Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 5

आदमको पारिवारिक इतिहास

आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको[a] सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो।

जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। आदम 930 बर्षसम्म बाँचे र मरे।

जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। यसर्थ सेत जम्मा 912 बर्षसम्म बाँचे र मरे।

एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। 10 केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे 11 यसर्थ एनोश जम्मा 905 बर्ष बाँचे र मरे।

12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। 13 महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए 14 यसर्थ केनान 910 बर्ष सम्म बाँचे र मरे।

15 जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। 16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। 17 यसर्थ महलेल जम्मा 895 बर्ष सम्म बाँचे र मरे।

18 जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। 19 हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। 20 यसर्थ येरेद जम्मा 962 बर्षसम्म बाँचे।

21 जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। 22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23 यसर्थ हनोक 365 बर्ष सम्म बाँचे। 24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।

28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30 नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। 31 लेमेक जम्मा 777 बर्षसम्मा बाँचे।

32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।

मत्ती 5

येशूद्वारा मानिसहरूलाई शिक्षा

(लूका 6:20-23)

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
    किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
अहिले शोक गर्नेहरू धन्यकाहुन्,
    किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
धन्य नम्र हुनेहरू,
    किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
धन्य अरू प्रति दया देखाउनेहरू,
    किनभने तिनीहरूले दया पाउनेछन्।
धन्य हृदयमा शुद्ध हुनेहरू,
    किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
धन्य मेल-मिलाप गराउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
    किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ

(मर्कूस 9:50; 4:21; लूका 14:34-35; 8:16)

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। 15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। 16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

येशू अनि पुरानो नियमको लेखाई

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। 20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

येशूद्वारा रीस बारे शिक्षा

21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।(A) जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।

25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

येशूद्वारा व्यभिचार बारे शिक्षा

27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’(B) 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा

(मत्ती 19:9; मर्कूस 10:11-12; लूका 16:18)

31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’(C) 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

येशूद्वारा शपथ बारे शिक्षा

33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। 37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।

येशूद्वारा बद्ला लिने बारे शिक्षा

(लूका 6:29-30)

38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’(D) 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। 40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। 42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।

सबैलाई प्रेम गर

(लूका 6:27-28,32-36)

43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर(E) र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

एज्रा 5

अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे। तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे। त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?” त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के-के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”

तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउँनु भयो।

यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो। तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोः

राजा दारा प्रति,

सम्पूर्ण अभिवादन!

यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्डद्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो पर्खालको काम पुरा गर्न कसले अनुमति दियो?” 10 हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौ जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौं कि हामी ती मानिसहरूका अगुवाहरू को-को थिए नाउँ लेख्न सकौं।

11 तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः

“हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै बर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए। 12 किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेस्सर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे। 13 तर बाबेलका राजा कोरेस को प्रथम बर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए। 14 परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्तन, थालहरू जो नबकदनेस्सरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए,” जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।

15 अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”

16 त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।

17 अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।

प्रेरित 5

हननिया र सफीरा

हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे। तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर ऊ पनि सहमत थिई।

पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ? जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”

5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने।

प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोग्ने प्रति त्यस्तो घट्ना घट्न गएको थाहा थिएन। पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”

सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खरै तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।” 10 त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए। 11 जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घट्नाहरू सुनेपछि सबै भयग्रस्त भए।

प्रभुका प्रमाणहरू

12 प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो। 13 कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे। 14 अनि धेरै मानिसहरू, पुरुषहरू र स्त्रीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए। 15 यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ। 16 मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।

यहूदीहरूले प्रेरितहरूलाई रोक्ने प्रयास

17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए। 18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने। 19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने, 20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।” 21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।

प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए। 22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन्। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए। 23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।” 24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”

25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”

26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासँग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।

27 सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे। 28 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”

29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ। 30 तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो। 31 येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्। 32 हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

33 यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे। 34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने। 35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्। 36 याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो। 37 त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए। 38 यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ। 39 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाईं भएर समाप्त होला।”

गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए। 40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए। 41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए। 42 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “ख्रीष्ट” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International