Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 20

अब्राहाम गरार तिर जान्छन्

20 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ। जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए। तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”

तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ? अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”

यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए। त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो। 10 तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”

11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचें यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ। 12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। 13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’”

14 तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेंडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए। 15 अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यहीं बस्न सक्छौ।”

16 सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”

17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो। 18 किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

मत्ती 19

येशूद्वारा सम्बन्ध विच्छेद बारे शिक्षा

(मर्कूस 10:1-12)

19 यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो।

केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।

येशूले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’(A) अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’(B) यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”

फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?”

येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन। म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।”

10 चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”

11 येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ 12 कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।”

येशूद्वारा बालकहरूको स्वागत

(मर्कूस 10:13-16; लूका 18:15-17)

13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। 14 तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो” 15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।

धनी मानिसबाट येशूलाई ग्रहन गर्न अस्वीकार

(मर्कूस 10:17-31; लूका 18:18-30)

16 एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?”

17 येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”

18 त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?”

येशूले जवाफ दिनुभयो, “‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन, 19 आफ्ना आमा-बाबुको आदर गर।’(C) अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’(D)

20 त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”

21 येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”

22 तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।

23 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। 24 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”

25 जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?”

26 येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”

27 पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।”

28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। 29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। 30 अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।

नहेम्याह 9

इस्राएली मानसिहरूले आफ्ना पाप स्वीकार गरे

अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भाङ्ग्रा लगाए अनि तिनीहरूले आफैं माथि धूलो हाले। इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे। तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे।

तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वरसँग कराए। तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:

“उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।
किनभने उहाँ शुरू देखि अन्त सम्म जीवित हुनुहुन्छ।
तपाईंको महिमित नाउँको स्तुति होस।
    यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
तपाईं परमेश्वर हुनुहुन्छ,
    हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग
अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।
    तपाईंले पृथ्वी
अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू
    अनि त्यसमा भएका
हरेक बस्तुहरू बनाउनु भयो।
    तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,
अनि स्वर्गका तारा-मण्डलले
    तपाईंको आराधना गर्छन्।
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ
    जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो,
    अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए
    यसर्थ तपाईंले ऊसित
कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि
    उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो।
तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो
    किनभने तपाईं धर्मी हुनुहुन्छ।
तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो,
    अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।
10 तपाईंले चिन्हहरू र आश्चर्यमय कुराहरू
    फिरऊन मिश्रदेशका राजा
अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो,
    किनभने तिनीहरूले हाम्रा पुर्खाहरूलाई,
अत्याचार गरेको तपाईंलाई थाहा थियो।
    तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,
    अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए।
तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै
    तपाईंले फ्याँकिदिनु भयो।
12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो
    अनि राती आगोको ज्वाला सहित
तिनीहरू हिँड्नु पर्ने बाटो
    उज्यालो पारी डोर्याउनु भयो।
13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो
    अनि तिनीहरूलाई उचित न्याय
र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो
    अनि तपाईंले तिनीहरूलाई
असल आदेश र आज्ञाहरू दिनुभयो।
14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
15 तपाईंले तिनीहरू भोककाएको बेला
    तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो,
अनि तिनीहरू तिर्खाएको बेला
    चट्टानबाट पानी दिनुभयो
तपाईंले तिनीहरूलाई
    जाऊ अनि गएर तिनीहरूलाई
दिन्छु भनी वचन दिएको भूमि
    अधिकारमा लेऊ भन्नुभयो।
16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए
    अनि तपाईंका आदेश पालन गरेनन्।
17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे,
    अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्।
तिनीहरू घमण्डी भए
    अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे।

“तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ,
    दयालु अनि कृपालु
    र धीरजी प्रेमपूर्ण हुनुहुन्छ।
यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए।
अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो,
    जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए,
    जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
19 तर तपाइको महान
    करूणाको कारणले गर्दा,
तपाईंले तिनीहरूलाई
    मरुभूमिमा छोडनु भएन,
बादलको खामोले तिनीहरूलाई
दिनको यात्रामा अगुवाई गर्न रोक्नु भएन
    अनि आगोको ज्वालाले
राती तिनीहरू हिंडनु पर्ने बाटो
    उज्यालो तुल्याउन छोडनु भएन।
20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।
    तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन,
    अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
21 तपाईंले चालीस बर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,
    त्यहाँ तिनीहरूलाई केही अभाव थिएन।
तिनीहरूका वस्त्रहरू मक्किएनन्
    र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
    तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
तिनीहरूले हेशबोनका राजा सीहोनको देश
    अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
    आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
    जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
    प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
24 केटा-केटीहरू प्रवेश गरे
र त्यो भूमि अधिकारमा लिए।
    अनि तपाईंले तिनीहरू समक्ष
त्यस भूमिका कनानीहरूलाई
    परास्त गर्नुभयो।
25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
    तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी।
तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
    तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए।
    यसरी तिनीहरूले पेट भरून्जेल खाए र मोटाभए
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे
    अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके,
    तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे
जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति
    तिनीहरूलाई चेतावनी दिएका थिए।
    तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
27 यसर्थ तिनीहरूलाई तपाईंले
    उनीहरूको शत्रुहरूलाई सुम्पि दिनुभयो।
अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए,
    तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे
अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो।
    तपाईंको महान कृपाको कारण
    तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।
28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए।
    तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ
फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो।
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो।
    जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे।
तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो
    अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई
फर्काउनका निम्ति
    तपाईंले चेतावनी दिनुभयो।
    तर तिनीहरू अट्टेरी भए
र तपाईंका आदेशको पालन गरेनन्।
    तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे।
जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति
जीवन ल्याउँदछ।
    तिनीहरू ढीठ, अनिच्छुक
    अनि अनाज्ञाकारी बने।

