Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 22-23

अहज्याह यहूदाका राजा

22 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले। अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो। अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्। अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो। अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुशरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए। योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।

परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो। येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए। त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुशरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।

रानी अतल्याह

10 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्। 11 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्। 12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्।

पूजाहारी यहोयादा अनि राजा योआश

23 छ बर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिंक्रीका छोरा एलीशापात थिए। तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए। एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।

यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो। अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्। अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ। कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ। लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”

लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए। पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए। 10 तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए। 11 तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”

12 अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्। 13 तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेका थिए। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”

14 पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।” 15 तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्‌कालै त्यही स्थानमा मारिदिए।

16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्। 17 सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।

18 तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे। 19 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

20 यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए। 21 यहूदाका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो।

प्रकाश 10

स्वर्गदूत अनि सानो पुस्तिका

10 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।

ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।”

तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।”

तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”

यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।” 10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। 11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”

जकरिया 6

चारवटा रथहरू

तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुइवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें। पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए। तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए। तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”

स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्। काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।”

बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।

तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”

पूजाहारी यहोशूले एउटा मुकुट पाउँछन्

तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 10 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। 11 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। 12 तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ:

‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ।
    त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ
    र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ
    अनि सम्मान गरिनेछ।
यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ।
    ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ
र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”

15 टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।

यूहन्ना 9

अन्धा जन्मेको मानिसलाई येशूले निको पार्नु भयो

जब येशू हिंडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”

येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन। जब म संसारमा छु, म संसारको ज्योति हूँ।”

यसो भनिसकेर, येशूले भूँईंमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो। येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।

कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैँ बसेर भिख माग्दथ्यो?”

कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अँहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।”

तब त्यस मानिसले भन्यो, “म त्यही मानिस हुँ जो पहिले अन्धो थिएँ।”

10 मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दृष्टि प्राप्त गर्यौ?”

11 त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब म सिलोआममा गएँ र पखालें। अनि तब मैले देख्न थालें।”

12 मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?”

त्यस मानिसले भन्यो, “मलाई थाहा छैन।”

येशूले निको पार्नु भएको त्यस मान्छेलाई यहूदीहरूले प्रश्न गरे

13 त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो। 14 येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो। 15 फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?”

त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्नु सकें।”

16 कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”

अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।

17 यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?”

त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”

18 यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घट्नामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए। 19 अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”

20 त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो। 21 तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।” 22 उनको आमा-बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्। 23 यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”

24 तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”

25 त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”

26 यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?”

27 त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”

28 यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं। 29 हामी जान्दछौं कि परमेश्वर मोशासँग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”

30 त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो। 31 हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ। 32 यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। 33 त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।”

34 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।

आत्मिक अन्धोपन

35 यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”

36 त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”

37 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।”

38 त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।

39 येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”

40 कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”

41 येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International