M’Cheyne Bible Reading Plan
28 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्। 2 यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती-घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्। 3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्। 4 म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”
5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।
6 एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्। 7 अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए। 8 एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्। 9 एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसँग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्।
परमेश्वरको घर-बेतेल
10 याकूब बर्शेबा छोडेर हारानतिर लागे। 11 याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे। 12 याकूबले सपना देखे। एउटा सिंढ़ी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंढ़ीमा तल र माथि गरिरहेको देखे। 13 याकूबले स्वर्गदूतहरूलाई यस सिंढ़ी चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु। 14 तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।
15 “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोड्ने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”
16 तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”
17 याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”
18 अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्यस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए। 19 पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।
20 तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने। 21 यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ। 22 त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउँनेछु।”
येशूलाई बडा हाकिम पिलातसकहाँ लगियो
(मर्कूस 15:1; लूका 23:1-2; यूहन्ना 18:28-32)
27 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। 2 तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
यहूदाको आत्महत्या
(प्रेरित 1:18-19)
3 यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। 4 यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”
यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”
5 यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।
6 मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” 7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। 8 यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। 9 यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो।
“तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। 10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”[a]
बडाहाकिम पिलातसद्वारा येशूलाई प्रश्नहरू
(मर्कूस 15:2-5; लूका 23:3-5; यूहन्ना 18:33-38)
11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
12 जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”
14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
येशूलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल
(मर्कूस 15:6-15; लूका 23:13-25; यूहन्ना 18:39–19:16)
15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। 16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।
17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” 18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?”
मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!”
22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?”
सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!”
23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”
24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली
(मर्कूस 15:16-20; यूहन्ना 19:2-3)
27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
येशूलाई क्रुसमा झुण्ड्याइयो
(मर्कूस 15:21-32; लूका 23:26-39; यूहन्ना 19:17-19)
32 सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो। 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। 34 जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। 36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। 37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।
38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए। 39 आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे। 40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। 42 तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं। 43 उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” 44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
येशूको मृत्य
(मर्कूस 15:33-41; लूका 23:44-49; यूहन्ना 19:28-30)
45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”(A)
47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
48 एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
51 जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। 52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। 53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए। 56 मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
येशूलाई गाडियो
(मर्कूस 15:42-47; लूका 23:50-56; यूहन्ना 19:38-42)
57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। 58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। 59 त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे। 60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। 61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
येशूको चिहानमा पहरा
62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे। 63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। 64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।” 66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
मोर्दकैले एस्तरलाई सहायता गर्न राजी भए
4 मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए। 2 तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो। 3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।
4 दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्। 5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्। 6 अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो। 7 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने। 8 शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइदिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।
9 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।
10 तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई यसो भन्नु भनी निर्देश गरिन्, 11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”
12-13 जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए, “तिमी स्वयंले यो राजाको दरवारमा बस्छु भनेर नसोच, सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ भनेर नसोच। 14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर[a] नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”
15-16 तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”
17 यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।
पावल समुद्रयात्राद्वारा रोम
27 यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए। 2 हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौं जुन जानु तयार थियो। हामीसँग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।
3 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्। 4 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो। 5 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ। 6 माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।
7 हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ। 8 खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो।
9 तर हामीले निकै समय नष्ट गरेका थियौं। यो समुद्र यात्रा गर्नु भयङकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने, 10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”
11 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने। 12 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।
आँधी-तूफान
13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे। 14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो। 15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।
16 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं। 17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस् भनेर पाल मुनी झारे।
18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। 19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए। 20 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
21 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन। 22 तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ। 23 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। 24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’ 25 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। 26 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”
27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। 28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। 29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। 30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। 31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!” 32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए।
33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पर्खिरहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ। 34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।” 35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले। 36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। 37 हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं। 38 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।
जहाज नष्ट भयो
39 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे। 40 यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो। 41 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।
42 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्। 43 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए। 44 अन्य मानिसहरूले तख्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।
© 2004, 2010 Bible League International