Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 2

सातौं दिन—विश्राम

यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

मानव जातिको शुरु

आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।

पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो। परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो। परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरू अनि खान योग्य फलहरू लाग्ने रुखहरू उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।

10 बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो। 11 ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। 12 यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। 13 दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। 14 तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।

15 तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। 16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। 17 तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”

पहिलो स्त्री

18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”

19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। 20 अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन। 21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। 22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। 23 तब त्यस मानिसले भने,

“आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
    उसको हड्डी मेरो हड्डी बाट आयो,
    अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
    म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”

24 यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।

25 त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।

मत्ती 2

ज्योतिषिहरू येशूलाई भेट्न आउँछन्

यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए। ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौ जसले उहाँ जन्मेको सकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौ।”

जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ:

‘ए बेतलेहेम, यहूदाको मुलुक,
    तँ यहूदाका शासकहरूका माझ महान छस्।
हो, तँबाट एकजना शासक आउनेछन्,
    जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’”(A)

त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।”

राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। 10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।

11 तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए। 12 तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

मातापितासँग येशू मिश्रदेशमा

13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।”

14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। 15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”(B)

बेतलेहेममा हेरोदद्वारा स-साना बालकहरूको हत्या

16 ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। 17 तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो:

18 “रामामा एउटा स्वर सुनियो,
    रूवाबासी र आलाप-विलापको।
राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन,
    शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”(C)

यूसुफ र मरियम मिश्रदेशबाट फर्कन्छन्

19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। 20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”

21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए। 22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए। 23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी[a] भनिनेछ।”

एज्रा 2

फर्कि आएका कैदिहरूको सूची

त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। यी मानिसहरू ती हुन्: यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम अनि बानाह। साथ थिए। इस्राएलीहरू जो एक साथ फर्कि आएका थिए ती पुरूषहरूको नामको सूची यही होः

परोशका सन्तानहरू2,172
शपत्याहका सन्तानहरू372
आरहका सन्तानहरू775
पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट2,812
एलामका सन्तानहरू1,254
जत्तू का सन्तानहरू945
जक्कैका सन्तानहरू760
10 बानीका सन्तानहरू642
11 बेबैका सन्तानहरू623
12 अज्गादका सन्तानहरू1,222
13 अदोनीकामका सन्तानहरू666
14 बिग्गैका सन्तानहरू2,056
15 आदीनका सन्तानहरू454
16 आतेरका सन्तानहरू हिजकियाका परिवारबाट98
17 बेजैका सन्तानहरू323
18 योराका सन्तानहरू112
19 हाशूमका सन्तानहरू223
20 गिब्बारका सन्तानहरू95
21 बेतलेहेमका सन्तानहरू123
22 नतोपाहका मानिसहरू56
23 अनातोतका मानिसहरू128
24 बेत-अज्माबेतका मानिसहरू42
25 किर्यात-आरीम, कपीरा अनि बेरोतका मानिसहरू743
26 रामा अनि गिबा शहरका मानिसहरू621
27 मिक्मासका मानिसहरू122
28 बेतेल अनि ऐका मानिसहरू223
29 नेबोका मानिसहरू52
30 मग्बीशका मानिसहरू156
31 अर्कोशहर एलाम का मानिसहरू1,254
32 हारीम शहरका मानिसहरू320
33 लोब, हादीद अनि ओनो का मानिसहरू725
34 यरीहो का मानिसहरू345
35 सेनाह शहरका मानिसहरू3,630

36 यी पूजाहारीहरूः

यदायाहका सन्तानहरू योशूअका घरबाट973
37 इम्मेरका सन्तानहरू1,052
38 पहशूरका सन्तानहरू1,247
39 हारीमका सन्तानहरू1,017

40 लेवीहरूः

येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू74

41 गायकहरूः

आसापका सन्तानहरू128

42 मन्दिरका द्वारपालहरूका सन्तानः

शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू।139

43 यिनीहरू मन्दिरका सेवकहरूः

सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

44 केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।

45 लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।

46 हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।

47 गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।

48 रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।

49 उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।

50 अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।

51 बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।

52 बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।

53 बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।

54 नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।

55 सुलेमानका सेवकहरूका सन्तानहरूः

सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।

56 यालाका सन्तान, दर्कोनका सन्तान र गिददेलाका सन्तानहरू।

57 शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू

58 समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

59 निम्न लिखित मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।

60 दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू652

61 अनि पूजाहारीहरूका परिवारः

हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि बर्जिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी बर्जिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँद्वारा सम्बोधन गरिथ्यो।)

62 यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 63 राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महा-पवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।

64-65 जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 66-67 तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।

68 सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 69 तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलो ग्राम सुन, 3,000 किलो ग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।

70 पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

प्रेरित 2

पवित्र आत्माको आगमन

जब पेन्तिकोसको[a] दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।

त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।

यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, 10 फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम 11 क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”

12 मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?” 13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

पत्रुसको मानिसहरूलाई सम्बोधन

14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। 15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। 16 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्:

17 ‘परमेश्वर भन्नुहुन्छः
    अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।
तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्।
    तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्।
    तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
18 त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि,
    मेरो आत्मा खन्याउनेछु,
    अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु,
    तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु।
    त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
20 घाम अन्धकारमय भई बद्लिने छ,
    अनि जुन रगत सरह रक्तिम हुनेछ।
    तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’(A)

22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। 23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। 24 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। 25 दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः

‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें,
    मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।
26 यसैले मेरो हृदय आनन्दित छ,
    र मेरो मुख आनन्दसित बोल्दछ।
हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ,
27     किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन।
    तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।
28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ,
    तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’(B)

29 “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। 30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। 31 यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः

‘उहाँलाई नरकमा छाडिएको थिएन।
    उहाँको शरीर चिहानमा सडेन।’

32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। 33 यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। 34 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः

‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः
मेरो दाहिने तर्फ बस,
35     जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’(C)

36 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”

37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। 39 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।”

40 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” 41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

विश्वासीहरूको बांढाई

42 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए। 43 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे। 44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। 45 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे। 46 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। 47 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International