M’Cheyne Bible Reading Plan
सामूहिक भोजनको नियम
11 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः 3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
4-6 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको छैन, भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन। खरायो यद्यपि यो उग्राउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्। 7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ। 8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
समुद्री खाद्य विषयमा नियम
9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ। 10-11 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेंटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु। यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन। 12 जलचर प्राणीहरू मध्ये जसको पखेंटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
चराहरू जो खानु हुँदैन
13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध, 14 रातो चील र सबै प्रकारका कालो चील, 15 सबै थरीका कागहरू, 16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू, 17 सानो लाटोकोसेरो, पानी काग, भुल्का, 18 सेतो लाटोकोसेरो, मरुभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील, 19 साँरस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।
किराहरूको मासु खाने नियम
20 “तिमीहरूले प्रत्येक पखेंटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ। 21 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पखेंटा भएका किराहरू खान सक्छौ। 22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेंटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।
23 “चार खुट्टे तर पखेंटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ। 24 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ। 25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
पशुहरूको विषयमा धेरै नियमहरू
26-27 “कुनै प्राणी जसको चिरिएको खुर त छ तर उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ। चार खुट्टाले हिंड्छ तर पन्जाले टेकेर हिंड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ। 28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
घस्रने पशुहरूको विषयमा नियमहरू
29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू, 30 माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो। 31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
अशुद्ध पशुहरूको विषयमा नियमहरू
32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा), अथवा कुनै काम आउने भाँडो किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ। 33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाँडोमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ। 34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ। 35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ। 37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ। 38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
39 “यदि तिमीहरूलाई खानको निम्ति अनुमति दिइएको पशुहरू मध्ये कुनै पशु मर्यो भने, र जसले त्यो मृत पशुको शरीरलाई छोयो भने त्यो व्यक्ति साँझसम्म अशुद्ध हुनेछ। 40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन। 42 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ। 43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन। 44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन 45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्। 47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।
सुत्केरीका नियमहरू
12 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः
“यदि कुनै स्त्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे। 3 अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ। 4 सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन। 5 यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुइ हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।
6 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। 7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो। 8 यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
के मलाई सदाको लागि बिर्सनु हुन्छ?
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?[a]
2 कहिलेसम्म म अन्योलमा परूँ,
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।”
मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्।
ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।
2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर
स्वर्गबाट तल हेर्नुहुन्छ।
ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए
र दुष्ट भइसके।
कुनै एकजना मानिसले पनि
राम्रो काम गरेको छैनन्।
4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्।
दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ,
तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।
5 दुष्ट मानिसहरू प्रशस्त भयग्रस्त छन्।
किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्।
6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्।
तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ।
7 सियोनमा इस्राएललाई बचाउने को छ?
परमेश्वर बाहेक कोही पनि छैन!
परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो।
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ,
तब याकूब (इस्राएल) खुशी हुनेछ।
ज्ञानले मुर्खहरूको विषयमा भन्छ
26 ग्रीष्म ऋतुमा हिउँ बर्षनु राम्रो होइन, बाली काट्ने समयमा पानी बर्षनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।
2 तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चञ्चल चरा उडेर गए जस्तै हो।
3 जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ।
4-5 मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
6 मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।
7 मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।
8 मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुँयेत्रोमा ढुङ्गा बाँध्नु हो।
9 मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।
10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।
11 कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।
12 यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।
13 अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”
14 अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।
15 अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।
16 एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।
17 दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु।
18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ।
20 जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा़ आफैं अन्त हुनेछ।
21 जस्तो कोइलाले अँगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडा़लु मानिसले झगडा़ चम्काउँछ।
22 बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।
23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ। 24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ। 25 उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्। 26 उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापनी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।
27 अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।
28 जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।
प्रभुको आगमनको लागि तयार बस
5 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। 2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। 3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। 5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। 6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। 7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। 8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।
9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
अन्तिम निर्देशन र अभिवादन्
12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। 13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।
परस्परमा शान्तिपूर्वक बस। 14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। 15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।
16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।
23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। 24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।
25 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर। 26 जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर। 27 प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। 28 हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।
© 2004, 2010 Bible League International