M’Cheyne Bible Reading Plan
अश्शूरका राजाले हिजकियाहलाई सताउँछन्
32 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे। 2 हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो। 3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे। 4 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।” 5 हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए। 6-7 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “बलियो र साहसी होऊ। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा चिन्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ। 8 अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
9 अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।
10 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ? 11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।” 12 हिजकियाह आफैंले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ। 13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्। 14 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ? 15 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।’”
16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। 17 अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।” 18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्। 19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरूद्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
20 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे। 21 तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवारद्वारा मारिदिए। 22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो। 23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।
24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो। 25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो। 26 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए। 28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेंडाहरू राख्ने खर्कहरू थिए। 29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो। 30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।
31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अद्भूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्। 33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।
बेबीलोन ध्वंशभयो
18 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। 2 त्यो स्वर्गदूत जोडले करायो,
“उसको संहार भयो!
बेबिलोन महानगर संहार भयो!
ऊ अशुद्ध आत्माको बासस्थान बनियो।
ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो।
ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो।
ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।
3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको
अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।
पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।
अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,
“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।
5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।
उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई,
त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ।
ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,
म विधवा होइन,
मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’
8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,
मृत्यु, शोक, अनि अनिकाल,
किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,
जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”
9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। 10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,
‘हे! शक्तिशाली नगर बेबिलोन!
दु:खै-दु:ख होस्! तिमीलाई
एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। 12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। 13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,
14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे,
तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।
तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’
15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। 16 तिनीहरूले भन्नेछन्:
‘कष्ट! कष्ट महानगरलाई,
ऊ मिहीन मलमल, बैजनी,
अनि रातो बस्त्रको पहिरनमा थिई।
ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!
17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’
“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। 18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ 19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,
‘कष्ट! महानगरको निम्ति कति कष्ट!
सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”
21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:
“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।
अनि फेरि कहिल्यै पाइनेछैन।
22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी
अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्।
तेरोमा फेरि कुनै व्यवसायको
कर्मी पाइने छैन।
तेरोमा कहिल्यै जाँतोको
आवाज सुनिने छैन।
23 तेरोमा बत्तीको ज्योति
फेरि कहिल्यै चम्कने छैन।
वेहुला-वेहुलीको स्वर
तेरोमा सुनिने छैन।
तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,
समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।
24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,
तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
न्यायको दिन
14 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ। 2 म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला पार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथा घरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्। 3 त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ। 4 त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ। 5 अनि तिमी पर्वतका भन्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।
6-7 त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रूपमा अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ। 8 यस समय यरूशलेमबाट लगातार पानी[a] बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बर्ष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ। 9 त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो। 10 त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरुभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ। 11 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।
12 तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ। 13-15 त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।
त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसँग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्। 16 यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बर्ष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक बर्ष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्। 17 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ। 18 यदि मिश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएनन् भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो। 19 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।
20 त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ। 21 निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ।
अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।
आफ्ना चेलाहरूका लागि येशू प्रार्थना गर्नुहुन्छ
17 यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्। 2 तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ। 3 यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँच्चो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो। 4 जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ। 5 अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।
6 “तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे। 7 अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्। 8 मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो। 9 तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्। 10 जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।
11 “अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक। 12 जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैं छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
13 “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु। 14 मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
15 “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु। 16 तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन। 17 तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो। 18 जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु। 19 अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँच्चो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।
20 “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। 21 हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। 22 तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। 23 जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
24 “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। 25 हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। 26 मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”
© 2004, 2010 Bible League International