M’Cheyne Bible Reading Plan
मानिसहरूको नालिश
11 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो। 2 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए। 3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
सत्तरी बूढा-प्रधानहरू
4 इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? 5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। 6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” 7 देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ। 8 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो। 9 जब राती भूँइ शीतले भिज्छ मन्न भूईँमा झर्थ्यो।
10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। 11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? 12 के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। 13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? 14 यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो। 15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ। 17 अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैंलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ। 19 तिमीहरूले एक दिन, अथवा दुइ दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ। 20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौं?’”
21 तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’ 22 के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”
23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए। 25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिनीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
26 त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे। 27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
29 तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।” 30 त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
बट्टाई चराहरू आउँछन्
31 तब परमप्रभुले बतास चलाउनु भयो र बतासले समुद्रतिरबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिँडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो। 32 तिनीहरूले दिन भरि अनि रात भरि बट्टाई चराहरू बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो। 34 यसकारण त्यस ठाँउको नाम ‘किब्रोथ-हत्तावा’ राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
35 किब्रोथ-हत्तावाबाट तिनीहरू हसेरोत तिर लागे र तिनीहरू त्यहाँ बास बसे।
कोरह परिवारहरूको उपासनाको भजन।
1 परमप्रभु महान् हुनुहुन्छ।
उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
2 परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत[a] हो,
यो महान् राजाको शहर हो।
3 त्यस शहरको राजमहलमा,
परमेश्वरलाई किल्ला भनिन्छ।
4 एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
5 तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!
6 डरले ती राजाहरूलाई कस्सेर समात्यो।
ती राजाहरू डरले कामे।
7 हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
8 हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!
9 हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
12 सियोनको चारैतर्फ हिंड्।
शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
13 अग्ला पर्खालहरू हेर,
सियोनका राजमलहरूको प्रशंसा गर।
तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।
14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।
1 यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।
आफ्ना मानिसहरू विरूद्ध परमेश्वरको मुद्दा
2 हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ:
“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें,
मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ
तर तिनीहरू नै मेरो विरोधी भए।
3 गोरूले आफ्नो मालिकलाई चिन्छ,
अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड[a] कहाँ छ जान्दछ।
तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्।
मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”
4 इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।
5 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ। 6 तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।”
7 तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा नष्ट पारिएको एउटा देश जस्तो छ।
8 सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएकी एक पुरानो छाप्रो जस्तो छे। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छे। 9 यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा नष्ट भएका छैनौं।
10 हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन! 11 परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेंडा़को बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिँदिनँ। 12 जब तिमीहरू मसँग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चँदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?
13 “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। 14 मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।
15 “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
16 “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! 17 राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”
18 परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।
19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ। 20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”
परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
परमप्रभुप्रति यरूशलेम निष्ठावान छैन
21 परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुशरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
22 “तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ। 23 तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
24 ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ, 25 चाँदी टल्काउनलाई मानिसहरूले खरानी[b] प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु। 26 न्यायकर्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसँग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”
27 सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ। 28 तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)
29 भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू[c] र विशेष बगैंचाहरू[d] पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्। 30 यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो। 31 शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।
पुरानो करार अनुसार आराधना
9 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो। 2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे। 3 दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो। 4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए। 5 बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
6 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे। 7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,
8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जतिन्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो। 9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढ़ाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो। 10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउन्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।
नयाँ करार अनुसार आराधना
11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। 12 ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो।
13 अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो। 14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
15 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ। 17 मानिस जीवित रहुन्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ। 18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो। 19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे। 20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुशरण गर्न भनी दिनुभएको नियमको रगत हो।”(A) 21 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि छर्किथ्ये। 22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।
येशूको बलिदानले पापहरू पखालिन्छ
23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ। 24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।
25 प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढ़ाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढ़ाउन होइन। 26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैँ भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैंलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ। 28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।
© 2004, 2010 Bible League International