Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 9

निस्तार चाड़

इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”

यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।

तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”

मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। 11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। 12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। 13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।

14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”

आगो र बादल

15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो। 16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो। 17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे। 18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे। 19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए। 20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे। 21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे। 22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे। 23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।

भजनसंग्रह 45

प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।

जब म यी कुराहरू राजाको निम्ति लेख्छु,
    सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्।
शब्दहरू मेरो जिब्रोबाट आउँछन्,
    मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

तपाईं सबै भन्दा असल हुनुहुन्छ।
    तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ।
    यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
तिम्रो पटुकामा तरवार भिर।
    तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
तिमी अचम्मको देखिन्छौ।
धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,
    तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,
    जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।
    धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ
    र दुष्टतालाई घृणा गर्नुहुन्छ।
    यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू[a] माथि राज गर्न चुन्नुभएको छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ।
    यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।
    तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

10 हे मेरी स्त्री, मेरा कुरा सुन।
    ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ।
आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
11     यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।
ऊ तिम्रो नयाँ लोग्ने हुनेछ।
    यसैले तिमीले उनको सम्मान गर।
12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्
    यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा
    सजिएकी छिन्।
14 राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्,
    उनका लोकन्तीहरू पछि-पछि छन्।
15 तिनीहरू आनन्दको साथ आउँछन्।
    आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।

16 राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्।
    तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।
17 तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछु।
    मानिसहरूले तपाईंको सदा-सर्वदा प्रशंसा गर्नेछन्!

श्रेष्ठगीत 7

युवकको युवती सौन्दर्यमाथि प्रशंसा

हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्।
    तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
तिम्रो नाभि गोलो बटुको झैं छ,
    यसमा दाखरस बिना कहीले नहोस्।
तिम्रो पेट यस्तो छ कि
    गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।
तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो।
तिम्रा आँखाहरू यस्ता छन्,
    मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्।
तिम्रो नाक यस्तो छ,
    मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।
तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ
    अनि टाउकोको केश रेशम जस्तो छ।
तिम्रो तल झरेको लामो केशले
    राजाको पनि मन पग्लिन्छ।
तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका!
    तिमी कति राम्री र मनमोहक छौ।
तिमी खजुरको रूख जस्तै अग्ली छौ।
    अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।
म खजुरको रूखमाथि चढ्नेछु,
    र त्यसका हाँगाहरू समात्छु।

तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं
    र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
तिम्रो मुख विशेष दाखमद झैं होस्
    जुन मेरो मायामा सोझै तल बगोस्
    त्यो बिस्तारैसित मस्त निन्द्रामा परेका मानिसहरूको ओंठ सम्म बगोस्।

तिनले युवकलाई भन्छिन्

10 म मेरा प्रेमीकी हुँ
    र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
11 आउँनु होस् मेरा प्रेमी,
    हामी मैदानमा जाँऊ,
    हामी गाँउमा रात काटौं।
12 हामी चाँडै दाखबारीमा जाँऊ,
    हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि
हेरौं कतै फूल फुलिसकेको छन् कि
    अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि
    म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।

13 हे मेरा प्रेमी!
    सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्,
दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन्,
    नयाँ र पुरानो आनन्दमय बस्तुहरू,
    मैले तिम्रो निम्ति साँचिराखेकीछु।

हिब्रू 7

पूजाहारी मल्कीसेदेक

मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाईँ जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए। अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए।

मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शान्तिको राजा।” मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए। अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्। मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए। अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।

ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ। लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए। 10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।

11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो? 12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लिनु पर्छ। 13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्। 14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।

येशू मल्कीसेदेक जस्तै एक पूजाहारी हुनुहुन्छ

15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढ़ता स्पष्ट हुन्छ। 16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो। 17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”(A)

18 अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो। 19 मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।

20 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन। 21 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो,

“परमेश्वरले प्रतिज्ञा लिनुभयो,
    उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन।
‘तिमी सदा-सदालाई पूजाहारी हुनेछौ।’”(B)

22 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।

23 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए। 24 तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन्न। 25 यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैँ बाँच्नुहुन्छ।

26 यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ। 27 उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैंलाई सधैँको लागि एकै पल्ट बलीको रूपमा चढ़ाउनु भयो। 28 व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैँको लागि पूर्ण हुनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International