M’Cheyne Bible Reading Plan
मोशाले इस्राएल मानिसहरूका गन्ती गर्छन्
1 सीनै मरुभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो। 2 उहाँले भन्नुभयो, “तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर। 3 हारून र तिमीले बीस बर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर। 4 प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। 5 यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्:
रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर;
6 शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
8 इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;
9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
10 यूसुफको उत्तराधिकारीहरूबाट;
एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा;
मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
11 बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
12 दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
14 गादको कुलबाट रूएलको छोरो एल्यासाप;
15 नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
16 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए। 17 तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए। 18 दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे। 19 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरुभूमिमा गरे।
20 तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस बर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो। 21 रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
22 तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। 23 शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
24 तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 25 गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
26 तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो। 27 यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
28 तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। 29 इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
30 तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 31 जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।
32 तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 33 एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।
34 तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 35 मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।
36 तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 37 बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
38 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो। 39 दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
40 तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 41 आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
42 नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 43 नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
44 मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।) 45 तिनीहरूले बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो। 46 तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन। 48 परमप्रभुले मोशालाई भन्नुभएको थियोः 49 “लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसँग नमिलाउनु। 50 तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ। 51 जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ। 52 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्। 53 तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
54 यसरी इस्राएलका मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।
दाऊदको भजन।
1 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
मेरा लडाईँहरू लडिदिनु होस्!
2 हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
3 भाला र बर्छा लिनुहोस्
अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”
4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
र लज्जित पार्नु होस्।
5 तिनीहरूलाई हावाले उडाउने भूस[a] जस्तो बनाउनु होस्।
तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
6 तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
9 तब म परमप्रभुमा हर्षित रहनेछु।
जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
“हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
(हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।
17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।
18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
महासभामा म तपाईंको स्तुति गाउने छु।
19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
निःसन्देह मेरा शत्रुहरूले,
आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति,
अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
यसैले मौन नबस्नुहोस्,
मलाई छाडेर नजानुहोस्।
23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!
मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्।
अनि मलाई न्याय ल्याई दिनुहोस्।
24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
हामीले उसलाई ध्वंश पारिदियौं!”
26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्!
यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ।
उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”
28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
निर्धक्क बनी भविष्यको सामना गर
11 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा[a] ल्याउँछ।
2 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ।
3 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा बर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि वा दक्षिण पट्टि, जता ढले पनि त्यहीं तेर्सिरहन्छ।
4 तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
5 तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।[b]
6 यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
7 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउनको लागि असल हो। 8 तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।
उमेर छँदै परमेश्वरको सेवा गर
9 यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्। 10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
जिउने असल तरिका
3 मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, 2 कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।
3 अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। 4 तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो। 5 उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो। 6 परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो। 7 उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं। 8 त्यो शिक्षा साँच्चो हो।
अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।
9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। 10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ। 11 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ।
याद गर्नुपर्ने कुराहरू
12 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु। 13 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्। 14 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
15 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ।
तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्।
© 2004, 2010 Bible League International