M’Cheyne Bible Reading Plan
मरियम र हारूनले मोशाको विरोधमा नालिश गरे
12 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे। 2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”
परमप्रभुले यो कुरा सुन्नुभयो। 3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए। 4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।”
यसकारण ती तीन जना त्यहाँ गए। 5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। 6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु। 7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु। 8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”
9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। 10 बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।
11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस्। 12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।)
13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
14 परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
15 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्। 16 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरुभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
कनान देशको अन्वेषण
13 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
3 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। 4 ती नायकहरूको नाम यी नै हुन्;
रूबेनको कुलबाट जक्करको छोरो शम्मू,
5 शिमोनको कुलबाट होरीको छोरो साफात,
6 यहूदाको कुलबाट यपून्नेको छोरो कालेब,
7 इस्साकारको कुलबाट यूसुफको छोरो यिगाल,
8 एप्रैमको कुलबाट नूनको छोरो होशे (यहोशू),
9 बिन्यामीन कुलबाट रफूको छोरो पलती,
10 जबूलूनको कुलबाट सोदीको छोरो गद्दीएल,
11 मनश्शे कुलबाट सूसीको छोरो गद्दी,
12 दानको कुलबाट गमल्लीको छोरो अम्मीएल,
13 आशेरको कुलबाट माइकलको छोरो सतूर,
14 नप्तालीका कुलबाट वोफ्सीको छोरो नहबी,
15 गादको कुलबाट माकीको छोरो गूएल।
16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। (मोशाले नूनको छोरो होशेलाई यहोशू भनी बोलाउँथे।)
17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडतिर जाऊ। 18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दुर्वल, अथवा कम्ती छन् अथवा ठूलो जनसँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? 19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर? 20 अनि जमीन मलिलो छ वा रूखा छ, त्यहाँ रूखहरू छन् कि छैनन्? त्यस भूमिबाट केही फलहरू ल्याउनु जतिसक्दो कोशिस गर।” (त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।)
21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। 22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो। 23 त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।
25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। 26 पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। 27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। 28 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। 29 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”
30 त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।”
31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” 32 यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया-बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्। 33 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान देख्यौं र तिनीहरूको अगाडी हामीहरू त मसिनो फट्यांग्राहरू झैं देखिन्थ्यौं। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
49 तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
2 प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
3 म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
4 मैले स्वयंले ती कथाहरू सुनें
अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
5 कष्ट आउँछ भनेर म किन डराउनु?
यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
6 कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
तर ती मानिसहरू मूर्खहरू हुन्।
7 कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
अनि तिमीले परमेश्वरलाई घूस[a] दिन सक्तैनौ।
8 कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
9 कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी[b] मर्छन्।
तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ
जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।
चिहान नै तिनीहरूको खोर हो।
मृत्यु तिनीहरूको गोठाला हुनेछन।
त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।
जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,
उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।
तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17 ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्।
तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।
अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,
अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20 मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्
तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
2 आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।
2 अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर,
सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ।
यो सबै पहाडहरू भन्दा-माथि हुनेछ।
सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
3 धेरै मानिसहरू त्यहाँ जानेछन् र तिनीहरूले भन्नेछन्,
“आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ,
माथि याकूबको परमेश्वरको मन्दिरमा।
अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ।
अनि हामीले उहाँलाई पछ्याउनेछौं।”
परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ
र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।
4 त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ।
उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ।
ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नेछन्।
तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्।
अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्।
मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्।
मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।
5 याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ।
6 म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्। 7 अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्। 8 तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्। 9 मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?
10 जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!
11 घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफैं आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।
12 परमप्रभुसँग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्। 13 ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। 14 ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्। 15 ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ। 16 ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।
17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ। 18 सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्। 19 मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महा-महिमामय शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
20 त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन् भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्। 21 त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।
22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन् जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।
ख्रीष्टको बलिदानले हामीलाई पूर्ण बनाउँछ
10 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन। 2 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन। 3 यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ। 4 किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
5 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो,
“तपाईं बलि र भेटीहरू चाहनुहुन्न,
तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
6 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न।
पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
7 तब मैले भने, ‘परमेश्वर म यहाँ छु,
व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ।
तपाईले चाहेको काम गर्न म आएको छु।’”(A)
8 उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ। 9 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ। 10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
11 प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्। 12 तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। 13 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। 14 एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
15 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,
16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु।
म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।
म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”(B)
17 तब उहाँ भन्नुहुन्छ:
“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,
र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”(C)
18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
परमेश्वरको नजिक आऊ
19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। 20 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। 21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। 22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। 23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
विश्वासमा दृढ हौ र एकअर्कालाई सघाऊ
24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। 25 हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन[a] अझै नजिक-नजिक आउँदै छ।
ख्रीष्टबाट मुख नफर्काऊ
26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। 27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। 28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। 29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो। 30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”(D) परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”(E) 31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
आफूसित भएको उत्साह र आनन्द नगुमाऊ
32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37 चाँडै नै,
“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो अहिले मसित धर्मी छ,
उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
म उसित प्रसन्न रहनेछैनँ।”(F)
39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।
© 2004, 2010 Bible League International