M’Cheyne Bible Reading Plan
परमेश्वरले नादाब अनि अबीहू नष्ट पार्नु हुन्छ
10 त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन। 2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।
3 त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”
5 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।
6 तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्। 7 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।
8 त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, 9 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सधैँ रहोस्। 10 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ। 11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”
12 मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ। 13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।
14 “तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्। 15 तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सधैँको निम्ति हुनेछ।”
16 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने, 17 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो। 18 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”
19 तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”
20 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ?
किन तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ?”
2 दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्।
तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर,
धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्।
3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने!
तब असल मानिसहरूले के गर्नु पर्ला?
4 परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।
अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल
अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
5 परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ
तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।
6 उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउँनु हुन्छ,
ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।
7 तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ।
धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।
प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
1 हे परमप्रभु मलाई बचाउँनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5 तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइईँ गर्नेछु।”
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
सुलोमानका केही अरू हितोपदेशहरू
25 सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।
2 परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।
3 जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।
4 यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्। 5 यस्तै प्रकारले, यदि दुष्ट अनि बेईमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।
6 राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। 7 एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो।
8 न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।
9 तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन। 10 यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।
11 सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो। 12 एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।
13 एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।
14 कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।
15 धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।
16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ। 17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।
18 जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ। 19 झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो र आवश्यक्ताको समयमा धोका दिन सक्छ।
20 शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।
21 तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। 22 यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ।
23 उत्तरबाट वहने हावाले पानी बर्षाउँछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ।
24 झगडा़लु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।
25 टाढा ठाउँ बाट आएको शुभसमाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।
26 यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो।
27 मह पनि धेरै खाए तितो हुन्छ, त्यसरी नै धेरै मान नखोज।
28 आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।
परमेश्वरलाई प्रसन्न पार्ने जीवन
4 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। 2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। 3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। 4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। 5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। 6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। 7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। 8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।
11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।
प्रभु आउनु हुँदैछ
13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[a] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।
© 2004, 2010 Bible League International