Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 14

मानिसहरू फेरि गनगनाए

14 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो। किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”

तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।”

सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो। 11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्? 12 तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”

13 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो। 14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ। 15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्, 16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’

17 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्। 18 तपाईंले भन्नुभयो, ‘परमप्रभु क्रोधगर्न ढिलो हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’ 19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”

20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। 21 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ, 22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 24 तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुशरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ। 25 अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।”

परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ

26 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 27 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। 28 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। 29 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। 30 यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्। 31 तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ। 32 तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ।

33 “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्। 34 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’

35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।”

36 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जाँच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए। 37 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो। 38 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो।

मानिसहरूको पुनःविरोध

39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए। 40 बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”

41 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ। 42 त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन। 43 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लड्नेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईँमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”

44 तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन। 45 त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।

भजनसंग्रह 50

आसापको भजन।

परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
    सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
    उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
    र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
    मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

परमेश्वर न्यायी हुनुहुन्छ
    र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।

परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
    इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
    म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
    तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
    प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
म तिम्रो घरबाट साँढेहरू लिने छैन
    म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
    हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
    प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12     म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
    पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”

14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
    तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
    अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
    “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ।
    तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
    किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
    तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
20 तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ,
    अनि दोष लगाईरहेका छौ।
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,
    यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
हेर! धेरै बेर म चुपचाप बस्ने छैन!
    म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,
    यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
यदि त्यस्तो भयो भने,
    कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन।
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
    तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

यशैया 3-4

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ। परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ। परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ।

परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु। प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”

त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसँग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”

तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसँग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”

यस्तो घट्ना हुनेछ किनभने यरूशलेमले ठक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई पछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरूद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।

मानिसहरूका अनुहारहरूले बताउँछन् कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अहंकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैंले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउनेछन्। 11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्। 12 युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्।

मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।

आफ्ना मानिसहरूप्रति परमेश्वरको निर्णय

13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ। 14 परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ। 15 मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

16 परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौं अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”

17 मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै-लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्। 18 त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ। 19 कुण्डलहरू, चुराहरू, घुम्टोहरू, 20 दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अत्तरका बोतलहरू अनि जन्तरहरू, 21 छाप औंठीहरू र नाकका मुन्द्री, कानका मुन्द्री, गलाका हरहरू, 22 दामी पोषाकहरू, टोपीहरू, शलहरू र थैलीहरू, 23 ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।

24 ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउँदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसँग आकर्षक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।

25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्। 26 त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौं। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौं। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौं यदि तिमी हामीहरूसँग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्। त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ।

परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखाली[a] दिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ। तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।

हिब्रू 11

बिश्वास

11 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।

हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो। परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए। 10 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

11 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। 12 उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।

13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। 14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। 15 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। 16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

17-18 अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढ़ने छन्।”(A) तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे। 19 अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।

20 इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसावलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए। 21 अनि उनले आफ्नो मृत्यु-शैंय्यामा आफ्नो लौरोको टुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो।

22 अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोड़ने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए।

23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।

24-25 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे। 26 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे। 27 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्। 28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

30 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।

31 राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।

32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन। 33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। 34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए। 35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे। 36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। 37 कतिलाई ढुङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेंड़ा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन 38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भड्किहिंड्थे, पृथ्वीका ओडार र गुफ़ातिर बसिहिँड्थे।

39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्। 40 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International