M’Cheyne Bible Reading Plan
इस्राएल परमेश्वरको हो
19 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।
3 “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
4 “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्। 6 तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ। 7 तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन। 8 यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
9 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप। 10 जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
11 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। 12 मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।
13 “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।
14 “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।
15 “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब भनि दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ। 16 मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
17 “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ। 18 मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
19 “तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुइ प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुइ प्रकारका बीऊ नछर। दुइ प्रकारका धागाले बनिएको लुगा नलगाऊ।
20 “यदि कुनै मानिसले अर्काकी कमारी जो आफ्नो मालिकबाट छुट्करा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुइलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कमारी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्। 21 त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेंडा ल्याउनुपर्छ। 22 त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेंडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।
23 “भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन बर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ। 24 चौथो बर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ। 25 त्यसपछि पाँचौ बर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
26 “यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन।
“भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।
27 “तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट। 28 मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउनु। म परमप्रभु हुँ।
29 “तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।
30 “तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।
31 “तिमीहरू झाँक्री, जादूगर, बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।
32 “बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।
33 “तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यावहार गर, 34 तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
35 “तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल। 36 तिमीसित तौलिन ढक तराजू, नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
37 “तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।”
दाऊदको भजन।
1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।
दाऊदको भजन।
1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
3 परमप्रभुको पर्वतमाथि को जान सक्छ?
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू, खोल,
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
8 महिमाका महाराज को हुनुहुन्छ?
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू खुल्ला होऊ,
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।
के “हाँस-खेलबाट” साँच्चो आनन्द पाइन्छ?
2 मैले आफैंले विचार गरें, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थै रहेछ। 2 हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।
3 तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किनकि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजुन्।
कठोर परिश्रमबाट आनन्द पाइन्छ?
4 अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ। 5 मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें। 6 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ। 7 मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई, गोरू, भेंडा़ र बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।
8 मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। मसित थुप्रै नाँच्ने-गाउँने स्त्री-पुरूषहरू थिए।
9 म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैँ मेरो सहायता गर्ने गर्दथ्यो। 10 मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।
11 मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।
यसको उत्तर बुद्धि हुनसक्छ
12 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ। 13 मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो। 14 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अँध्यारोमा हिँड्ने मानिस जस्तै हो।
तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्। 15 मैले आफ्नो मनमा सोचें, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैंलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।” 16 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैँ न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।
के जीवनमा साँच्चो आनन्द होला?
17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।
18 मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन। 19 जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।
20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। 21 एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुःख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।
22 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ? 23 सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।
24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्। 26 यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।
झूटा शिक्षकहरू बारे सावधान
4 पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। 2 यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। 3 ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। 4 पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। 5 परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।
ख्रीष्ट येशूको असल सेवक बन
6 यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। 7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। 8 शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। 9 मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। 10 त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
11 यिनै कुराहरूका आदेश र शिक्षा देऊ। 12 तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
13 म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। 14 तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। 15 यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। 16 आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
© 2004, 2010 Bible League International