। 16 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ।

17 “तर पहिले जन्मेको गाई, भेंडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ। 18 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ। 19 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”

20 परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।

21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो। 22 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ। 23 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्। 24 तर तिनीहरू सँग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”

25 परमप्रभुले मोशालाई भन्नुभयो, 26 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ। 27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्। 28 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ। 29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।

30 “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो। 31 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो। 32 अनि यदि तिमीहरूले यसको असल सधैँ परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरूद्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”

भजनसंग्रह 55

प्रमुख संगीतकारलाई: वाद्य वादन सहित गाउने दाऊदको “मस्किल” भन्ने भजन।

हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
    कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
    मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
    त्यो दुष्ट मानिसले मसित चिच्यायो।
मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे।
    तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ।
    मलाई मृत्युसित डर लाग्यो।
म डरले गर्दा र थर-थर कामी रहेकोछु,
    म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।
ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ।
    अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
    म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।

म भागेर बाँच्ने थिएँ।
    म दुःखको तूफानबाट भाग्ने थिएँ।
मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
    मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें।
10 प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
    अपराध र बर्बरताले भरिपूर्ण भयो।
11 त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
    मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।

12 यदि यो शत्रु भएको भएता,
    म हेला गरेको पनि सहन सक्थें।
यदि यो मेरो शत्रु भएता
    म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।
13 तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।
    मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
14 हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ,
    अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।

15 मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्!
    म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्।
    किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।

16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
    अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17 म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु।
    मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
    अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18 मैले धेरै युद्धहरू लडी सकेको छु।
    तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19 परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
    सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
    तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
    तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
21 मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्,
    तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
    तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
    अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।
    परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।

23 हे परमेश्वर तपाईंको करार अनुसार,
    ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

यशैया 7

आरामसँग सङ्कट

योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह[a] इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।

दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।”

जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थराए।

तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।

“आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्। तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः “हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”’”

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्। जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 बर्षपछि यो राष्ट्र रहने छैन्। जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”

इम्मानुएल-परमेश्वर हामीसँग हुनुहुन्छ

10 त्यसपछि परमप्रभुले आहाजसँग भन्नुभयो। 11 परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउँन सक्छ।”

12 तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।”

13 तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच। 14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः

हेर कन्या स्त्री गर्भवती हुनेछ,
    र उसले एउटा छोरो जन्माउनेछ,
    उसको छोरोको नाउँ इम्मानुएल[b] राखिनेछ।
15 इम्मानुएलले नौनी र मह खानेछ,
    राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।
16 तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै,
    एप्रैम र आरामको भूमि रित्तो हुनेछ, जो सँग तिमीहरू अहिले डराइरहेका छौ।

17 “तर तिमी परमप्रभुसित डराउनु पर्छ, किनभने परमप्रभुले केही सङ्कटको समय तिमीमाथि पार्नुहुनेछ। ती सङ्कटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको सङ्कट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।

18 “त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो।) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ।) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्। 19 ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरुभूमिका साना-साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्। 20 यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई ज्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहूदाको दाह्री खौरनु हुनेछ।

21 “त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिउँदो राख्न सक्ने मात्र हुनेछ। 22 त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ। 23 त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ। 24 त्यो जमीन जङ्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ। 25 एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेंडा़हरू मात्र ती ठाउँमा जानेछन्।”

याकूब 1

परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन।

परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन!

विश्वास र ज्ञान

मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।

साँच्चो धन

यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। 10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। 11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

परिक्षा परमेश्वरबाट आउँदैन

12 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। 13 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। 14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। 15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।

16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। 17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। 18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

सुन्नु अनि पालन गर्नु

19 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। 20 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। 21 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।

22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। 23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। 24 यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। 25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

परमेश्वरको आराधना गर्ने साँच्चो तरिका

26 कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन। 27 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International