M’Cheyne Bible Reading Plan
शिविरको प्रबन्ध
2 मोशा र हारूनलाई परमप्रभुले भन्नुभयो, 2 “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
3 “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो। 4 तिनको दलमा 74,600 मानिसहरू छन्।
5 “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्। 6 उसको दलमा 54,400 मानिसहरू छन्।
7 “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र, 8 तिनको दलमा 57,400 मानिसहरू थिए।
9 “यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
10 “रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन् र 11 उसको दलमा 46,500 मानिसहरू छन्।
12 “शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्। 13 उसको दलमा 59,300 जना मानिसहरू छन्।
14 “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो। 15 उसको दलमा 45,650 मानिसहरू छन्।
16 “त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।
17 “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।
18 “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन्। 19 उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।
20 “एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन। 21 उसको दलमा 32,200 मानिसहरू छन्।
22 “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन्। 23 त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।
24 “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंड्छ तिनीहरू तेस्रो लस्करमा हिंड्नेछन्।
25 “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन्। 26 उसको दलमा 62,700 जना मानिसहरू छन्।
27 “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्। 28 त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।
29 “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्। 30 त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।
31 “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिंड्नेछन्।”
32 इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो। 33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।
34 यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2 त्यो मानिस आफैंसित झूटो हुन्छ।
त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4 राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।
5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।
12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”
बुढेसकालको समस्या
12 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।
2 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।
3 त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ। 4 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।
5 डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिँड्दा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाँच्ने इच्छा[a] पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।
मृत्यु
6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि,
माटोको गाग्री इनारमा फुट्नु अघि,
अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै,
जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।
7 तिम्रो शरीर माटोबाट बनिएको हो।
मरेपछि पनि माटोमै फर्कन्छ।
तर आत्मा जुन परमेश्वरबाट आयो
मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।
8 सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।
निर्ष्कष
9 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे। 10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।
11 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्। 12 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।
13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।
1 ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट
हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
2 साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
3 हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
फिलेमोनको प्रेम र विश्वास
4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। 5 परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। 6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। 7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
ओनेसिमसलाई एक भाइको रूपमा स्वीकार गर
8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। 9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। 10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। 11 बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। 13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। 14 तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। 16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। 18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। 19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। 20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। 21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
22 दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
अन्तिम अभिवादन
23 मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। 24 अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
25 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
© 2004, 2010 Bible League International