M’Cheyne Bible Reading Plan
शुद्धता विषय नियम
5 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। 3 म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
4 यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।
जरिवाना
5 परमप्रभुले मोशालाई भन्नुभयो, 6 “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो। 7 त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोड्नु पर्छ जसलाई उसले सताए। 8 तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रयाश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रयाश्चित गर्ने छ।
9 “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। 10 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”
पत्नीमाथि पतिको शंका
11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “इस्राएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरूषकी पत्नी त्योसँग विश्वासघाती हुन सक्छे। 13 तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नगर्लिन्। 14 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्। 15 त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।
16 “तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ। 17 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्। 18 पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन्। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याउँछ।
19 “अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोक्सान गर्ने छैन। 20 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।’ 21 तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् ‘परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’
“यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ। 22 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेकिछ्यौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’
23 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ। 24 अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
25 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट वेदीमा ल्याउन पर्छ र परमप्रभुको अघि डोलाउनु पर्छ। 26 पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ। 27 जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे। 28 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।
29 “यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे, 30 अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो। 31 पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”
प्रमुख संगीतकार, यदूतूनलाई: दाऊदको भजन।
1 मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।
म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।
जब म कपटी मानिसको चारैतिर हुन्छु
म मेरो मुख बन्द राख्ने छु।”
2 यसैले मैले केही भनिनँ।
मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ।
तर मेरो मनोव्याथा अझ बढ्यो।
3 म एकदमै रिसाएको थिएँ
अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,
यसैले मैले केही भनें।
4 हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?
भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?
मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।
तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।
प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!
6 हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।
हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,
तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?
तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।
मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
9 म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन,
म आफ्नो मुख खोल्ने छैन।
परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्,
यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ!
11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो,
तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।
जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।
हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ।
12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!
मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,
मेरा आँसुहरू हेर्नुहोस्।
तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।
मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्
अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।
संगीहरूसँग स्त्री
3 राती मेरो ओछ्यानमा,
म आफूले माया गरेको मानिस खोज्छु।
मैले उसलाई खोजें,
तर उसलाई पाउन सकिनँ।
2 अब म उठ्छु,
म शहर वरीपरी घुम्छु।
म मेरा प्रेमीलाई शहरको गल्ली,
र कुना कुनामा खोज्छु।
मैले शहरका पालेहरूलाई भेटें,
तर मैले उहाँलाई पाउँनु सकिनँ।
3 मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
4 जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
तब मैले मेरा प्रेमीलाई भेटें,
मैले उहाँलाई समातें,
र उहाँलाई मेरी आमाको घरमा लगें,
अर्थात ती नारीको कोठामा,
जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
ऊ स्त्रीहरूसँग बोल्छे
5 हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर।
हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ
कि म तयार नभए सम्म तिमीले,
आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
यरूशलेमका स्त्रीहरू बोल्छन्
6 यी नारी को हुन् जो धेरै मानिसहरू सित,
मरुभूमिबाट आइरहेकी छिन्?
तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ,
मानौं कि त्यो धूवाँको बादल हो,
जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप,
अथवा सुगन्धित मसला बाट निस्कन्छ।
7 सुलेमानको सवारी हेर!
इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले
त्यो पालकी रक्षा गरिरहेका छन्।
8 तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न
तिनीहरू तत्पर छन्।
9 राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10 त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
आधारहरू सुनको बनाएका छन्
आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
11 सियोनकी तरूणीहरू हो,
बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्,
जुन दिन उनको विवाह भएको थियो।
त्यो दिन उनी अत्यन्तै खुशी थिए।
मोशाभन्दा येशू महान हुनुहुन्छ
3 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ। 2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो। 3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ। 4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। 6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
हामीले परमेश्वरको अनुशरण गरिरहनु पर्छ
7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ,
“आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ,
त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें,
त्यो तिम्रा पिता-पुर्खाहरूले देखे।
तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
10 त्यसैले म तिनीहरूसित रिसाएँ
र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन्
तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
11 त्यसैले म रिसाएँ र शपथ लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्,
र मसित विश्रान्ति पाउने छैनन्।’”(A)
12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। 13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्। 14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ। 15 धर्मशास्त्रले भनेको छ,
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”(B)
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए। 17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे। 18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्। 19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
© 2004, 2010 Bible League International