M’Cheyne Bible Reading Plan
केही नेताहरू मोशा विरोधी भए
16 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। 2 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए। 3 तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?”
4 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए। 5 त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ। 6 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ। 7 त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”
8 मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन। 9 इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन? 10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ। 11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”
12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुइजना मानिसहरूले भने, “हामी आउने छैनौ। 13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ। 14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
15 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”
16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ। 17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुइ सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”
18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए। 19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
20 तब परमप्रभुले मोशा र हारूनलाई भननुभयो, 21 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”
22 मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”
23 तब परमप्रभुले मोशालाई भन्नुभयो, 24 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”
25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए। 26 मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”
27 यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दातान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू सँग छाउनी बाहिर गए।
28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो। 29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्। 30 तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”
31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो। 32 धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो। 33 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसँगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।
34 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”
35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।
36 परमप्रभुले मोशालाई भन्नुभयो, 37 “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्। 38 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”
39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यहीं थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे। 40 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
हारूनले मानिसहरूलाई बचायो
41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”
42 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। 43 तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।
44 परमप्रभुले मोशालाई भन्नुभयो, 45 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए।
46 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
47 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। 48 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। 49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। 50 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।
प्रमुख संगीतकारलाई: दाऊदको “मस्किल” भन्ने भजन। जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”।
1 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
2 तिमीले सधैँ मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
तिमीले सधैँ झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
3 तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
4 तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
5 यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ।
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट[a] धकेल्दै तान्नु हुनेछ,
जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
6 धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
7 “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
8 तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
9 हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
प्रमुख संगीतकारलाई: “महलथ” भन्ने रागमा दाऊदको “मस्किल” नामको भजन।
1 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,
अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।
2 त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ,
जसले परमेश्वरलाई नै खोजिरहेछन्।
3 तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
प्रत्येक मानिस कपटी छन्।
कसैले पनि राम्रो काम गर्दैन।
एकजना पनि राम्रो काम गर्ने मानिस छैन!
4 परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।
दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”
5 तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ।
यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।
6 म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि
इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।
याकूब प्रफुल्लित हुनेछ।
इस्राएल आनन्दले ओतप्रोत हुनेछ।
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।
1 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।
मलाई स्वतन्त्र[b] पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।
मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।
ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।
4 हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।
मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
5 जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।
परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।
6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।
हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।
मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।
परमेश्वरले यशैयालाई अगमवक्ता हुन बोलाउनु भयो
6 राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो। 2 सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए। 3 प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” 4 स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।
5 म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
6 वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए। 7 सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”
8 त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”
यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”
9 तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’ 10 मानिसहरूलाई अल्मल्याउ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
11 तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”
परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू नष्ट हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश नष्ट भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
12 परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ। 13 एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू नष्ट गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
13 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। 2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। 3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
4 सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। 5 पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,
“म तिमीलाई कहिल्यै छोड़दिनँ
म तिमीदेखि कहिल्यै भाग्दिनँ।”(A)
6 त्यसर्थ ढुक्कसित भनौ,
“प्रभु मेरा सहायक हुनुहुन्छ,
मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”(B)
7 आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। 8 येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।
9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।
20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। 23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।
25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।
© 2004, 2010 Bible League International