M’Cheyne Bible Reading Plan
पापको शुरु
3 परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”
2 त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” 3 तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।”
4 तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। 5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”
6 तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।
7 तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।
8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। 9 परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”
10 तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”
11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”
12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”
13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”
तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”
14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो,
“तैंले यस्तो काम गरेको हुनाले,
तँलाई अन्य पशुहरू गाई-वस्तु
र अरू सबै जङ्गली पशुहरूलाईभन्दा
अझै ज्यादा श्राप दिनेछु।
तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु
र माटो खाएर बस्नु परोस्।
15 म तँ र त्यस स्त्रीमाझ
शत्रुता सृष्टि गर्नेछु।
तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि
शत्रुता सृष्टि गर्नेछु
जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”
16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,
“जब तिमी गर्भधारण गर्नेछौ
त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु,
र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले
साह्रै नै प्रसव वेदना सहनु पर्नेछ।
तिमी आफ्नो पतिको चाहना गर्नेछौ।
तर उनले तिमीलाई शासन गर्नेछ।”[a]
17 त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,
“जब तिमीले तिम्री पत्नीको कुरा मानेर
मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ,
र म तिम्रो कारणले भूमिलाई सराप्ने छु,
जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ,
त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
18 त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ,
अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।
19 तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले
छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ,
मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।
त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ।
मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ
र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
20 त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्।
21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।
22 परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।”
23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। 24 उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
बप्तिस्मा दिने यूहन्नाको कार्य
(मर्कूस 1:1-8; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)
3 त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। 2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” 3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए,
“मरुभूमिमा एकजना कराइरहेछन्:
‘परमप्रभुको बाटो तयार पार।
उहाँका मार्गहरू सोझोबनाऊ।’”(A)
4 यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो। 5 यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए। 6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
7 धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? 8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। 9 अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। 10 अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ।
11 “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 12 उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
यूहन्नाद्वारा येशूको बप्तिस्मा
(मर्कूस 1:9-11; लूका 3:21-22)
13 त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। 14 तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।”
15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।
16 त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो। 17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
वेदीको पुर्नस्थापना
3 जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए। 2 योसादाकको छोरा येशूअ अनि तिनका सँगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुनःर्निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।
3 तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा विहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरू अर्पण गरे। 4 तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे। 5 अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे। 6 सातौं महिनाको पहिलोदिन परमप्रभुलाई होमबलि चढाउन शुरू गरे।
मन्दिरको पुनःर्निर्माण
7 यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
8 दोस्रो बर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे। 9 परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 बर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसँग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए। 10 जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे। 11 आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे:
“किनभने, उहाँ भलो हुनुहुन्छ।
किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।”
अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो।
12 अनि धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अघिको मन्दिर देखेका थिए, ती रोए। 13 जब तिनीहरूले यो मन्दिरको जग बसालिएको देखे। यद्यपि धेरै खुशीले जोडसँग कराए। यसर्थ कसैले पनि खुशीको कराई अनि रूवाइको आवाज छुट्याउन सकेनन्। किनभने मानिसहरूले यति साह्रो हल्ला मच्चाइरहेका थिए कि त्यो आवाज टाढा-टाढा सम्म सुनिन्थ्यो।
पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।
3 एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। 2 जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। 3 त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो।
4 पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” 5 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। 6 तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”
7 त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। 8 त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो। 9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।
पत्रुस मानिसहरू सँग बोल्दछ
11 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।
12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। 13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। 14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ। 15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।
16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।
17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्। 18 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो। 19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। 20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।
21 “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्नै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो। 22 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ। 23 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’(A)
24 “शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने। 25 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’(B) 26 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”
© 2004, 2010 Bible League International