M’Cheyne Bible Reading Plan
बलिको विषयमा नियमहरू
15 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ, 3 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेंडा अथवा बाख्राहरू चढाउनेछौ।
4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ। 5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।
6 “यदि तिमी भेंडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ। 7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।
8 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ। 9 त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ। 10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ। 11 प्रत्येक साँढे अथवा भेंडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ। 12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।
13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ। 14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ। 15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो-बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा-सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बास गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्। 16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”
17 परमप्रभुले मोशालाई भन्नुभयो, 18 “इस्राएलका मानिसहरूलाई भनः ‘जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ, 19 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ। 20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ। 21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’
22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ? 23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्। 24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्। 26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
27 “तर यदि एउटाले अन्जानमा पाप गर्छ भने, एक बर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ। 28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ। 29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। 31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
विश्रामको दिन एकजना व्यक्तिले काम गर्छ
32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। 33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। 34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” 36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
परमेश्वरले आफ्ना मानिसहरूलाई नियम याद गर्न सहयोग गर्नुहुन्छ
37 परमप्रभुले मोशालाई भन्नुभयो, 38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् ‘आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध। 39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ। 40 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।’ 41 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
1 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु
अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्।
तपाईंको धार्मिकताको विषयमा,
मलाई गीत गाउन दिनुहोस्।
15 हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्,
यसकारण मैले किन बलिहरू चढाउनु।
17 जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।
हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्।
यरूशलेमको पर्खालहरू पुनःर्निर्माण गर्नुहोस्।
19 तब तपाईंले धार्मिकताको बलिदान,
र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ।
अनि मानिसहरूले फेरि साँढेहरू तपाईंको वेदीमा चढाउने छन्।
इस्राएल, परमेश्वरको दाख बारी हो
5 अब म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।
मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।
2 मेरा मित्रले खेत खने अनि सफा पारे।
उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे।
उनले खेतको माझमा एउटा मचान
अनि एउटा कोल निर्माण गरे।
तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे।
तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
3 यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू,
म अनि मेरो दाखबारीको विषयमा सोच।
4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र?
मैले सबै कुरा गरे।
मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ
तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो
किन त्यस्तो भयो?
5 “अब म तिमीहरूलाई भन्नेछु,
म मेरो अङ्गुरको बगैंचालाई के गर्नेछु।
म सबै बारहरू उखेल्नेछु।
अनि तिनीहरूलाई जलाउनेछु।
म ढुङ्गाका पर्खालहरू भत्काउने छु
अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
6 म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु।
कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन।
कसैले पनि खेतमा काम गर्ने छैन्।
त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्।
म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”
7 सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यो यहूदाको मानिस हो।
परमप्रभुले न्यायको आशा गर्नुभयो,
तर त्यहाँ हत्याहरू मात्र भए।
परमप्रभुले धार्मिकताको आशा गर्नुभयो,
तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ। 9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्। 10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”
11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ। 12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैंजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अ-शुभ हुनेछ।
13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्। 14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”
15 ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्। 16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्। 17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेंडा़हरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए।
18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्। 19 ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चाँडै नै गरून्। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चाँडै नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”
20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो। 21 तिनीहरू हामी चतुर छौं भनी सम्झन्छन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्। 22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्। 23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्। 24 तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।
ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे। 25 यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।
इस्राएलका मानिसहरू परमप्रभुबाट दण्डित
26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ।
शत्रुहरू टाढा-टाढाबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिटो-छिटो हिँडिरहेका छन्। 27 तिनीहरू कहिल्यै थाक्दैनन् अनि नष्ट हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न त सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन। 28 शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरू हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उड्नेछन्।
29 शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लड्ने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न सङ्घर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्। 30 यसकारण, सिंह समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।
हामीले येशूको उदाहरणको अनुशरण गर्नुपर्छ
12 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउँछ भने त्यसलाई फ्याँक्नु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ। 2 हामीले सदा येशूको उदाहरणको पनि अनुशरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। 3 विवादहरू सहनुहुने येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा सम्झ।
परमेश्वर पिता जस्तै हुन्
4 तिमीहरू पापको विरूद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ। 5 तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ:
“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ,
तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
6 प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ,
जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।”(A)
7 त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्। 8 हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ। 9 यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गर्यौं भने हामीले जीवन पाउनेछौ। 10 हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ। 11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
सावधानीपूर्वक बाँचौ
12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। 13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।
14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। 15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। 16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो। 17 तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
18 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए। 19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। 20 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”(B) 21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”(C)
22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ। 23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। 24 तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? 26 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”(D) 27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
28 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ। 29 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।
© 2004, 2010 Bible League International