30 “तपाईं धेरै बर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,
    अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरूद्वारा
तपाईंको आत्माले चेतावनी दिनुभयो।
    तर तिनीहरूले सुनेनन्
यसर्थ तपाईंले तिनीहरूलाई
    विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

31 “तर, तपाईंको महा-कृपाले गर्दा
    तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन,
अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन,
    किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
32 अब, हे परमेश्वर, महान परमेश्वर,
    शक्तिशाली अनि भय योग्य परमेश्वर,
जसले उहाँका करार प्रेममय विश्वाससँग पालन गर्नुहुन्छ,
    हाम्रो कष्टहरूलाई साधारण नसम्झनु
त्यो कठिनाई हामीमाथि आएको थियो,
    हाम्रा राजाहरूले,
हाम्रा पूजाहारीहरूले,
    हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले
    तपाईंका सम्पूर्ण मानिसहरूले
अश्शूरका राजाहरूको समय देखि लिएर
    आज सम्म सहे।
33 हामी माथि घटेका
    समस्त घटना प्रति
तपाईं न्याय हुनु भएकोछ
    यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू
    अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्।
    अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।
35 तिनीहरू आफ्नै देशमा हुँदा पनि,
    तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि,
    तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि
तपाईंको सेवा गरेनन्,
    अनि आफ्ना कु-कर्मबाट फर्केनन्।
36 हेर्नुहोस, हामी आज दास छौं हो,
हामी त्यस भूमिमा दासछौं
    जो तपाईंले हाम्रा पुर्खाहरूलाई
    त्यसका फलहरू अनि असल कुराहरू
    खान भनी प्रदान गर्नु भएको थियो।
37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ
    जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो।
तिनीहरूले हाम्रो शरीरहरू
    अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे,
    अनि हामीहरू ठूलो कष्टमा पारिरहेका छौं।
38 यी सबै हुँदा हुँदै पनि
    हामी लिखित रूपमा बाचा बाँध्छौं।”

प्रेरित 19

पावल एफिससमा

19 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे। पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”

तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?”

तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।”

जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले। तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।

पावल सभाघरमा गए अनि साहससँग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसँग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे। तर कतिपय यहूदीहरू कठोर थिए। तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे। 10 पावलले यस्तो काम दुइ वर्ष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रत्येक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

स्केवाका छोराहरू

11 परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो। 12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

13-14 कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”

15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

16 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। 18 धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे। 19 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो। 20 यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

पावलको यात्रा गर्ने योजना

21 तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।” 22 तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

एफिससमा अशान्त

23 तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो। 24 त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

25 डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ। 26 तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँच्चो देवताहरू होइनन्। 27 पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”

28 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्!” 29 शहरका सबै मानिसहरू अस्तब्यस्त भए। तिनीहरूले गायस र अरिस्तार्खसलाई समाते। (यी दुइमानिसहरू म्यसोडोनियावासी थिए र पावलसँग यात्रा गरिरहेका थिए।) सबै मानिसहरू रंङ्ग-भवनतिर दगुरे। 30 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिड़लाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्। 31 त्यस देशका कतिपय नेताहरू पावलका मित्रहरू थिए। तिनीहरूले पावलाई तमासा-घरभित्र नजानु भन्ने खबर पठाए।

32 कतिपय मानिसहरू एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरू त्यहाँ आफू किन आएका थिए बुझेकै थिएनन्। 33 यहूदीहरूले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने। अलेकज्याण्डरले आफ्नो हात ती भिड़हरू भएतिर हल्लाए किनभने उसले तिनीहरूलाई ब्याख्या गरेर बुझाउन चाहन्थे। 34 तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरू सबैबाट दुइ घण्टा सम्म एउटै स्वर आयो, “एफिससवासीहरूकी आर्तेमिस महान हुन्।” यो आवाज दुइ घण्टा सम्म चलिरह्यो।

35 त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन? 36 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

37 “तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्। 38 हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून्।

39 “अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ। 40 किनभने आज यहाँ घटेको घट्नाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।” 41 शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International