M’Cheyne Bible Reading Plan
पैतृकधनखी समस्या
27 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”
एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
2 इसहाकले भने, “हेर, म बूढो भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु। 3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर। 4 मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।” 5 यसर्थ एसाव शिकार खेल्न गए।
जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ। 6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें। 7 तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’ 8 यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर। 9 आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्। 10 त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”
11 तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन। 12 यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसँग हिंड्ने प्रयत्न गरे।”
13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्। 15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्। 16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई। 17 तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।
18 याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”
अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”
19 याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”
20 तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”
याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”
21 तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”
22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” 23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।
24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”
याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
याकूबको निम्ति आशीर्वाद
25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।
26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई चुम्बन गर्”। 27 तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,
“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको
खेतको सुगन्ध झैं होस्।
28 परमप्रभुले तँलाईं धेरै बर्षा दिऊन्
जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
29 सबै मानिसहरूले तेरो सेवा गरून्।
राष्ट्र तेरो अघि झुकोस्।
तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्।
तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्।
“प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ,
अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
एसावलाई “आशीर्वाद”
30 इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए। 31 एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।
32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”
उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”
33 तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”
34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”
35 इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
36 एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”
37 इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”
38 तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।
39 तब इसहाकले उनलाई भने,
“तँ मलिलो भूमिमा बस्न पाउने छैनस्।
तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।
40 तैंले बाँच्नको निम्ति सङ्घर्ष गर्नु पर्छ।
अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्।
तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्।
तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”
याकूबले देश छोड्छन्
41 यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्यन्त्र रचिरहेको छ। 43 यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक। 44 त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाड्दैन त्यतिन्जेल तँ त्यहीं बस। 45 केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”
46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”
यहूदी नेताहरूद्वारा येशूलाई मार्ने षड्यन्त्र
(मर्कूस 14:1-2; लूका 22:1-2; यूहन्ना 11:45-53)
26 येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, 2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”
3 तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। 4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। 5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।”
एउटी स्त्रीले केही विशेष काम गर्छिन्
(मर्कूस 14:3-9; यूहन्ना 12:1-8)
6 येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। 7 जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्।
8 चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? 9 यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
10 येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। 11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। 12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। 13 म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।”
यहूदा येशूको शत्रु हुन्छ
(मर्कूस 14:10-11; लूका 22:3-6)
14 त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। 15 यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। 16 त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो।
येशूले निस्तार-चाडको भोज खानु भयो
(मर्कूस 14:12-21; लूका 22:7-14,21-23; यूहन्ना 13:21-30)
17 अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”
18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” 19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
20 जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। 21 तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”
22 चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?”
23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। 24 मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”
25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?”
येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”
प्रभु भोज
(मर्कूस 14:22-26; लूका 22:15-20; 1 कोरिन्थी 11:23-25)
26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”
27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। 28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। 29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”
30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए।
चेलाहरूले आफूलाई छाड्ने छन् भनि येशू भन्नु हुन्छ
(मर्कूस 14:27-31; लूका 22:31-34; यूहन्ना 13:36-38)
31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ;
‘म गोठलोलाई प्रहार गर्नेछु,
अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’(A)
32 तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।”
33 पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”
34 येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”
35 तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।
एकान्तमा येशूको प्रार्थना
(मर्कूस 14:32-42; लूका 22:39-46)
36 त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” 37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। 38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” 40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? 41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”
42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”
43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। 44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
45 तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। 46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
येशू पक्राउ पर्नु भयो
(मर्कूस 14:43-50; लूका 22:47-53; यूहन्ना 18:3-12)
47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। 48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” 49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।
50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।”
त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। 51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।
52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। 53 तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? 54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”
55 तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। 56 तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।
येशू यहूदी अगुवाहरूको अघि
(मर्कूस 14:53-65; लूका 22:54-55,63-71; यूहन्ना 18:13-14,19-24)
57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। 58 पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे।
59 प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। 60 धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, 61 “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”
62 अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” 63 येशूले केही भन्नु भएन।
तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
64 येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
65 प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। 66 तिमीहरूको के राय छ?”
यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।”
67 त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। 68 तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”
येशूलाई चिन्दछु भन्न पत्रुस डराए
(मर्कूस 14:66-72; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)
69 त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।”
70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”
71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”
72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”
73 केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”
74 तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। 75 तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
यहूदीहरूलाई नाश गर्ने हामानको योजना
3 यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए। 2 अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्। 3 अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?”
4 जब तिनीहरूले दिनै पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दकैलाई तिनी एक यहूदी हो भनेर तिनीहरूलाई भनेका थिए। 5 अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए। 6 जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।
7 राजा अहासूरसको शासनकालको बाह्रौ बर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पुर” अर्थात चिट्ठा गरे। यहूदीहरूको विनाशको निम्ति निश्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौ महीना, अदारको महिना थियो। 8 अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।
9 “यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।”
10 यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए। 11 अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसँग राख।”
12 यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्येक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावालीमा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।
13 अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज्य प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।
14 आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्। 15 समाचार वाहकहरू राजाको आदेश लिएर हत्तारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।
पावल राजा अग्रिपा समक्ष
26 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। 2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। 3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
4 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। 5 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। 6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। 7 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। 8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?
9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। 10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। 11 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।
पावलले येशूलाई देखेको कुरा भन्दछ
12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए। 13 हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसँग जाने मानिसहरूका वरिपरि चम्कियो। 14 हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसँग लडेर केवल आफैंलाई चोट पुर्याइरहेका छौ।’
15 “मैले भने, ‘तिमी को हौ प्रभु?’
“प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ। 16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ। 17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु। 18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’”
पावलले आफ्नो कार्यको विषयमा भन्छन्
19 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन। 20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदियाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
21 “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे। 22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु। 23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”
पावलले अग्रिपालाई मनाउन खोज्यो
24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”
25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। 26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। 27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”
28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”
29 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”
30 राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। 31 सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।” 32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
© 2004, 2010 Bible League International