M’Cheyne Bible Reading Plan
इसहाककी पत्नी
24 अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो। 2 अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख। 3 अब म चाहन्छु तैंले मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्। 4 तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”
5 त्यस नोकरले अब्राहामलाई भने, “हुन सक्छ कन्याले मसँग यहाँ आउने इच्छा गरिनन् भने के म तपाईंको छोरोलाई मेरो देशमा लैजाउँ?”
6 अब्राहामले उसलाई भने, “होइन, तैंले मेरो छोरोलाई त्यस देशमा नलैजा। 7 परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैंले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउन् ताकि मेरो छोरोले बेहुली रोज्न सक्छ अनि यहाँ ल्याउँछ। 8 तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरालाई न लैजाऊ।”
9 यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।
खोज शुरू हुन्छ
10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो। 11 त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।
12 त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्। 13 म यहाँ पानीको कूवाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्। 14 म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”
एउटी दुलही पाइयो
15 तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन। 16 तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्। 17 तब त्यो नोकर त्यस केटी भएकोमा दगुरेर पुग्यो अनि भने, “दया गरी तिम्रो गाग्रीबाट मलाई पानी पिउन देऊ।”
18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ। 19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।” 20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।
21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो। 22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो। 23 त्यस नोकरले उसलाई सोध्यो, “तिम्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?”
24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।” 25 उनले फेरि भनिन्, “हजुर हामीसँग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”
26 त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो। 27 त्यसले भने, “परमप्रभु मेरा मालिकका परमेश्वर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”
28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई। 29 रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई। 30 लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो। 31 लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिनुहोस्, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”
32 यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसँग थिए आफ्नो गोडा धुन सकुन्। 33 लाबानले त्यस नोकरलाई खानु पनि दियो तर उनले खानु मानेन र भने, “म यहाँ किन आएको हुँ, जबसम्म म त्यो बताउँदिन, म खाने छैन।”
यसकारण लाबानले भने, “तब हामीलाई भन्नुहोस्, किन आउनु भएको हो?”
रिबेकाको विषयमा कुराकानी
34 त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ। 35 परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै-धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्। 36 सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन् अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसँग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्। 37 मेरा मालिकले मलाई एउटा शपथ गर्न कर लाउनु भयो। मेरो मालिकले मलाई भन्नुभयो, ‘तिमीले मेरो छोरोलाई कनानी केटी विवाह गर्न नदिनु। हामी यद्धपि तिनीहरूकै माझमा बस्छौं तर म छोरोले कनानी केटी विवाह नगरोस् भन्ने चाहन्छु। 38 यसर्थ तिमी मेरो आफ्नो पिताको भूमिमा जानेछौ र हाम्रो सन्तान भित्रबाट उसको निम्ति एउटी कन्या केटी रोजेर ल्याउने छौ।’ 39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’ 40 तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाईं सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तैंले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्। 41 तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’
42 “आज मैले यो कूवामा आएर परमप्रभुसित बिन्ती गरें ‘हे परमप्रभु, मेरा मालिकका परमेशवर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्। 43 यहाँ यस कूवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पर्खिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गाग्रोबाट पानी पिउन दिनु होस्।” 44 योग्य केटीले विशेष प्रकारले उत्तर दिन्छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’
45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें। 46 उनले झट्टै आफ्नो काँधबाट गाग्रो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’ 47 त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ। 48 मैले मेरो शिर झुकयाएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेशवरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ। 49 अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? मलाई भन्नु होस् त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”
50 त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं। 51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”
52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो। 53 त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो। 54 त्यसपछि त्यो नोकर र ऊसँगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”
55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”
56 तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।”
57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।” 58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?”
रिबेकाले भनिन्, “अँ, म जान्छु।”
59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्। 60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,
“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन,
र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”
61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे।
62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो। 63 एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।
64 रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्। 65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?”
त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।
66 जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो। 67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।
येशूद्वारा धार्मिक गुरूहरूको आलोचना
(मर्कूस 12:38-40; लूका 11:37-52; 20:45-47)
23 तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, 2 “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। 3 यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। 4 मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।
5 “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। 6 ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। 7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।
8 “तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। 9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। 10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। 11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।
13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [a]
15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?
18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।
23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।
25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।
27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।
29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। 30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ 31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। 32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।
33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। 34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।
35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। 36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।
येशूद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी
(लूका 13:34-35)
37 “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। 39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”(A)
नहेम्याहको अन्तिम आज्ञा
13 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन। 2 किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बालामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो। 3 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।
4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो। अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।
6 यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं बर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें। 7 अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ। 8 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आँगनमा फ्याँकिदिएँ। 9 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।
10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए। 11 मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ। 12 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।
13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।
14 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।
15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने काम गरिरहेको देखें। अनि अन्नका राश ल्याएका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखें। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।
16 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए। 17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ? 18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद् ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”
19 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।
20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए। 21 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।
22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।
हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।
23 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें। 24 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए। 25 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाएँ, “तिनीहरूलाई आदेश दिएँ तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्। 26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो तर विदेशी स्त्रीहरूले उहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए। 27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँच्चो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”
28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।
29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्। 30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ। 31 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।
हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।
23 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।” 2 हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। 3 पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”
4 पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”
5 पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’(A)”
6 सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!”
7 जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सदुकीहरू माझ गहन तर्क शुरु हुन थाल्यो। सभा दुइ दलमा विभाजन भयो। 8 सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्। 9 ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौं। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्यो होला!”
10 तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।
11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो अनि भन्नुभयो, “साहसी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”
केही यहूदीहरूको पावललाई मार्ने योजना
12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे। 13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए। 14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैंले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारून्जल सम्म न केही पिउँछौं न केही खानेछौं। 15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी भई बाटोमा बस्नेछौं।”
16 तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए। 17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।” 18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”
19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”
20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्। 21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पर्खिरहेका छन्।”
22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”
पावललाई सिजरिया पठाईयो
23 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ। 24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।” 25 सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे:
26 क्लौडियस लायसिअसबाट,
महामहिम राज्यपाल फेलिक्सलाई,
नमस्कार:
27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ। 28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ। 29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन। 30 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।
31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे। 32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए। 33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।
34 राज्यपालले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने। 35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।
© 2004, 2010 Bible League International